आज राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र बिक्री गर्ने
काठमाडौं । आजबाट नेपाल राष्ट्र बैंकले ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले २५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गरेको छ । पुस १४ गते राष्ट्र बैंकले २५ अर्ब रुपैयाँबराबरकै ऋणपत्र जारी गरेको थियो ।
‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ख’ जारी गर्ने भएको हो । यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउने राष्ट्र बैंकले जनाएको छ ।
एक वर्ष अवधिको उक्त ऋणपत्रमा आज मध्याह्न २ बजेसम्म अनलाइनबाट बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । सोही विधिबाट ब्याजदर निर्धारण हुने केन्द्रीय बैंकले जनाएको छ ।
यसको साँव भुक्तानी २०८३ पुस १६ गते हुने भने ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिने केन्द्रीय बैंकल जनाएको छ ।
यस ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्नुपर्ने बैंकले जनाएको छ ।
ऋणपत्र राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रुपमा प्रयोग गर्न सक्ने छन् ।














