निजी क्षेत्रको सम्पत्ति राष्ट्रको हो, यसलाई जोगाउन नागरिकसँगको सम्बन्ध सुधार्नुपर्छ : अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रले सिर्जना गरेको सम्पत्ति र नाफा लगानीकर्ताको मात्र नभई राष्ट्रको साझा सम्पत्ति भएको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ’शान्ति स्थायित्व र समृद्धिका लागि सहकार्य: सामूहिक पहल’ विषयक कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रमाथि हुने क्षति राष्ट्रकै क्षति भएको भन्दै यसलाई जोगाउन सरकार, राजनीतिक दल र नागरिकबीचको त्रिपक्षीय सम्बन्ध बलियो हुनुपर्नेमा जोड दिएका हुन्।
मनोबल र आर्थिक सूचकको अवस्था अर्थमन्त्री खनालले देशको आर्थिक अवस्था तथ्याङ्कीय रूपमा सकारात्मक रहेको जानकारी दिए । उनका अनुसार अहिले बजारमा न्यून ब्याजदर, पर्याप्त तरलता, उच्च विदेशी मुद्रा सञ्चिति र शोधनान्तर स्थिति बचतमा छ। यस्तो अनुकूल वातावरण हुँदाहुँदै पनि लगानीको दर कमजोर हुनुमा निजी क्षेत्रको खस्किएको मनोबल मुख्य जिम्मेवार रहेको उनको ठम्याइ छ। निजी क्षेत्रले ’हामी खरानीबाट पनि उठ्छौँ’ भन्दै मनोबल उच्च राख्न खोजे पनि उनीहरूमा अझै त्रास कायमै रहेको उनले उल्लेख गरे।
नागरिकसँगको ’कन्ट्याक्ट’ र सुशासन विगतका नागरिक विद्रोहहरूमा निजी क्षेत्रमाथि नै पहिलो प्रहार हुने गरेको चर्चा गर्दै खनालले अब व्यवसायीहरूले सरकार र दलसँग मात्र नभई आम नागरिकसँग पनि प्रत्यक्ष सम्बन्ध (कन्ट्याक्ट) बढाउनुपर्ने सुझाव दिए। उनले नयाँ पुस्ता (जेन्जी) ले उठाएको सुशासन र भ्रष्टाचार विरोधी आवाज केवल सरकारका लागि मात्र नभई निजी क्षेत्र र गैरसरकारी संस्थाका लागि पनि उत्तिकै लागू हुने स्पष्ट पारे।
सरकारको प्रतिबद्धता सरकार गठन भएको पहिलो दिनदेखि नै निजी क्षेत्रका समस्या समाधान गर्न छलफल थालेको स्मरण गर्दै उनले निजी क्षेत्रलाई प्रवद्र्धन र संरक्षण गर्न सरकारले ठोस रणनीति बनाउने आश्वासन दिए । उनले हतारमा निर्णय गर्ने भन्दा पनि कार्यान्वयन गर्न सकिने प्रतिबद्धतासहित सरकार अघि बढ्ने बताए ।













