निजी क्षेत्रको सुरक्षा, पुनरुत्थान र लगानी वातावरण सुनिश्चित गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रको सुरक्षा, पुनरुत्थान र लगानीमैत्री वातावरण सुनिश्चित गर्न सरकार दृढ रहेको बताएकी छन् । उद्योग, वाणिज्य र समग्र निजी क्षेत्रले शान्ति, स्थायित्व र समृद्धिका लागि देखाएको साहस र निरन्तर प्रयासको उनले प्रशंसा गरिन् । निजी क्षेत्रले पीडा लुकाएर पनि व्यवसाय अघि बढाएको भन्दै उनले उच्च सम्मान व्यक्त गरिन् ।
नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ’शान्ति स्थायित्व र समृद्धिका लागि सहकार्यस् सामूहिक पहल’ विषयक कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले तोकिएकै मितिमा आगामी फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने अवस्थामा सरकार पुगेको स्पष्ट पारिन् । सरकार, राजनीतिक दल, युवा तथा सरोकारवालासँगको निरन्तर संवादका कारण निर्वाचनको सुनिश्चितता गरिएको उनको भनाइ छ । निर्वाचन नै विधिको शासन, लोकतान्त्रिक उपलब्धि संरक्षण, दिगो स्थिरता र व्यावसायिक वातावरण निर्माणको अचुक माध्यम भएको उनले बताइन् ।
नेपालको ७५ वर्षे राजनीतिक यात्रामा पटक–पटक परिवर्तन भए पनि ती परिवर्तनले आम नागरिकको जीविकामा ठोस सुधार गर्न नसक्दा निराशा र वितृष्णा बढेको प्रधानमन्त्री कार्कीको विश्लेषण छ । पर्याप्त रोजगारी, पेशा र न्यायपूर्ण व्यवहारको अभाव नै असन्तुष्टि र द्वन्द्वको मूल कारण बनेको उनले बताइन् ।
भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनले मुलुकलाई गहिरो पीडा दिएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले मानवीय क्षति अपूरणीय रहेको बताइन् । मूल्यांकन समितिको प्रतिवेदनअनुसार करिब ८४ अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको र त्यसमा निजी क्षेत्रको क्षति ३३ अर्ब रुपैयाँभन्दा बढी रहेको उनले जानकारी गराइन् ।
असामान्य परिस्थितिलाई सम्हाल्दै शान्ति सुव्यवस्था कायम गर्न सरकार संयमका साथ अघि बढिरहेको प्रधानमन्त्री कार्कीको भनाइ छ । आन्दोलनपछि व्यवसाय पुनरुत्थानका लागि मौद्रिक, वित्तीय तथा विकास योजनामार्फत निजी क्षेत्रका माग सम्बोधन गरिएको उनले बताइन् । कर भुक्तानीको म्याद थप, कर्जाको पुनरटोलिकरण, बीमा दाबीको अग्रिम भुक्तानी, व्यवसाय सुरक्षाको पूर्ण प्रत्याभूति जस्ता व्यवस्था गरिएको उनको भनाइ छ ।
सरकारले भन्सार प्रशासनमा कारोबार मूल्यलाई मान्यता दिने प्रणाली, आन्तरिक राजस्वमा अनलाइन प्यान र कर चुक्ता प्रमाणपत्र, जोखिममा आधारित लेखा परीक्षण प्रणाली लागू गरेको प्रधानमन्त्री कार्कीले बताइन् । वैदेशिक लगानीकर्तालाई लाभांश र ब्याज सिधै वाणिज्य बैंकमार्फत लैजान सकिने व्यवस्था, आईटी कम्पनीलाई विदेशमा लगानी गर्न पाउने प्रक्रिया सरलीकरण, कालोसूचीमा रहेका कम्पनीले पनि पुनरुत्थानका लागि लगानी भित्र्याउन सक्ने व्यवस्था गरिएको उनले उल्लेख गरिन् ।
जग्गा कित्ताकाटमा परिमार्जन गरी घरजग्गा बजारको अवरोध हटाइएको र वैदेशिक मुद्रा भित्र्याउने प्रक्रिया सरल बनाइएको प्रधानमन्त्री कार्कीको भनाइ छ । सरकार ठूलो नीतिगत फड्को मार्न नभई सुशासनको जग बसाल्दै राजनीतिक स्थायित्वतर्फ अघि बढिरहेको उनले स्पष्ट पारिन् ।
निजी क्षेत्रका संरचना पुनर्निर्माण भएपछी पुन: तोडफोड नहुने सुनिश्चितता दिन सरकार तयार रहेको प्रधानमन्त्री कार्कीले बताइन् । उद्यमी व्यवसायीलाई निर्बाध पेसा व्यवसाय, सम्पत्तिको हकको सम्मान, द्रुत सेवा र सुरक्षा प्रदान गरिने प्रतिबद्धता उनले व्यक्त गरिन् । बन्द, हड्ताल, तोडफोड र आगजनीजस्ता गतिविधिबाट उद्योग–व्यवसायलाई संरक्षण गर्न आवश्यक कदम चालिने उनको भनाइ छ ।
भदौको प्रदर्शनमा घुसपैठ, लुटपाट र आगजनीमा संलग्न व्यक्ति तथा समूहलाई कानुनी कारबाहीको दायरामा ल्याउन न्यायिक प्रक्रिया सुरु भइसकेको प्रधानमन्त्री कार्कीले जानकारी गराइन् । निजी क्षेत्रलाई स्वच्छ र मर्यादित व्यवसाय गर्न आग्रह गर्दै उनले व्यावसायिक आचरण संहिताको पूर्ण पालना आवश्यक रहेको बताइन् ।
अन्त्यमा, प्रधानमन्त्री कार्कीले निर्वाचनमार्फत स्थायित्व कायम गर्दै उद्यमशीलता विकासमा सरकार प्रतिबद्ध रहेको र यसका लागि निजी क्षेत्र, नागरिक समाज, युवा तथा राजनीतिक दलहरूको सकारात्मक सहयोगको प्रशंसा गरिन् ।













