ईभीमा 'किङ मेकर' बन्न चीनको त्यो मास्टर प्लान: कसरी बन्यो विश्वमा 'नम्बर वान' ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

ईभीमा ‘किङ मेकर’ बन्न चीनको त्यो मास्टर प्लान: कसरी बन्यो विश्वमा ‘नम्बर वान’ ?



काठमाडौं । धेरै देशहरूमा विद्युतीय सवारी (ईभी) अझै पनि धनी वर्गले मात्र प्रयोग गर्ने विलासिताको साधनका रूपमा हेरिन्छ।

उच्च मूल्य, सीमित चार्जिङ सुविधा र सरकारी सहयोगको अभावका कारण धेरै मुलुकमा ईभी आम मानिसको पहुँचभन्दा बाहिर छ। त्यसैले विश्वका धेरै सहरमा आज पनि पेट्रोल र डिजेल गाडी नै मुख्य यातायातको साधन बनेका छन्।

तर चीनको अवस्था भने बिल्कुलै फरक छ। चीनमा विद्युतीय सवारी कुनै नयाँ वा विशेष प्रविधि होइन, बरु दैनिक जीवनको सामान्य हिस्सा बनिसकेको छ।

चीनले एक वर्षमा बिक्री गर्ने कुल गाडीमध्ये झण्डै ५० प्रतिशत गाडी विद्युतीय हुन्छन्। यसको अर्थ, चीनमा प्रत्येक दुईमध्ये एक नयाँ गाडी ईभी हो। यस्तो आँकडा विश्वका अन्य देशका लागि अझै कल्पनाजस्तै लाग्ने यो कुरा चीनका लागि सामान्य यथार्थ बनिसकेको छ।

यही कारण चीनलाई आज विश्वकै सबैभन्दा ठूलो र प्रभावशाली विद्युतीय सवारी बजारका रूपमा हेरिन्छ, जहाँ ईभी विलासिता होइन, आम जनताको रोजाइ बनिसकेको छ।

‘किङ मेकर बन्ने मास्टर प्लान’

यस शताब्दीको सुरुवातमै चीनको नेतृत्वले भविष्यका प्रविधिमा अग्रणी बन्ने योजना बनाएको थियो। कहिल्यै साइकलको देश भनेर चिनिने चीन आज विश्वकै अग्रणी ईभी निर्माता बनेको छ।

१ करोड ८० लाखभन्दा बढी जनसंख्या भएको ग्वाङ्झाउ चीनको ठूलो र अत्यन्त व्यस्त सहरमा अहिले सवारीसाधनको भीड, हर्नको आवाज र इन्जिनको ठूलो आवाज सुन्न पाइदैन । यहाँ पेट्रोल र डिजेल गाडीको सट्टा ठूलो संख्यामा विद्युतीय गाडी चल्न थालेपछि चीनका ठूला सहरहरूको अवस्था बदलिएको छ।

ट्राफिक जामका बेला पहिले सुनिने गर्जनजस्तो ठूलो आवाजभन्दा चीनमा अहिले केवल हल्का सुस्केरा जस्तो शान्त र कम आवाज बढी सुनिन थालेको छ। यसले विद्युतीय गाडीको व्यापक प्रयोग, ध्वनि प्रदूषणमा आएको कमी, र सहरको यातायात संस्कृतिमा आएको परिवर्तनलाई संकेत गर्छ।

विद्युतीय सवारीको मामिलामा चीन अन्य कुनै पनि देशभन्दा १० वर्ष अगाडि र १० गुणा राम्रो राम्रो बनेको विश्लेषकहरु बताउँछन् ।

यस वर्ष मात्र चीनको बिवाइडी कम्पनीले अमेरिकाको टेस्लालाई उछिनेर विश्वकै सबैभन्दा ठूलो ईभी निर्माता बनेको छ। १ अर्ब ४० करोडभन्दा बढी जनसंख्या भएको विशाल घरेलु बजारले बिवाइडीको बिक्रीलाई टेवा दिएको छ। बिवाईडीसँगै सस्तो ईभी बनाउने अन्य धेरै चिनियाँ स्टार्टअपहरू पनि विश्व बजारतर्फ उन्मुख छन्।

चीनले विद्युतिय सवारी निमार्णमा एकाएक कसरी फड्को मार्‍यो ?

चीनको ईभी प्रभुत्वको जड खोज्दा धेरै विश्लेषकहरू वान गाङको नाम लिन्छन्। जर्मनीमा प्रशिक्षित इन्जिनियर वान गाङ सन् २००७ मा चीनका व्यापार तथा विज्ञान मन्त्री बने।

‘हामी संसारकै सबैभन्दा ठूलो कार बजार हौं। तर नराम्रो खबर, बेइजिङ, शाङ्घाई र ग्वाङ्झाउका सडकमा मैले देख्ने सबै गाडी विदेशी ब्रान्डका छन’ चीनको विद्युतीय सवारी उद्योगका प्रमुख अन्तर्राष्ट्रिय विज्ञ माइकल डन सम्झिन्छन् ।

त्यसबेला चिनियाँ ब्रान्डहरू गुणस्तर र प्रतिष्ठामा युरोपेली, अमेरिकी र जापानी गाडीहरूसँग प्रतिस्पर्धा गर्न सक्दैनथे। पेट्रोल वा डिजेल गाडी उत्पादनमा ती कम्पनीहरू धेरै अगाडि थिए।

तर चीनसँग पर्याप्त स्रोत, दक्ष श्रमिक र अटो उद्योगसँग जोडिएको आपूर्तिकर्ता प्रणाली थियो। त्यसैले वान गाङले विद्युतिय सवारी उत्पादनमा गेम चेञ्जर बन्ने मास्टर प्लान बनाए ।

सन् २००१ मै पाँचवर्षे आर्थिक योजनामा ईभी समावेश गरिए पनि २०१० को दशकमा मात्रै सरकारले उद्योग विस्तारका लागि ठूलो मात्रामा अनुदान दिन थाल्यो।

पश्चिमी लोकतन्त्रभन्दा फरक, चीनले आफ्ना लक्ष्यका लागि लामो समयसम्म अर्थतन्त्रका ठूला हिस्सालाई परिचालन गर्न सक्छ। विशाल पूर्वाधार आयोजना र उत्पादन क्षेत्रमा उसको वर्चस्व यसको उदाहरण हो।

२००९ देखि २०२३ सम्म (१५ वर्षमा) चिनियाँ अधिकारीहरूले विद्युतीय सवारी साधनको राष्ट्रिय उद्योगको गठन र विकासमा २३०.९ अर्ब डलर खर्च गरेको अमेरिकन सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेशनल स्टडीजको प्रतिवेदनमा उल्लेख छ ।

चीनले विद्युतीय सवारीको उत्पादन र बिक्री बढाउन विभिन्न उपाय अपनाउँदै आएको छ। जसअन्तर्गत सरकारले गाडी किन्ने उपभोक्तालाई राष्ट्रिय रूपमा स्वीकृत छुट दिन्छ, १० प्रतिशत बिक्री कर छुट उपलब्ध गराउँछ भने चार्जिङ स्टेशनजस्ता पूर्वाधार निर्माणका लागि सरकारी लगानी गर्छ। साथै, अनुसन्धान तथा विकास कार्यक्रमहरू र सरकारी निकायले विद्युतीय गाडी खरिद गर्ने नीति पनि लागू गरिएको छ।

सन् २०२३ मा राज्यको सहयोगअन्तर्गत भएको कुल खर्चमध्ये ८७.४ प्रतिशत रकम बिक्री कर छुटमा गएको थियो भने ९.४ प्रतिशत खर्च अनुसन्धान तथा विकास परियोजनामा गरिएको थियो।

उपभोक्ता, गाडी निर्माता, बिजुली प्रदायकदेखि ब्याट्री आपूर्तिकर्तासम्म सबैले ईभी सम्बन्धी सहयोग र अनुदान पाएका छन्। यसले बिवाइडीलाई स्मार्टफोन ब्याट्रीबाट ईभी उत्पादनमा केन्द्रित हुन प्रोत्साहन गर्‍यो।

२०११ मा स्थापना भएको निङदेस्थित सीएटीएल कम्पनी जसले टेस्ला, भोक्सवागन र फोर्डलाई ब्याट्री आपूर्ति गर्छ, आज विश्वका एकतिहाइ ईभी ब्याट्री उत्पादन गर्छ।

यस दीर्घकालीन योजना र सरकारी लगानीले चीनलाई ब्याट्री आपूर्ति शृङ्खलामा पनि प्रभुत्व जमाउन मद्दत गर्‍यो। ठूला सहरहरूमा केन्द्रित विशाल सार्वजनिक चार्जिङ सञ्जाल बनाइयो, जसले चालकहरूलाई केही मिनेटमै चार्जर पुग्ने सुविधा दिन्छ।


पश्चिमी करको सामना गर्दै चिनियाँ ईभीको विश्वयात्रा

चीनको ईभी वृद्धिको आधार बनेका सरकारी अनुदानलाई धेरै देशले अनुचित मानेका छन्। अमेरिका, क्यानडा र युरोपेली संघले चिनियाँ ईभीमा भारी आयात कर लगाएका छन्। तर बेलायतले भने त्यसो नगर्ने संकेत दिएको छ।

यसले एक्सपेङजस्ता कम्पनीलाई आकर्षक बजार बनाएको छ। संयुक्त राष्ट्रसंघले जलवायु संकट टार्न ईभी तर्फको रूपान्तरणलाई निर्णायक भनेको छ। बेलायतसहित धेरै पश्चिमी देशले २०३० पछि पेट्रोल र डिजेल गाडी बिक्रीमा प्रतिबन्ध लगाउने घोषणा गरिसकेका छन्। यसलाई सम्भव बनाउन चीनजत्तिको तयारी अरू कुनै देशसँग छैन।

आज यदि तपाईं ईभी बनाउन चाह्यो भने पनि त्यसमा प्रयो हुने ब्याट्रि र चिप्सका लागि चीनमा निर्भर हुनुपर्छ । कतिपयले यसलाई ‘राज्य पुँजीवाद’ भन्छन् भने पश्चिमी देशहरूले यसलाई अनुचित व्यापार अभ्यासको संज्ञा दिन्छन्। तर चिनियाँ ईभी अधिकारीहरूका अनुसार स्वदेशी वा विदेशी सबै कम्पनीले समान स्रोत पाउँछन्।

एक्सपेङका अध्यक्ष ब्रायन गु भन्छन्, “चिनियाँ सरकारले युरोप र अमेरिकाले जस्तै नीति सहयोग, उपभोक्ता प्रोत्साहन र पूर्वाधार उपलब्ध गराइरहेको छ। फरक के छ भने चीनले यो निरन्तर र अत्यन्त प्रतिस्पर्धी वातावरण सिर्जना गर्ने गरी गरेको छ। यहाँ कसैलाई पनि विशेष पक्षपात छैन।”

एक्सपेङ ‘चिनियाँ च्याम्पियन’ मध्येको एक हो। एक दशकभन्दा कम पुरानो यो कम्पनी अझै नाफामा नपुगे पनि विश्वका शीर्ष १० ईभी उत्पादकमा परिसकेको छ।

एक्सपेङको ‘मोना म्याक्स’ मोडेल हालै चीनमा करिब २० हजार अमेरिकी डलरमा बिक्रीमा आएको छ। यस मूल्यमा स्वचालित ड्राइभिङ, आवाजबाट चल्ने प्रणाली, सुत्न मिल्ने सिट, फिल्म र संगीत स्ट्रिमिङ सुविधा उपलब्ध छ। चिनियाँ युवा स्नातकहरूका लागि यी सबै पहिलो गाडीमा सामान्य सुविधा मानिन्छ।

सरकारी खर्चले ईभीलाई आर्थिक रूपमा आकर्षक बनाएको सीएसआइएसको अध्ययनले देखाएको छ। पुरानो गैर–विद्युतीय गाडी साटेर ईभी किन्दा अनुदान, कर छुट र सार्वजनिक चार्जिङमा सस्तो दर उपलब्ध छ।चीनमा सवारी दर्ता नम्बर प्लेटका लागि पनि हजारौँ खर्चिनु पर्छ तर ईभीका लागि हरियो प्लेट नि:शुल्क छ।

पेट्रोल गाडीमा ४०० किलोमिटर चलाउन २०० युआन (करिब २८ डलर) खर्च हुन्थ्यो भने अहिले ईभी गाडीमा त्यो खर्च चौथाइमा झरेको छ।

चीन भविष्यमा संसारका प्राय: सबै गाडी आफैं बनाउने सोचमा छ । तर विश्वका कतिपय देशहरु र चिनियाँ प्रविधिमा शंका गर्छन। बिवाइडीकी उपाध्यक्ष स्टेला ली भने बिवाइडीले डेटा सुरक्षामा अत्यन्त उच्च मापदण्ड अपनाएको दाबी गर्छिन् ।

(अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूकाे सहयाेगमा)


प्रतिक्रिया दिनुहोस्