विश्व शक्तिशाली बन्ने दौडमा बीवाईडी, टेस्लालाई उछिन्दै ईभी बजारको शीर्ष स्थानमा
काठमाडौँ । चिनियाँ इलेक्ट्रिक सवारी निर्माता बीवाईडीले अमेरिकी कम्पनी टेस्लालाई उछिनेर विश्वकै सबैभन्दा ठूलो इलेक्ट्रिक भेहिकल (ईभी) विक्रेता बन्ने तयारी गरेको छ।
वार्षिक बिक्रीका आधारमा टेस्लालाई पहिलो पटक पछि पार्न लागेको यो घटनाले विश्व ईभी बजारमा ठूलो परिवर्तनको संकेत दिएको हाे।
बीवाईडीले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार सन् २०२५ मा कम्पनीको ब्याट्री–चालित कार बिक्री झण्डै २८ प्रतिशतले वृद्धि भई २२ लाख ५० हजारभन्दा बढी पुगेको छ। यसले बीवाईडीलाई विश्व ईभी बजारको शीर्ष स्थानमा पुर्याएको छ।
उता, एलन मस्कको नेतृत्वमा रहेको टेस्लाले सन् २०२५ को कुल बिक्री तथ्यांक शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ। तर यसअघि सार्वजनिक गरिएको विश्लेषकहरूको अनुमानअनुसार टेस्लाले वर्षभरिमा करिब १६ लाख ५० हजार सवारी साधन बिक्री गरेको देखिन्छ, जुन बीवाईडीको तुलनामा निकै कम हो।
टेस्लाले सन् २०२५ मा मिश्रित चुनौतीहरू सामना गर्नुपरेको छ। नयाँ मोडलप्रति बजारको चासो अपेक्षाकृत कमजोर रहनु, एलन मस्कका राजनीतिक गतिविधिप्रति उठेको असन्तोष र चिनियाँ कम्पनीहरूसँगको तीव्र प्रतिस्पर्धाले टेस्लाको बिक्री प्रभावित भएको विश्लेषकहरू बताउँछन्।
बिक्री बढाउने प्रयासस्वरूप टेस्लाले गत अक्टोबरमा अमेरिकामा आफ्ना दुई सबैभन्दा धेरै बिक्री हुने मोडलका सस्तो संस्करण सार्वजनिक गरेको थियो। यसअघि सस्तो र नयाँ मोडल ल्याउन ढिलाइ गरेको भन्दै कम्पनी आलोचित हुँदै आएको थियो।
यसैबीच, विश्वकै धनी व्यक्ति एलन मस्कमाथि आगामी दशकमा टेस्लाको बिक्री र सेयर बजार मूल्य उल्लेखनीय रूपमा बढाउने दबाब बढेको छ। नोभेम्बरमा सेयरधनीहरूले स्वीकृत गरेको पारिश्रमिक सम्झौताअनुसार मस्कले अधिकतम १ ट्रिलियन अमेरिकी डलर बराबरको पारिश्रमिक पाउन सक्ने सम्भावना छ।
टेस्लाबाहेक मस्क सामाजिक सञ्जाल प्लेटफर्म एक्स, अन्तरिक्ष कम्पनी स्पेसएक्स र बोरिङ कम्पनीजस्ता विभिन्न व्यवसायको समेत नेतृत्व गरिरहेका छन्।
उता, चीनको शेन्जेनमा मुख्यालय रहेको बीवाईडी पछिल्ला वर्षहरूमा तीव्र गतिमा विस्तार हुँदै विश्व ईभी उद्योगको शक्तिशाली खेलाडी बनेको छ। प्रतिस्पर्धी कम्पनीको तुलनामा सस्तो मूल्यमा सवारी साधन उपलब्ध गराउँदै आएको बीवाईडीले ल्याटिन अमेरिका, दक्षिण–पूर्वी एसिया र युरोपका केही मुलुकमा उल्लेखनीय बजार विस्तार गरेको छ।
चिनियाँ ईभी माथि धेरै देशले उच्च भन्सार शुल्क लगाए पनि बीवाईडीको विस्तार रोकिएको छैन। गत अक्टोबरमा बीवाईडीले बेलायत चीन बाहिरको सबैभन्दा ठूलो बजार बनेको जनाएको थियो। कम्पनीका अनुसार सेप्टेम्बरसम्मको एक वर्षमा बेलायतमा बीवाईडीको बिक्री ८८० प्रतिशतले वृद्धि भएको छ, जसको प्रमुख कारण ‘सिल यू’ प्लग–इन हाइब्रिड एसयूभीप्रतिको उच्च माग हो।













