डेल्सी रोड्रिगेज बनिन् भेनेजुएलाको कार्यवाहक राष्ट्रपति, अमेरिकी कब्जामा रहेका मदुरो र उनकी श्रीमती कहाँ छन् ?
काठमाडाैं । भेनेजुएलामा अमेरिकी सैन्य अपरेशनका क्रममा राष्ट्रपति निकोलास मादुरो पक्राउ परेपछि, दक्षिण अमेरिकी देशको शासन कार्यकारी उपराष्ट्रपति डेल्सी रोड्रिगेजको हातमा पुगेको छ।
भेनेजुएलाको सर्वोच्च अदालतले शनिबार उपराष्ट्रपति डिल्सी रोड्रिग्वेजलाई कार्यकारी राष्ट्रपति तोकेको छ।
राष्ट्रपति निकोलास मदुरो अनुपस्थित रहेको अवस्थामा सरकार सञ्चालन गर्ने सम्पूर्ण अधिकार रोड्रिग्वेजलाई प्रदान गरिएको अदालतको फैसलामा उल्लेख छ।
भेनेजुएलाको संविधानले राष्ट्रपतिको अनुपस्थितिलाई पूर्वानुमान गर्दै विभिन्न अवस्थाहरूको व्यवस्था गरेको छ। धारा २३३ र २३४ अनुसार, अनुपस्थिति अस्थायी होस् वा पूर्ण, उपराष्ट्रपतिले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने व्यवस्था छ।
अर्थ र तेल मन्त्रालय दुवैको जिम्मेवारी पनि सम्हालिरहेकी रोड्रिगेजले शनिबार दिउँसाेदेखि कार्यकारी राष्ट्रपतिकाे जिम्मेवारी पनि सम्हालिरहेकी छिन् ।
मादुरो र उनकी पत्नी सिलिया फ्लोरेस पक्राउ परेपछि केही घण्टामै उनले अन्य मन्त्री र वरिष्ठ अधिकारीहरूका बीच राष्ट्रिय रक्षा परिषद्को बैठकको अध्यक्षता गरिन् र उक्त दम्पतीको “तत्काल रिहाइ” माग गर्दै अमेरिकी सैन्य अपरेशनको निन्दा गरिन्।
भेनेजुएलाको झन्डाअगाडि उभिँदै रोड्रिगेजले बिहान सबेरै गरिएको उक्त अपरेशन अन्तर्राष्ट्रिय कानुन र भेनेजुएलाको सार्वभौमिकताको खुला उल्लङ्घन भएको बताइन्। उनले यस कार्यलाई भेनेजुएलाका जनताले अस्वीकार गर्नुपर्ने र सम्पूर्ण ल्याटिन अमेरिकी सरकारहरूले निन्दा गर्नुपर्ने भनाइ राखिन्।
५६ वर्षीया रोड्रिगेज कराकासकी हुन् र उनले भेनेजुएलाको केन्द्रीय विश्वविद्यालयबाट कानुन अध्ययन गरेकी छन्।उनी दुई दशकभन्दा बढी समयदेखि ‘चाभिस्मो’ राजनीतिक आन्दोलनको प्रमुख व्यक्तित्वमध्ये एक रहँदै आएकी छन्।
अमेरिकाले पक्राउ गरेका मदुरो र उनकी श्रीमती कहाँ छन् ?
लामो समयदेखिको धम्कीबीच अमेरिकाले शनिबार बिहानै भेनेजुएलामा भिषण आक्रमण गर्दै त्यहाँबाट राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमतीलाई पक्राउ गरेकाे छ।
भेनेजुएलाका पक्राउ परेका राष्ट्रपति निकोलास मादुरो र उनकी पत्नी सिलिया फ्लोरेस भेनेजुएलामा गरिएको ठूलो स्तरको अमेरिकी अपरेशनपछि न्यूयोर्क सहरमा छन्।
मादुरोलाई ब्रुकलिनस्थित मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा राखिएको छ, जसलाई ‘घृणित’ र ‘डरलाग्दो’ जेल मान्ने गरिन्छ। उक्त जेलमा रहेका मदुराेले म्यानह्याटनको संघीय अदालतमा लागूपदार्थ तथा हतियारसम्बन्धी अभियोगको सामना गर्नुपर्ने छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले विवेकपूर्ण संक्रमण नहुँदासम्म अमेरिका भेनेजुएलालाई चलाउने बताएका छन्। उनले अमेरिकाले भेनेजुएलाका विशाल तेल भण्डारहरू पनि नियन्त्रणमा लिने बताएका छन्।













