ललितपुर–१ मा बालेनका सल्लाहकार सुरेन्द्र बजगाईंको चर्चा
काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि ललितपुर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट सुरेन्द्र बजगाईंको नाम प्रबल उम्मेदवारका रूपमा चर्चामा आएको छ । महांकाल गाउँपालिका–४, कालेश्वरका स्थायी बासिन्दा बजगाईं हाल काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का सल्लाहकार एवं महानगरको सहरी योजना आयोगमा कार्यरत छन् ।
रास्वपा स्रोतका अनुसार सुरुमा समानुपातिक बन्द सूचीमा प्रस्ताव गरिएका बजगाईंलाई हाल प्रत्यक्षतर्फ उठाउने तयारी गरिएको छ । ललितपुर–१ मा विगतदेखि नै निर्वाचन क्षेत्र बाहिरका उम्मेदवारहरूको वर्चस्व रहँदै आएको र स्थानीय समस्या ओझेलमा परेको गुनासोका बीच स्थानीय भूगोल बुझेका बजगाईंलाई उपयुक्त विकल्पका रूपमा हेरिएको हो ।
बजगाईंसँग पत्रकारिता र नीतिगत क्षेत्रको लामो अनुभव छ । उनले बाह्रखरी, इकागज, नेपाल लाइभ, उकेरा र रुटिन अफ नेपाल बन्दजस्ता सञ्चारमाध्यममा रहेर सुशासन र सार्वजनिक नीतिका विषयमा कलम चलाइसकेका छन् । हाल उनी महानगरको शिक्षा, स्वास्थ्य, वातावरण तथा विपद् व्यवस्थापन जस्ता महत्त्वपूर्ण क्षेत्रको नीति निर्माण र कार्यान्वयनमा संलग्न छन् ।
उनको पृष्ठभूमि सामाजिक अभियानसँग पनि गहिरोसँग जोडिएको छ । उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपाली दलबाट राजनीतिक यात्रा सुरु गरेका बजगाईंले २०७२ को नाकाबन्दीका बेला सामाजिक सद्भावका लागि काठमाडौं–जनकपुर पैदल यात्रा र टिकापुर घटनापछि लुम्बिनी–टिकापुर साइकल यात्रा गरेका थिए ।
ग्रामीण विकासमा स्नातक र समाजशास्त्रमा स्नातकोत्तर गरिरहेका उनले ललितपुरका ग्रामीण भेगमा राहत वितरण, खानेपानी आयोजना र विद्यालयहरूमा शैक्षिक सहयोग पुर्याउँदै आएका छन् । बागलुङको तमानखोलामा ’भिलेज प्रोफाइल’ तयार गर्नेदेखि सिन्धुपाल्चोकमा प्राविधिक शिक्षा विस्तारसम्म उनको अनुभव छ । नीतिगत स्पष्टता र धरातलीय यथार्थ बुझेका युवा नेतृत्वका रूपमा उनलाई रास्वपाले यस क्षेत्रमा बलियो उम्मेदवारका रूपमा अघि सारेको बुझिन्छ ।













