ओमान र इजरायलसँग श्रम सम्झौता अघि बढाउन सरकारले दियाे - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

ओमान र इजरायलसँग श्रम सम्झौता अघि बढाउन सरकारले दियाे



काठमाडौं । सरकारले ओमान र इजरायलसँग श्रम सम्झौता गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावअनुसार दुवै देशसँग श्रम सम्झौता अघि बढाउन स्वीकृति प्रदान गरिएको बताए ।

ओमानले यसअघि नै नेपालसँग श्रम समझदारीपत्रमा हस्ताक्षर गर्न स्वीकृति दिइसकेको थियो । नेपाल–ओमानबीच सन् १९७७ (२०३४) मा कूटनीतिक सम्बन्ध स्थापना भए पनि करिब ५० वर्षपछि श्रम सम्झौता हुन लागेको हो । २२ वैशाख २०७६ मा तयार भएको मस्यौदामा शून्य लागतमा कामदार पठाउने सैद्धान्तिक सहमति भएको थियो । सरकारले स्वीकृति दिएसँगै अब सम्झौतामा हस्ताक्षर हुनेछ ।

इजरायलतर्फ, १४ असोज २०७७ (३० सेप्टेम्बर २०२०) मा केयरगिभरका रूपमा सरकारी संयन्त्रमार्फत नेपाली श्रमिक पठाउने सम्झौता भएको थियो । सो सम्झौतामा स्वतः नवीकरणको प्रावधान नभएकाले पाँच वर्षपछि त्यसैलाई नयाँ सम्झौताका रूपमा निरन्तरता दिन प्रक्रिया अघि बढाइएको हो ।

नेपाल–इजरायल कूटनीतिक सम्बन्धको ६० वर्ष पूरा भएको अवसरमा २०७७ सालमा श्रम सम्झौता र कृषिको आधुनिकीकरणका लागि ‘एग्रिकल्चरल सेन्टर अफ एक्सिलेन्सेस’ स्थापना सम्बन्धी सम्झौता गरिएको थियो । श्रम मन्त्रालयका अनुसार २०७७ कै सम्झौतालाई निरन्तरता दिन लागिएको हो ।


प्रतिक्रिया दिनुहोस्