प्राधिकरणले पोखरामा धमाधम विद्युत् तार भूमिगत गर्दै, ६५ प्रतिशत काम सकियो
कास्की । पोखराको मुख्य बजार क्षेत्रमा अहिले बिजुलीको तार भूमिगत (अण्डरग्राउण्ड) गर्ने काम भइरहेको छ ।
पोखरा अन्तरराष्ट्रिय विमानस्थल प्रवेशद्धारदेखि सेतीपुलसम्मको क्षेत्रमा काम सकिएको छ । अन्य क्षेत्रमा विद्युत् तार जमिनमुनि गाड्ने कामले निरन्तरता पाएको छ ।
नेपाल विद्युत् प्राधिकरणले पोखरा र भरतपुरमा बिजुलीको तार भूमिगत गर्नका लागि पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण परियोजना सञ्चालन गरिरहेको छ । यसै परियोजनाले पोखरामा तीन वर्षदेखि काम गरिरहेको हो ।
पोखरा अन्तरराष्ट्रिय विमानस्थलदेखि पृथ्वीचोक हुँदै सृजनाचोक–रत्नचोक–राष्ट्र बैंक चोक–शहिद चोक–लेकसाइड–हल्लन चोकदेखि बुलौदी हुँदै जिरो किलोमिटरसम्मको क्षेत्रमा अहिले विद्युत्तार भूमिगत गर्ने कार्य भइरहेको पोखरा– भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना प्रमुख आनन्द सुवेदीले बताए । आयोजनाको हालसम्म ६५ प्रतिशत काम सकिएको र न्यूरोड क्षेत्रमा भने केही समयपछि काम हुने सुवेदीले जनकारी दिए ।
“पोखराको बिजुलीको स्रोत कुँडहर सवस्टेशनदेखि काम सुरु गरेर पूर्वमा विमानस्थलद्वार र पश्चिममा सेती पुलसम्मको क्षेत्रमा काम सकिएको छ, बाँकी अन्य कतिपय क्षेत्रमा लाइन चार्ज गर्न बाँकी छ भने अन्य क्षेत्रमा पछिल्लो समय तीव्रताका साथ काम अघि बढाइएको छ”, आयोजना प्रमुख सुवेदीले भने ।
आगामी जुन ३१ गतेसम्म निर्माणको म्याद रहेको र सो समयसम्म सबै काम सम्पन्न हुने विश्वास लिइको सुवेदीले जानकारी दिए । पोखरामा विद्युत् तार भूमिगत गर्ने परियोजना सन् २०२२ मा सुरु भएको हो । सुरुआती चरणमा डिजाइन, भूगर्भ अध्ययन लगायतमा समय लागेकाले काम भने एक वर्षपछि मात्र सुरु भएको थियो ।
पोखराको २३ किमी क्षेत्रको बिजुलीको तार भूमिगत गर्नका लागि १ अर्ब ७० करोड रुपैयाँ बजेटमा भारतीय कम्पनी टाटा प्रोजेक्ट्ससँग ठेक्का सम्झौता गरिएको छ । आयोजना प्रमुख सुवेदीले भरतपुरको भने ७४ प्रतिशत काम सकिएको जानकारी दिए । भरतपुरको लागत १ अर्ब ३० करोड रुपैयाँ छ ।













