नेक्सन ईभीलाई टक्कर दिन महिन्द्रा एक्सयूभी ३ एक्सओ सार्वजनिक, कति पर्छ मूल्य, के के छन् फिचर ?
काठमाडाैं । महिन्द्राले आफ्नो नयाँ ईभी एसयुभी ३एक्सओ ईभी सार्वजनिक गरेको छ। मंगलबार भारतकाे राजस्थानमा ३ एक्सओ ईभी दुई भेरियन्ट लञ्च गरिएकाे हाे ।
यसको डेलिभरी २३ फेब्रुअरी २०२६ बाट सुरु हुने महिन्द्राले जनाएको छ। एएक्स५ को मूल्य १३.८९ लाख भारतिय रुपैयाँ र एएक्स ७ एल को मूल्य १४.९६ लाख भारतिय रुपैयाँ ताेकिएकाे छ । यसकाे ७.२ किलाेवाट एसी चार्जरका लागि थप ५० हजार रुपैयाँ तिर्नुपर्नेछ।
३एक्सओ ईभी, आईसीई (पेट्रोल/डिजेल) इन्जिनमा आधारित ३एक्सओ एसयुभी प्लेटफर्ममा तयार गरिएको हो। यसमा पहिलेको एक्सयुभी ४०० बाट ब्याट्री र इलेक्ट्रिक मोटर प्रयोग गरिएको छ। नयाँ मोडलले एक्सयुभी ४०० लाई प्रतिस्थापन गर्दै बजारमा टाटा नेक्सन ईभी सँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नेछ।
महिन्द्राका अनुसार ३एक्सओ ईभी ले वास्तविक प्रयोगमा करिब २८५ किलोमिटर रेन्ज दिनेछ। यसमा ३९.४किलाेवाट/ आवर क्षमताको ब्याट्री जडान गरिएको छ र दुई ट्रिम विकल्पमा उपलब्ध छ। बाहिरी र भित्री डिजाइन भने प्रायः आईसीई ३एक्सओ जस्तै राखिएको छ।
पावरट्रेनतर्फ, ३एक्सओ ईभी मा अगाडिको पांग्रालाई चलाउने इलेक्ट्रिक मोटर छ, जसले १५० एचपी पावर र ३१० एनएम टर्क उत्पादन गर्छ। गाडीले ० देखि १०० किमि/घण्टा गति लिन ८.३ सेकेन्ड मात्र लिन्छ। यसमा ‘फन’, ‘फास्ट’ र ‘फियरलेस’ गरी तीन ड्राइभ मोड दिइएको छ। डीसी फास्ट चार्जर (५०किलाेवाट) प्रयोग गर्दा ब्याट्री ० देखि ८० प्रतिशतसम्म ५० मिनेटमा चार्ज हुने कम्पनीको दाबी छ।
आईसीई मोडलबाट रूपान्तरण गरिएको भएकाले ३एक्सओ ईभी आकारमा अघिल्लो एक्सयुभी ४०० भन्दा सानो छ। यसको लम्बाइ ४ मिटरभन्दा कम भएकाले बुट स्पेस पनि घटेको छ। हालका लागि यो महिन्द्राको एकमात्र आईसीई–आधारित ईभी हो। अन्य मोडलहरू– एक्सईभी ९ई, एक्सईभी ९एस र बीई ६ भने पूर्ण रूपमा बीई (बोर्न–इलेक्ट्रिक) प्लेटफर्ममा आधारित छन्।
डिजाइनका हिसाबले ३एक्सओ ईभी बाहिरबाट हेर्दा आईसीई भर्सनसँग लगभग उस्तै देखिन्छ। ग्रिल बडी–कलर फिनिसमा छ भने अगाडिको बम्परमा हल्का फरक डिजाइन दिइएको छ। भित्री भागमा पनि उही ड्यासबोर्ड लेआउट राखिएको छ, तर सेन्टर कन्सोल र एसी भेन्ट वरिपरि ब्रान्ज कलरको हाइलाइट दिइएको छ। स्टेयरिङमा रहेको लोगो पनि ब्रान्ज फिनिसमा प्रस्तुत गरिएको छ।
फिचरको कुरा गर्दा, ३एक्सओ ईभी एसयुभी मा दुईवटा १०.२५ इन्चका स्क्रिन, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, सबै–एलईडी लाइट, डुअल–जोन एसी, इलेक्ट्रोनिक पार्किङ ब्रेक, वायरलेस चार्जर, ६ एयरब्याग, ईएसपी र क्रुज कन्ट्रोल जस्ता सुविधा छन्। टप भेरियन्टमा प्यानोरामिक सनरुफ, लेदरेट सिट, ७–स्पिकर हरमन कार्डन अडियो सिस्टम, १७ इन्च अलोय ह्विल र एडास पनि उपलब्ध छ।
बजारमा ३एक्सओ ईभीले मुख्य प्रतिस्पर्धी टाटा नेक्सन ईभी हुनेछ। नेक्सन ईभी हाल १२.४५ लाखदेखि १७.२९ लाख रुपैयाँ (एक्स–शोरूम) मूल्य दायरामा उपलब्ध छ र यसमा दुई ब्याट्री विकल्पसहित अधिकतम ४६५ किलोमिटर एआरएआई प्रमाणित रेन्ज दिइएको छ।













