विभिन्न देशसँग बढ्दाे तनावबीच अमेरिकी सैन्य खर्च ५० प्रतिशत बढाउने ट्रम्पको घेषणा, १.५ ट्रिलियन डलर पुर्याइने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आर्थिक वर्ष २०२७ का लागि रक्षा बजेट १।५ ट्रिलियन अमेरिकी डलरसम्म पुर्याउने प्रस्ताव सार्वजनिक गरेका छन्। यस कदमलाई उनले अत्यन्तै अशान्त र खतरनाक समयका लागि आवश्यक तयारी भएको बताएका छन्।
यो प्रस्तावित बजेट यस वर्ष अमेरिकी कांग्रेसले स्वीकृत गरेको ९०१ अर्ब डलरको रक्षा बजेटभन्दा ५० प्रतिशतभन्दा बढी हो। स्वीकृत भएमा यो अमेरिकाको इतिहासकै सबैभन्दा ठूलो रक्षा बजेट हुनेछ।
सामाजिक सञ्जालमा पोस्ट गर्दै ट्रम्पले भने, “यसले हामीलाई लामो समयदेखि चाहिएको ‘ड्रिम मिलिटरी’ निर्माण गर्न मद्दत गर्नेछ र कुनै पनि शत्रुको सामना गर्न अमेरिका सुरक्षित र सुरक्षित रहनेछ।”
ट्रम्पले रक्षा खर्च वृद्धि गर्न आवश्यक रकम आयात कर (ट्यारिफ० बाट सजिलै जुटाउन सकिने दाबी पनि गरेका छन्। यद्यपि अर्थशास्त्रीहरूले भने अमेरिकाको खर्च र आम्दानीबीचको खाडल अस्थिर बन्दै गएको चेतावनी दिँदै आएका छन्।
अर्को पोस्टमा ट्रम्पले प्रमुख अमेरिकी रक्षा ठेकेदार कम्पनीहरूलाई चेतावनी दिएका छन्। उनले हतियार उत्पादनमा ढिलाइ भइरहेको भन्दै कम्पनीहरूले तुरुन्तै नयाँ र आधुनिक उत्पादन प्लान्टहरू निर्माण गर्नुपर्ने बताए।
उनले रक्षा कम्पनीहरूले उत्पादनमा लगानी गर्नुको सट्टा शेयरधनीलाई ठूलो लाभांश, स्टक बायब्याक र कार्यकारीहरूलाई अत्यधिक तलब दिइरहेको आरोप लगाए। ट्रम्पले भने, “कुनै पनि कार्यकारीले ५० लाख डलरभन्दा बढी कमाउनु हुँदैन।”
यो घोषणाको समय विश्वभर भूराजनीतिक तनाव बढिरहेको अवस्थामा आएको हो। हिजो मात्रै अमेरिकी सेनाले अमेरिकी प्रतिबन्ध उल्लङ्घन गरेको आशंकामा रूसी झण्डा बोकेको तेल ट्यांकर नियन्त्रणमा लिएको थियो।
यसअघि अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरी लागुऔषध तस्करीको अभियोगमा अमेरिका ल्याएको जनाएको थियो।













