९ श्रावण २०८३, शनिबार

पाँच महिनामा पाैने ९ खर्ब रेमिट्यान्स भित्रियाे, कुन महिनामा कति ?



काठमाडाैं । रेमिट्यान्स (विप्रेषण आप्रवाह) उच्च दोहोरो अंकमा बढेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स स्वरुप नेपाल भित्रिएको छ।

नेपाल राष्ट्र बैंकबाट प्राप्त चालु आर्थिक वर्ष २०८२/८३ को मंसिरसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको विवरणले यस्तो देखाएको हो । यो गत आवको सोही अवधिको तुलनामा ३५.६ प्रतिशतले बढी हो ।

मङ्सिर महिनामा मात्रै १ खर्ब ८३ अर्ब १८ करोड रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु. १ खर्ब १८ अर्ब ७९ करोड रुपैयाँ भित्रिएको थियो ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.० प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.४ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु. ९५४ अर्ब ७८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.७०० अर्ब ४३ करोड रहेको थियो ।

यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १ लाख ७५ हजार ५९१ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ६३ हजार ९२४ रहेकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः १ लाख ९० हजार ३८४ र १ लाख ३५ हजार ४२५ रहेको थियो ।

कुन महिनामा कति ?

नेपाल राष्ट्र बेंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलाे महिना साउनमा रेिमट्यान्स मार्फत १ खर्ब ७७ अर्ब ४१ करोड रूपैयाँ भित्रिएको थियो । जुन गत आर्थिक वर्ष साउनकाे तुलनामा २९.९ प्रतिशतले बढी हाे ।

यस्तै भदाैमा अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.८ प्रतिशतले बढेर १ खर्ब ७४ अर्ब ६७ करोड रूपैयाँ भित्रिएकाे थियाे ।

यस्तै असाेज एक महिनामा २ खर्ब १ अर्ब २२ कराेड र कार्तिकमा १ खर्ब ३३ अर्ब ८२ कराेड रूपैयाँ भित्रिएकाे थियाे ।


प्रतिक्रिया दिनुहोस्