नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन



काठमाडौं । नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको ‘नेसलन ट्रान्सफर एकाउन्ट’ प्रतिवेदनले २७ वर्षभन्दा कम र ४६ वर्षभन्दा माथिको उमेर समूहको आम्दानीभन्दा उपभोग बढी रहेकाले जीवन चक्रीय अभाव (लाइफ साइकल डेफिसिट) रहेको देखाएको हो ।

नेसनल ट्रान्सफर एकाउन्ट प्रतिवेदनले व्यक्तिको जीवनचक्र खातालाई प्रतिव्यक्ति र कुल सङ्ख्याका आधारमा अध्ययन गरेको छ । “जनसङ्ख्याको उमेरगत वितरणलाई तीन समूह (बालबालिका तथा युवा ०–२४ वर्ष, काम गर्ने उमेर समूह २५– ६४ वर्ष र वृद्ध जनसङ्ख्या ६५ वर्ष तथा सोभन्दा माथि) मा विभाजन गरी हेर्दा आर्थिक वर्ष २०७८/७९ मा जीवनचक्र घाटा सबैभन्दा कम २५–६४ वर्ष उमेर समूहमा देखिन्छ । यद्यपि यस समूहले पनि बचत पर्याप्त रूपमा गरेको देखिँदैन”, प्रतिवेदनमा भनिएको छ ।

प्रतिव्यक्ति सबैभन्दा बढी जीवन चक्र घाटा ६५ वर्ष र सोभन्दा माथि उमेर समूहमा रहेको छ भने समग्रमा सबैभन्दा बढी घाटा ०–२४ वर्ष उमेर समूहमा देखिन्छ । प्रतिव्यक्ति उपभोग २५– ६४ वर्षमा सबैभन्दा बढी र ०–२४ वर्षमा सबैभन्दा कम देखिएको छ ।

उमेरको विन्दुगत उपभोग र श्रमआम्दानीको अवस्था हेर्दा जन्मेदेखि २६ वर्ष उमेरसम्म श्रम आम्दानीभन्दा खर्च बढी देखिएको हुनाले जीवन चक्रीय अभाव देखिन्छ भने २७ वर्ष देखि ४६ वर्षको अवधिमा खर्चभन्दा आम्दानी बढी भएको हुनाले जीवन चक्रीय बचत रहेको देखिन्छ । त्यसैगरी ४७ वर्ष उमेरपछि श्रम आम्दानीभन्दा खर्च बढी भएकाले जीवन चक्रीय घाटा देखिन्छ ।

प्रतिवेदनअनुसार नेपालमा व्यक्तिको जीवनचक्रमा करिब २० वर्षको उमेर अवधिमा मात्र औसत रूपमा जीवनचक्र मुनाफा देखिन्छ । बाँकी उमेर अवधिमा जीवनचक्र घाटा देखिने भएकाले सो अवधिको उपभोग सम्पत्तिको पुनर्वितरणमार्फत वा पारिवारिक तथा सार्वजनिक हस्तान्तरणको माध्यमबाट पूरा गर्नुपर्ने अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ ।

सार्वजनिक र निजी उपभोग अलग गरी हेर्दा प्रतिव्यक्ति निजी उपभोग सार्वजनिक उपभोगभन्दा निकै ठूलो देखिएको छ । स्वास्थ्य क्षेत्रमा प्रतिव्यक्ति सार्वजनिक उपभोग योगदानमा निजी उपभोगभन्दा ९०२ एकाइले बढी छ ।

सन् २०२१/२२ मा प्रतिव्यक्ति कुल श्रम आम्दानी लगभग रु ८७ हजार ८१४ रहेको छ । कुल श्रम आम्दानीको लगभग ६९ प्रतिशत हिस्सा तलब तथा ज्यालाको छ भने लगभग ३१ प्रतिशत हिस्सा स्वरोजगारबाट प्राप्त आम्दानीको रहेको छ । उमेर समूह अनुसार हेर्दा २५ देखि ६४ वर्ष उमेर समूहको तलब तथा ज्यालाबाट प्राप्त आम्दानीको हिस्सा (७१%) सबैभन्दा ठूलो रहेको छ भने ६५ वर्ष र माथिका वृद्ध उमेर समूहमा यो हिस्सा सबैभन्दा कम (३५%) रहेको छ ।

यसरी उपभोग र श्रम आम्दानीबीच तुलनात्मक रूपमा ठूलो अन्तर देखिन्छ । देशको कुल उपभोगभन्दा कुल श्रम आम्दानी कम भएकाले ठूलो जीवनचक्र घाटा रहेको प्रतिवेदनमा उल्लेख छ ।

नेपाल श्रमशक्ति सर्वेक्षण सन् २०१७/१८ ले नेपालको बेरोजगारी दर ११ दशमलव चार प्रतिशत देखाउनुले नेपालमा बेरोजगारीका कारण उपभोग र श्रम आयबीच ठूलो खाडल स्थापित भएको छ भन्ने आधार स्पष्ट हुन्छ । अर्थात्, यथोचित रोजगार उपलब्ध नभएको अवस्थामा न्यून तलब र स्वरोजगारको सीमित आम्दानीले गर्दा श्रम आम्दानी आवश्यक आधारभूत उपभोग पूरा गर्न पर्याप्त हुन सकेको छैन ।

“नेपालमा १५ देखि ६४ वर्षका काम गर्न सक्ने उमेर समूह कुल जनसङ्ख्याको ६५ प्रतिशत रहेको छ, जसले आर्थिक वृद्धिका लागि प्रशस्त सम्भावना देखाउँछ । तर यसको प्रभावकारी उपयोगका लागि रणनीतिक नीति हस्तक्षेप आवश्यक छ”, प्रतिवेदनमा भनिएको छ, “श्रम बजारमा श्रम सहभागिता दर ३८ दशमलव पाँच प्रतिशत मात्र छभने युवा बेरोजगारी १२ दशमलव सात प्रतिशत रहेको छ । बेरोजगारीको यो अवस्थाले नेपालमा सीप विकास र रोजगारी सिर्जना कार्यक्रमको अविलम्ब अभिवृद्धि गर्नुपर्ने आवश्यकता प्रस्तुत गर्दछ ।”

प्रतिवेदनअनुसार देशको कुल उपभोगभन्दा श्रम आम्दानी निकै कम छ । काम गर्ने उमेर समूहको हिस्सा बढी भए तापनि सीमित रोजगारी र सीप असमानताले युवा बेरोजगारी बढाइरहेको छ । साथै काम गर्ने उमेर समूहको उल्लेखनीय हिस्सा वैदेशिक रोजगारमा रहेका कारण देशभित्रको आर्थिक क्रियाकलाप अपेक्षित रूपमा फस्टाउन सकेका छैनन् ।


प्रतिक्रिया दिनुहोस्