९ श्रावण २०८३, शनिबार

कार उत्पादकबाट टेक जायन्ट बन्ने दौडमा एक्सपेङ, एआई र रोबोटिक्समा चाल्यो पाइला



काठमाडौं । चीनको प्रमुख विद्युतीय सवारी निर्माता एक्सपेङले आफूलाई केवल कार निर्माता होइन, “फिजिकल आर्टिफिसियल इन्टेलिजेन्स (एआई)” कम्पनीको रूपमा चिनाउने लक्ष्य लिएको जनाएको छ।

कम्पनीले यसै वर्ष रोबोट्याक्सीको सडक परीक्षण सुरु गर्ने र मानवरूपी (ह्युमानोइड) रोबोटको ठूलो मात्रामा उत्पादनको तयारी गरिरहेको बताएको छ।

एक्सपेङका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत हे सियाओपेङले ग्वाङझाउमा आयोजित एक कार्यक्रममा अटो उद्योगमा बढ्दो प्रतिस्पर्धाका बीच कृत्रिम बुद्धिमत्तासँग एकीकृत प्रविधि नै कम्पनीको प्रमुख बल हुने बताए।

उनले भने, ‘हामी अब सस्तो हार्डवेयर मात्र बेच्ने साधारण कार कम्पनी बन्न चाहँदैनौं । हामी एक बलियो पहिचान बोकेको, विश्वव्यापी प्रविधि कम्पनी बन्ने लक्ष्यमा छौं ।’

उनले अटोमोबाइल उद्योगमा तीव्र प्रतिस्पर्धाको बीचमा कृत्रिम बुद्धिमत्तासँग गाँसिएको प्रविधि नै कम्पनीको सबैभन्दा ठूलो शक्ति हुनेमा जोड दिए ।

यसै क्रममा, एक्सपेङले आफैंले विकास गरेको “ट्युरिङ” एआई चिपलाई प्रमुख हतियार बनाएको छ । यो चिपले कम्पनीलाई प्रतिस्पर्धामा स्पष्ट अग्रता दिलाउने उनको दाबी छ । रोबोट र अटोमोबाइल दुवैलाई फिजिकल एआईका मुख्य आधार मान्दै कम्पनीले यी दुई क्षेत्रमा साझा सेन्सर प्रविधि र हार्डवेयरको उपयोग गर्दै ठूलो फड्को मार्ने योजना बनाएको छ ।

रोबोट र अटोमोबाइल दुवै फिजिकल एआईका मुख्य आधार मानिन्छन्, किनकि यी क्षेत्रमा प्रयोग हुने सेन्सर प्रविधि र हार्डवेयर धेरै हदसम्म समान छन्। यही कारण अटो निर्माता कम्पनीहरू गोदाम र कारखानामा प्रयोग हुने रोबोट विकासतर्फ आकर्षित भइरहेका छन्।

एक्सपेङको यो रणनीति टेस्लाका सीईओ एलन मस्कले अघि सारेको मानवरूपी रोबोट र रोबोट्याक्सी विस्तार योजनासँग मिल्दोजुल्दो देखिन्छ। विश्वभर एआईको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा अटो कम्पनीहरू प्रविधि कम्पनीतर्फ रूपान्तरण हुने प्रयासमा छन्।

यसै सन्दर्भमा, चिप निर्माता कम्पनी आर्म होल्डिङ्सले पनि रोबोटिक्स बजारमा आफ्नो उपस्थिति बढाउन छुट्टै फिजिकल एआई इकाइ स्थापना गरेको बताएको छ। अर्काे चिनियाँ अटो निर्माता ली अटोले २०२३ मै एआई केन्द्रित रणनीति सार्वजनिक गर्दै वार्षिक रूपमा ६ अर्ब युआनभन्दा बढी लगानी गर्दै आएको जनाएको थियो।

एक्सपेङको यो कदम चीनको अटो बजारमा जारी दीर्घकालीन मूल्य युद्धका बीच आएको हो, जसले उद्योगको नाफामा नकारात्मक असर पारेको छ। ग्वाङझाउको कार्यक्रममा हे सियाओपेङले कम्पनीका चार परिमार्जित कार मोडल सार्वजनिक गर्दै ३ डी नेभिगेसन, दृष्टि सीमाभन्दा बाहिरका जोखिम चेतावनी र उन्नत स्वचालित ड्राइभिङ प्रणालीजस्ता नयाँ सफ्टवेयर सुविधाहरूमा जोड दिए।

उनका अनुसार एक्सपेङले स्वचालित ड्राइभिङ र मानवरूपी रोबोट विकासका लागि कर्मचारी भर्ना र लगानी बढाइरहेको छ। कम्पनीले २०२६ को दोस्रो अर्धवार्षिकदेखि मानवरूपी रोबोटको ठूलो मात्रामा उत्पादन सुरु गर्ने र रोबोट्याक्सीको सडक परीक्षण छिट्टै थाल्ने जनाएको छ।

आर्थिक रूपमा भने एक्सपेङले चालु वर्षको तेस्रो त्रैमासिकमा ५० मिलियन अमेरिकी डलर नोक्सानी बेहोरेको छ। यद्यपि, हे सियाओपेङले २०२५ को अन्त्यसम्म नाफा–नोक्सानी बराबरीमा पुग्ने अपेक्षा व्यक्त गरेका छन्।

एक्सपेङको यो दूरगामी दृष्टिकोणले चिनियाँ विद्युतीय सवारी क्षेत्रमा मात्र होइन, विश्वव्यापी प्रविधि तथा रोबोटिक्स उद्योगमा समेत नयाँ आयाम थप्ने संकेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्