९ श्रावण २०८३, शनिबार

ब्याजदर ‘कौडीको भाउ’मा झरेपछि मुद्दती निक्षेपमा आकर्षण घट्दो, ५ महिनामै ९५ अर्ब बाहिरियो



काठमाडौं । नेपालका वाणिज्य बैंकहरूमा अधिक तरलता र न्यून ब्याजदरको प्रत्यक्ष असर मुद्दती निक्षेप (फिक्स डिपोजिट) मा देखिन थालेको छ । बैंकहरूले व्यक्तिगत निक्षेपमा औसत ४.८३ प्रतिशत र संस्थागतमा ३.४४ प्रतिशत मात्र ब्याजदर दिन थालेपछि सर्वसाधारण र संस्थागत निक्षेपकर्ताहरूले मुद्दती खातामा पैसा राख्न छाडेका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पछिल्लो पाँच महिनाको तथ्यांकले मुद्दती निक्षेपको ग्राफ ओरालो लागेको देखिन्छ । तथ्यांक अनुसार यस आर्थिक वर्षको सुरु (साउन) मा मुद्दती निक्षेपमा ३१ खर्ब १२ अर्ब ९३ करोड ८५ लाख रुपैयाँ रहेकोमा ५ महिनाको अवधि (मंसिर मसान्त)सम्म आइपुग्दा यो घटेर ३० खर्ब १७ अर्ब २६ करोड ६५ लाख रुपैयाँमा झरेको छ ।

चालु आर्थिक वर्षको पाँच महिनामा मात्रै मुद्दती निक्षेपबाट ९५ अर्ब ६८ करोड  १४ लाख रुपैयाँ बाहिरिएको छ । यो कुल मुद्दती निक्षेपको ३.१ प्रतिशतको गिरावट हो । 

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा पनि मुद्दती निक्षेप ३ प्रतिशत अर्थात् ९६ अर्ब ६ करोड ३० लाख रुपैयाँले घटेको थियो । अघिल्लो वर्षको साउनमा ३१ खर्ब ७७ अर्ब ७२ करोड ९९ लाख रुपैयाँ रहेको मुद्दती निक्षेप ५ महिनामा घटेर ३० खर्ब ८१ अर्ब ६६ करोड ६९ लाख रुपैयाँमा आएको तथ्यांकले देखाएको छ । 

लगातार दुई वर्षको तथ्यांकले ब्याजदर घट्दा मुद्दती निक्षेपमा पैसा थुप्रिने क्रम रोकिएको संकेत गर्दछ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक हेर्दा आवासीय निक्षेपकर्ताहरूले सबैभन्दा धेरै पैसा निकालेका छन् । ५ महिनाको अवधिमा व्यक्तिगत मुद्दती निक्षेप मात्रै यस अवधिमा ९५ अर्ब ६४ करोड २८ लाख रुपैयाँले घटेको छ । 

चालु आर्थिक वर्षको साउनमा ३० खर्ब ९२ अर्ब १४ करोड १३ लाख रुपैयाँ आवसियको मुद्दती निक्षेप रहेकोमा ५ महिनामा ३.१ प्रतिशतले घटेर २९ खर्ब ९६ अर्ब ४९ करोड ८५ लाख रुपैयाँ भएको छ । 

गैर–आवासीय निक्षेपमा भने सामान्य ३ करोड ८६ लाख रुपैयाँको मात्र गिरावट देखिएको छ । साउमा २० अर्ब ७९ करोड ६७ लाख रुपैयाँ रहेको गैर–आवसीय निक्षेप ५ महिनामा ०.२ प्रतिशतले घटेर २० अर्ब ७५ करोड ८१ लाख रुपैयाँ भएको देखिएको छ । 

विगत लामो समयदेखि बैंकिङ प्रणालीमा लगानी योग्य रकम (तरलता) थुप्रिएपछि बैंकहरूले निक्षेपको ब्याजदर लगातार घटाउँदै आएका छन् । कुनै समय १२–१३ प्रतिशतसम्म पुगेको मुद्दती निक्षेपको ब्याजदर अहिले घटेर ५ प्रतिशत भन्दा तल झरेपछि निक्षेपकर्ताहरूले वैकल्पिक लगानीका क्षेत्रहरू खोज्न थालेका हुन् ।

मुद्दती निक्षेपमा पैसा राख्दा महँगी अनुसारको प्रतिफल समेत नपाइने अवस्था आएपछि कतिपय लगानीकर्ता सेयर बजार, घरजग्गा वा अन्य व्यवसायतर्फ मोडिएका छन् । 

ब्याजदर अझै केही समय न्यून रहने प्रक्षेपण गरिएकाले मुद्दती निक्षेपको यो गिरावट आगामी महिनाहरूमा पनि निरन्तर रहने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्