आर्थिक संकटबाट सुरु भएको इरानी आन्दोलनले लियो उग्र राजनीतिक रूपः ५०० भन्दा बढीको मृत्यु, १० हजारभन्दा बढी गिरफ्तार - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आर्थिक संकटबाट सुरु भएको इरानी आन्दोलनले लियो उग्र राजनीतिक रूपः ५०० भन्दा बढीको मृत्यु, १० हजारभन्दा बढी गिरफ्तार



काठमाडाैं । इरानमा विगत दुई सातादेखि जारी सरकार विरोधी प्रदर्शनले उग्र रूप लिँदा ५०० भन्दा बढी मानिसको मृत्यु भएको छ।

सन् २०२२ पछिको यो सबैभन्दा ठूलो नागरिक आन्दोलनले इरानको इस्लामिक सत्तालाई कडा चुनौती दिएको छ।

यसैबीच, इरानी प्रशासनले यदि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीको पक्षमा सैन्य हस्तक्षेप गरेमा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडाहरूमा आक्रमण गर्ने चेतावनी दिएको छ।

हिंसा र हताहतीको भयावह अवस्था
अमेरिकास्थित मानव अधिकारवादी संस्था ‘एचआरएएनए’ का अनुसार हालसम्म ४९० प्रदर्शनकारी र ४८ सुरक्षाकर्मी गरी ५३८ जनाको मृत्यु भइसकेको छ। प्रदर्शनका क्रममा १०,६०० भन्दा बढी मानिस पक्राउ परेका छन्।

यद्यपि, इरान सरकारले आधिकारिक तथ्यांक सार्वजनिक नगरेको हुनाले यी संख्याहरूको स्वतन्त्र पुष्टि हुन बाँकी छ।

बढ्दो महँगीको विरुद्धमा डिसेम्बर २८ बाट सुरु भएको यो आन्दोलन अहिले सन् १९७९ को इस्लामिक क्रान्तिपछि शासन गरिरहेका धार्मिक नेताहरूको विरुद्धमा केन्द्रित भएको छ।

अमेरिका र इरानबीचको वाकयुद्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा स्वतन्त्रताको लहर आएको भन्दै अमेरिका सहयोगका लागि तयार रहेको बताएका छन्।

ट्रम्पले मंगलबार इरानविरुद्ध सैन्य हमला, साइबर हतियारको प्रयोग, थप नाकाबन्दी वा आन्दोलनकारीलाई अनलाइन सहयोग गर्ने जस्ता विकल्पहरूमाथि छलफल गर्ने तयारी गरेका छन्।

यसको कडा प्रतिवाद गर्दै इरानी संसदका सभामुख मोहम्मद बाकर कालीबाफले वासिङ्टनलाई गलत अनुमान नगर्न चेतावनी दिएका छन्। ‘यदि इरानमाथि आक्रमण भयो भने, इजरायलसहित क्षेत्रमा रहेका सबै अमेरिकी सैन्य अखडा र जहाजहरू हाम्रो वैध निशाना हुनेछन्’ उनले भनेका छन्।

आन्तरिक दमन र इन्टरनेट ब्ल्याकआउट

इरानी अधिकारीहरूले आन्दोलन दबाउन बल प्रयोग गरिरहेका छन्। बिहीबारदेखि देशभर इन्टरनेट सेवा ठप्प पारिएको छ, जसका कारण सूचना प्रवाहमा अवरोध पुगेको छ।

यद्यपि, सामाजिक सञ्जालमा बाहिरिएका भिडियोहरूमा राजधानी तेहरान र उत्तर-पूर्वी सहर मशहदमा प्रदर्शनकारीहरूले नाराबाजी गरिरहेको र सडकमा आगो बालेको देखिन्छ।

राज्य सञ्चालित सञ्चारमाध्यमले भने प्रदर्शनकारीलाई “सशस्त्र आतंकवादी” को संज्ञा दिएको छ। सरकारले अमेरिका र इजरायलको समर्थनमा भएको भनिएको यस दङ्गा विरुद्ध सोमबार देशव्यापी र्‍याली निकाल्न आह्वान गरेको छ। साथै, सहिद हरूको सम्मानमा तीन दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ।

अन्तर्राष्ट्रिय प्रतिक्रिया र क्षेत्रीय सुरक्षा
इजरायल: इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच सम्भावित सैन्य हस्तक्षेपबारे छलफल भएको छ। इजरायली सेना उच्च सतर्कतामा रहेको र आवश्यकता परे कडा जवाफ दिने तयारीमा रहेको बताइएको छ।

बेलायत: लण्डनस्थित इरानी दूतावासमा प्रदर्शनकारीले इरानको झण्डा हटाएर सन् १९७९ पूर्वको झण्डा राखेपछि र बेलायती विदेशमन्त्रीको टिप्पणीलाई लिएर तेहरानले बेलायती राजदूतलाई स्पष्टीकरणका लागि बोलाएको छ।

अमेरिका : केही अमेरिकी सिनेटरहरूले सैन्य हमलाको विरोध गर्दै यसले इरानी जनतालाई थप आक्रोशित बनाउने र शासनको पक्षमा उभिन बाध्य पार्ने चेतावनी दिएका छन्। तर, सिनेटर लिन्डसे ग्राहम जस्ता नेताहरूले भने इरानी नेतृत्वलाई नै निशाना बनाउनुपर्ने सुझाव दिएका छन्।

विज्ञहरूका अनुसार, यो प्रदर्शनले इरानी सत्तालाई कमजोर बनाए पनि तत्कालै सत्ता परिवर्तन हुने सम्भावना न्यून छ। पूर्व अमेरिकी कूटनीतिज्ञ एलन आयरका अनुसार इरानी सुरक्षा संयन्त्र अझै पनि एकताबद्ध देखिएको छ र संगठित विपक्षी शक्तिको अभाव छ।

इरानका राष्ट्रपति मसुद पेजेस्कियानले परिवारहरूलाई आफ्ना छोराछोरीलाई प्रदर्शनमा सहभागी हुन नदिन आग्रह गर्दै सरकार आर्थिक समस्या समाधान गर्न र जनताका कुरा सुन्न तयार रहेको बताएका छन्।


प्रतिक्रिया दिनुहोस्