ट्रम्पले आफैलाई घाेषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

ट्रम्पले आफैलाई घाेषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति



काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ घाेषणा गरेका छन् ।

साेमबार बिहान ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा विकिपिडियाको स्क्रिनसटजस्तो देखिने भेनेजुएलाको ‘कार्यवाहक राष्ट्रपति’ लेखिएकाे तस्विर सार्वजनिक गरेका हुन् ।

ट्रम्पले राष्ट्रिय आपतकाल घोषणा गर्ने र संयुक्त राज्य अमेरिकामा रहेको भेनेजुएलाको तेल राजस्वको सुरक्षा गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेर भविष्यमा भेनेजुएलाको तेल बिक्रीमा नियन्त्रण कडा पार्ने कदम चालेको दुई दिनपछि मात्र यो पोस्ट आएको हो।

कुनै क्याप्सन नराखी पोस्ट गरिएको उक्त तस्बिर लाखाैंले हेरेका छन् भने हजाराैँ भन्दा बढी प्रयोगकर्ताले प्रतिक्रिया दिएका छन्।

यसअघि उनले दक्षिण अमेरिकी देश भेनेजुएलाका तेल सम्पत्तिसँग सम्बन्धित राष्ट्रिय आपतकाल घोषणा गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए। उक्त आदेशले संयुक्त राज्य अमेरिकामा राखिएका भेनेजुएलाका तेल आम्दानीमाथि अमेरिकी नियन्त्रण कडा बनाउँदै, ऋणदाताहरूलाई ती रकममा पहुँच नदिन र बाँकी ऋण वा कानुनी दाबी भुक्तानी गर्न प्रयोग गर्न नपाउने व्यवस्था गरेको छ।

ह्वाइट हाउसको तथ्यपत्रअनुसार, प्रशासनले यो कदम अमेरिकी परराष्ट्र नीतिका उद्देश्यअनुसार ती रकम प्रयोग गर्न सुरक्षित राख्ने उद्देश्यले लिइएको बताएको छ। आदेशमा विदेशका सरकारी खाताहरूमा राखिएका तेल आम्दानी अन्ततः भेनेजुएलाभित्र ‘शान्ति, समृद्धि र स्थायित्व’ प्रवर्द्धन गर्न प्रयोग गरिनुपर्ने उल्लेख छ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकी सेनाले पक्राउ गरेको एक सातासमेत नबित्दै ट्रम्पको यस्तो पोस्ट सार्वजनिक भएको हो । कारबाहीपछि ट्रम्पले संक्रमणकालीन अवधिमा संयुक्त राज्य अमेरिकाले अस्थायी रूपमा भेनेजुएलाको प्रशासन सम्हाल्ने बताएका थिए।

मादुरोको गिरफ्तारीपछि भेनेजुएलामा डेल्सी रोड्रिगेज हाल कार्यवाहक राष्ट्रपतिको भूमिकामा रहेकी छन् ।


प्रतिक्रिया दिनुहोस्