ट्रम्पले घाेषणा गरे इरानका व्यापारिक साझेदार देशमाथि २५ प्रतिशत भन्सार शुल्क, चीन र भारत पनि दबाबमा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इरानसँग व्यावसायिक सम्बन्ध भएका देशहरूबाट आउने सामानमा २५ प्रतिशत भन्सार शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेका छन्।
‘इस्लामिक गणतन्त्र इरानसँग व्यापार गर्ने जुनसुकै देशले संयुक्त राज्य अमेरिकासँग गर्ने सम्पूर्ण व्यापारमा २५ प्रतिशत भन्सार शुल्क तिर्नुपर्नेछ। यो आदेश अन्तिम र निर्णायक छ’, ट्रम्पले भनेका छन् ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत यो शुल्क “तत्काल लागू हुने” बताएका छन् । इरानमा सरकार विरोधी प्रदर्शन तेस्रो हप्तामा प्रवेश गरिरहँदा यो कदमले तेहरानमाथि थप दबाब पुग्ने देखिएको छ।
ह्वाइट हाउसले यस भन्सार शुल्कबारे थप जानकारी साझा गरेको छैन, जसमा कुन देशको आयात सबैभन्दा बढी प्रभावित हुनेछ भन्ने स्पष्ट छैन।
चीन इरानको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो, त्यसपछि इराक, संयुक्त अरब इमिरेट्स (युएई), टर्की र भारत आउँछन्।
तेहरानले प्रदर्शनकारीहरूको हत्या गरेमा सैन्य हस्तक्षेप गर्ने धम्की दिएको केही समयपछि ट्रम्पको यो नयाँ भन्सार घोषणा आएको हो। ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले सोमबार हवाई हमला लगायतका सैन्य विकल्पहरू अझै पनि खुल्ला रहेको बताएकी छन्।
आर्थिक संकट
इरानको आणविक कार्यक्रमका कारण लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्धहरूले देशको अर्थतन्त्रमा गम्भीर असर पारेको छ, जुन सरकारी कुशासन र भ्रष्टाचारका कारण पहिले नै कमजोर थियो।
गत डिसेम्बर २८ मा खुला बजारमा अमेरिकी डलरको तुलनामा रियालको मूल्यमा पुनः भारी गिरावट आएपछि तेहरानका पसलेहरू आक्रोश व्यक्त गर्दै सडकमा उत्रिएका थिए। इरानी मुद्रा गत वर्षको तुलनामा रेकर्ड न्यून स्तरमा झरेको छ भने मुद्रास्फीति ४० प्रतिश भन्दा माथि पुगेको छ, जसका कारण खानेतेल र मासु जस्ता दैनिक उपभोग्य वस्तुहरूको मूल्यमा तीव्र वृद्धि भएको छ।
इरानको वर्तमान अवस्था
इरानी मुद्रा ‘रियाल’को मूल्यमा आएको भारी गिरावटप्रति आक्रोशित भएर डिसेम्बरको अन्त्यमा सुरु भएको प्रदर्शन अहिले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको वैधताको संकटका रूपमा परिणत भएको छ।
अमेरिकास्थित ‘ह्युमन राइट्स एक्टिभिस्ट न्यूज एजेन्सी’ का अनुसार इरानमा झण्डै ५०० प्रदर्शनकारी र ४८ सुरक्षाकर्मीको मृत्यु भएको पुष्टि भएको छ। यद्यपि मृतकको संख्या योभन्दा धेरै बढी हुनसक्ने बताइएकाे छ। यस्तै हजारौँ मानिस पक्राउ परेको रिपोर्ट गरिएको छ।
इरानमा इन्टरनेट ब्लकआउट गर्दा यथेस्ट सूचना पाउन नकेकाे र पुष्टि गर्न गाह्रो भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । यसैकारण अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले इरान भित्रबाट रिपोर्टिङ गर्न सकिरहेका छैनन्।













