अन्तत: फुट्यो कांग्रेस, कारण र परिणाममाथि अन्योल कायमै - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

अन्तत: फुट्यो कांग्रेस, कारण र परिणाममाथि अन्योल कायमै



काठमाडौँ । नेपालमा राजनीतिक दलको उदय र प्रजातान्त्रिक अभियानको मुख्य खेलाडी मानिएको र विघटित प्रतिनिधी सभाको सबैभन्दा ठूलो राजनीतिक दल नेपाली कांग्रेस आजबाट तेस्रो पल्ट औपचारिक रुपमा विभाजन भएको छ ।

कांग्रेसको केन्द्रिय समिति बैठकले बुधबार महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा भण्डारी तथा सहमहामन्त्री फर्मुला मनसुरलाई आगामी पाँच वर्षसम्म पार्टीको साधारण सदस्यसमेत नरहने गरी ‘अनुशासनको कारबाही’ गरेको छ । उता भृकुटीमण्डपमा भइरहेको अर्को पक्षको विशेष महाधिवेशनले गगन थापालाई निर्विरोध सभापतिमा निर्वाचित गरिसकेको छ ।

उक्त महाधिवेशनमा पहिलो दिन ५७ प्रतिशतको प्रतिनिधित्व रहेको भनिएको थियो भने भोलिपल्ट ६३ प्रतिशत पुगेको भनिएको थियो । त्यसपछि कुनै आधिकारिक आँकडा आएको छैन । संस्थापन पक्षले दुई तिहाई अर्थात् ६७ प्रतिशत महाधिवेश प्रतिनिधीलेमात्रै पुरानो केन्द्रिय कार्यसमिति भंग गर्नसक्ने दाबी गर्दै आएका छन् । जुन, महाधिवेश आयोजकहरुले दाबी देखाउन सकेका छैनन् । उनीहरुले साधारण बहुमतको कुरा अघि बढाएका छन् ।

बुधबार भृकुटीमण्डपको ‘हल’ले गगनलाई सभापति बनाएको छ भने प्रदीप पौडेल र गुरुराज घिमिरेलाई महामन्त्री बनाएको छ । विश्वप्रकाश उपसभापति बन्ने पक्कापक्की भएको छ । अर्को उपसभापतिमा फर्मुला मन्सुर आउनसक्ने ठानिएको छ । महिला/मधेशी/जनजातिबाट कोही एक जना ल्याउन खोजिएको भनिएको छ । उक्त भेलाले पदाधिकारी तथा सदस्य गरी कुल १३४ पद पूर्ति गर्नुपर्ने भन्दै बुधबार राती ९ बजेदेखि मतदान हुने कार्यतालिका रहेको जनाइएको छ ।

यस घटनालाई सामाजिक सञ्जालमा ज्यादातर मानिसहरुले ‘गगन–विश्वको असाधारण विजय’का रुपमा दर्शाएका छन् । कांग्रेसभित्रको विद्रोह सफल पारेको र देउवा खेमाका नेताहरुबाट कांग्रेसलाई ‘स्वतन्त्र बनाएको’ अभिव्यक्ति उनीहरुमा देखिन्छ । भृकुटीमण्डपमा पनि ‘प्रष्ट कांग्रेस र भ्रष्ट कांग्रेस छुट्टिएको’ भनेर नवीन भाष्य स्थापित हुँदै गरेका खबरहरु पनि आएका छन् ।

आधिकारिकताको अन्योल

यो विवादले अब नेपाली कांग्रेसको नाम, चार तारे झण्डा र निर्वाचन चिह्न ‘रूख’ कसको हातमा पुग्छ भन्ने निक्र्योल भएको छैन । दुबै पक्षले आफ्ना आफ्ना निर्णयहरु निर्वाचन आयोगमा बुधबार नै जानकारी गराइसकेको भनेका छन् ।

तर समस्या के छ भने, निर्वाचन आयोगले प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने विधी)का लागि उम्मेदवारी दर्ताको समय माघ ६ गतेका लागि तोकेको छ । माघ ९ गते उम्मेदवारको अन्तिम सूची प्रकाशित गरेर चुनाव चिन्ह दिने कार्यतालिका छ । तर माघको १ गते माघे संक्रान्ति, ३ गते शनिबार र ५ गते सोनम ल्होसार गरेर बाँकी ६ मध्ये ३ दिन सार्वजनिक बिदा परेको छ ।

यही ३ दिनमा ‘कुनचाहीँ असली कांग्रेस हो’ भन्ने विवाद समाधान भइहाल्नेमा धेरैले शङ्का व्यक्त गरेका छन् । यदी गगन–विश्वले गरेको विद्रोहलाई निर्वाचन आयोगले स्वीकार गरेन भने उनीहरुले यसअघि घोषणा गरेजस्तै साँच्चै आगामी फागुन २१ को चुनाव लड्नै पाउने छैनन् । त्यसैले अब चुनाव सार्ने कोसिसमा उनीहरु र उनीहरुलाई पृष्ठापोषण गरिरहेको ठानिएको पश्चिमा शक्तिहरु सक्रीय हुनसक्ने विश्लेषण पनि कतिपयको छ ।

विभाजन अघिको बार्गेनिङ

कांग्रेस विभाजन अघि भिन्नभिन्न विषय र बूँदामा मोलमोलाइ भएको खबरहरु मिडियामा छापछाप्ति आएका थिए । तर यसपल्ट अचम्मसँग समग्र मूलधारका मिडियाले गगन–विश्वको समर्थनमा खबरहरु सम्प्रेषित गरे । सायद त्यही कारण, लामो समयदेखि राजनीतिक पत्रकारिता गरिरहेकी विनु सुवेदीले सामाजि सञ्जाल फेसबूकमा लेखेकी छन्– ‘कांग्रेस विशेष महाधिवेशनको सन्दर्भमा सञ्चारमाध्यमका खबरभन्दा गगन थापाका भाषण सन्तुलित सुनिए ।’

यस प्रकारको ‘असन्तुलित’ सञ्चारमाध्यममा आएका खबरहरु अनुसार गगन–विश्वले ८ बूँदे मागपत्र देउवासमक्ष राखेका थिए । त्यसमा विशेष महाधिवेशनको स्वामित्व लिने, प्रस्तावहरुको कार्यान्वयन गर्ने, सभापतिले सक्रीय भूमिका निर्वाह नगर्ने र उमेदवारीपत्रमा हस्ताक्षर पनि नगर्ने, उमेदवार चयन गर्न संसदीय बोर्ड गठन गर्ने, एक ढिक्का भएर चुनावमा जाने, निर्वाचनअघि कुनै पनि दलसँग गठबन्धन नगर्ने, आगामी निर्वाचनमा प्रधानमन्त्रीको उमेदवार घोषणा गरेर जाने, कार्यवाहक सभापति र दुई महामन्त्रीसमेत दुबै पक्षबाट १–१ जना (आफ्नो पक्षको बहुमत पुग्ने गरी) को कार्यान्वयन संरचना गठन गर्ने माग गरिएको थियो ।

त्यसमध्ये देउवाले आफू अन्तिम पल्ट चुनाव उठ्ने र अहिले नै गगनलाई प्रधानमन्त्रीको उमेदवार घोषणा गरेर चुनावमा नजाने बताएका थिए । बाँकी सबै मुद्दामा आफू तयार भएको भनेर देउवाले अत्यन्त लचकता अपनाएका खबरहरु सामाजिक सञ्जाल एवम् मिडियामा आएका छन् । तथापि, कयौँ मिडियाले देउवालाई ‘राजनीतिबाटै अवकाश नलिएको’ भनेर असाध्यै आलोचना गरेका छन् ।

गगनको आकांक्षा : भाजपा स्वरुपको ‘सर्वसत्ता’

भृकुटीमण्डपको भेलाले नयाँ सभापति चुनेका गगन थापा पार्टीमा केवल सभापति वा प्रधानमन्त्रीमात्रै बन्न चाहिरहेका छैनन् । उनले आफ्नो सत्ता स्थिापित गर्न खोजेको उनी निकट कांग्रेसीहरुले पहिलेदेखि नै बताउँदै आएका थिए ।

उनीहरुको बुझाइमा भारतमा नरेन्द्र मोदीले चलाएको ‘सर्वसत्ता’ आफ्नो हातमा लिने कोसिसमा गगन छन् । अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापति रवि लामिछानेजस्तै ‘सिङ्गल टावर’ बन्ने बाटोमा उनी देखिएको कांग्रेसीहरुको बुझाइ छ । ‘पार्टी भनेकै गगन हो र गगन भनेकै पार्टी हो’ भन्ने भाष्य स्थापित गर्नका लागि आफू समानका व्यक्तित्वहरुलाई परास्त गरेर अगाडी निस्कनु पर्ने बाध्यता गगनसँग थियो ।

विशेष महाधिवेशनबाट निर्विरोध सभापति चुनिएपछि गगन :

यस विभाजनले अब गगन थापा उनको पार्टीमा ‘सिंगल फेस’ बनेर उदाएका छन् । भृकुटीमण्डपमा ‘हाम्रा नेता– गगन, विश्व’ भनेर नारा गुञ्जिए पनि विस्तारै विश्वप्रकाश भण्डारीको भूमिका कमजोर हुँदै जाने थापा निकटहरु बताउँछन् । आफ्नो जनाधार र संगठन नै नभएका विश्वप्रकाशलाई मोदीकै ‘स्टाइल’मा पन्धौं महाधिवेशनबाट सभापति बनाएर आफू पुरापुर राजनीतिक सत्ता चलाउने तयारीमा गगन छन् ।

यसका लागि सकभर नयाँ मान्छेहरुलाई चुनावमा टिकट दिने र आफैँले व्यापक प्रचार गरेर चुनाव जित्न कोसिस गर्ने उनको तयारी छ । अर्कातिर राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ महानगरपालिकाका प्रमुखलाई आफ्नो दलबाट भावि प्रधानमन्त्रीको उमेदवार बनाएको छ । अब उनी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने तयारीमा छन् । उनले चुनाव हारे भने स्वाभाविक रुपमा रास्वपा र गगन नेतृत्वको कांग्रेसले सरकारमा गठबन्धन गरेर जाने संभावना रहेको थापा निकटहरुको भनाइ छ ।

बालेनले चुनाव जितेर आए भने पनि गगन र बालेनबीच प्रधानमन्त्रीको प्रतिस्पर्धा हुनसक्छ । कुनै एक दलले बृहत्तर बहुमत हासिल नगरेको अवस्थामा यी दुई राजनीतिक शक्तिबीच चुनावपछि नयाँ सरकार बनाउन गठबन्धन हुने उच्च संभावना रहेको जानकारहरु बताउँछन् । ‘यी दुबै दल र शक्तिलाई अहिले जुन बाह्य शक्तिले पृष्ठपोषण गरिरहेको छ, उनीहरुले जसरी पनि यी दुई नेता (गगन र रवि)लाई एक ठाउँमा ल्याउने छ’, उनले अर्थपथसँग भने ।

नेपालमा कम्युनिष्ट र लोकतान्त्रिक दलहरुबीचको मिलेमतोलाई चिर्न भइरहेको प्रयत्नको उपजका रुपमा अहिले यी परिणामहरु देखिएको भन्दै ती जानकार भन्छन्, ‘अब उनीहरुलाई कुनै पनि हालतमा कम्युनिष्ट सहकार्य गर्ने सुविधा छैन । यी दुई दल अब प्रजातान्त्रिक ध्रुविकरणमा अगाडी आउने संभावना बलियो बनेको छ ।’

यद्यपि, जुनसुकै हालतमा पनि आफ्नो दलको ‘नेता’ होइन, ‘शासक’ बन्ने सोच गगनमा देखिएको छ । यो सोच फलिभूत भयो भने राजनीतिक स्थायित्वका लागि अत्यन्त राम्रो हो । तर नेपाली राजनीतिमा त्यसो हुन कति सहज छ भन्ने चाहीँ हेर्न बाँकी छ । तथापि, अहिले शेरबहादुर देउवाको ‘अधिकतम लचकता’ पश्चात् पनि पार्टी विभाजन नै गरेर जाने गगनको रणनीतिका पछाडी यो आकांक्षा नै मुख्य कारण रहेको जानकारहरुको बुझाइ छ ।

जो कहिल्यै देउवासँग थिएनन्

तेह्रौं महाधिवेशनमा कुल ३१६१ महाधिवेशन प्रतिनिधिमध्ये पहिलो चरणको निर्वाचनमा ३१४८ मत खसेको थियो। त्यसमध्ये १०० भोट बदर हुँदा देउवाले देउवाले १५६४, रामचन्द्र पौडेलले ११६० र कृष्णप्रसाद सिटौलाले ३२४ मत ल्याएका थिए । अर्थात् देउवाको पक्षमा ४९.६ प्रतिशत प्रतिनिधी थिए ।

दोस्रो चरण मतदानमा भने ३१२० मात्रै मत खसेको थियो। सिटौलाको समर्थन पाएका देउवाले १८२२ र पौडेलले १२९६ मत हासिल गरे ।

भृकुटीमण्डपमा भेला भएका महाधिवेशन प्रतिनिधी :

चौधौँ महाधिवेशनमा आउँदा देउवाको मत थोरै अन्तरले घटेको थियो । त्यसबेला कुल ४,७४३ जना महाधिवेशन प्रतिनिधिमध्ये ४,६७९ ले मतदान गरेका थिए। त्यसमध्ये ७६ मत बदर भएको थियो।

यसमा देउवाले २,२५८ अर्थात् ४८.२५ प्रतिशत मत ल्याएका थिए। प्रतिस्पर्धी शेखर कोइरालाले १,७०२ भोट अर्थात् ३६.९५ प्रतिशत मत प्राप्त गरे। अरु प्रतिस्पर्धीहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले क्रमश: ३७१, २५० र २२ मत प्राप्त गरेका थिए ।

त्यस बखत पनि दोस्रो चरणको मतदान भयो, जसमा प्रकाशमान सिंह, विमलेन्द्र निधिले देउवालाई समर्थन गरिदिए । दोस्रो चरणको निर्वाचनमा सभापति पदमा कुल ४६२३ मत खसेको थियो। त्यसमध्ये ३५ मत बदर भएको थियो।

यसमध्ये देउवा २७३३ मत (कुल खसेको मतको ५९.१२ प्रतिशत) ल्याएर कांग्रेस सभापतिमा दोस्रोपटक निर्वाचित भएका हुन्। देउवाले एघारौँ महाधिवेशनमा गिरिजाप्रसाद कोइराला र बाह्रौं महाधिवेशनमा सुशील कोइरालासँग प्रतिस्पर्धा गरे पनि दुई पल्टै पराजित भएका थिए । कोइराला परिवारबाट संस्थापन नेतृत्वको उमेदवार वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल बनेपछि कांग्रेसमा देउवाले जरा गाडेका हुन् ।

यस तथ्यले के देखाउँछ भने, देउवा सभापति बन्दा पनि उनी जहिल्यै प्रतिनिधीहरुबीच अल्पमतमा थिए । अहिलेका महाधिवेश प्रतिनिधीमध्ये करीब ५२ प्रतिशत त चौधौँ महाधिवेशनमा नै देउवाको विरुद्ध खडा भएका थिए । तिनै मानिसहरु अहिले गगन–विश्वको पक्षमा देखिएको देउवा खेमाको बुझाइ छ ।

यही कारण पनि देउवा पक्ष आफूहरुको सम्पूर्ण अस्तित्व नै धरासायी हुने गरी गगन–विश्वका सामुन्न ‘समर्पण’ गर्न तयार नभएको देउवा पक्षका युवा नेताहरु बताउँछन् ।

२०५९ मा कांग्रेस विभाजन हुँदाको खबर यसरी छापिएको थियो :

संसद पुन:स्थापना र राजसंस्था पुनर्वहालीको त्रास

केही हप्ता अघिसम्म ‘विशेष महाधिवेशन’को मुद्दाबाट पछि हटिसकेको देखिएका गगन–विश्वको जोडी एकाएक विशेष महाधिवेशनमा उत्रिएको र पार्टी सभापतिको अधिकतम लचकतालाई समेत लत्याएर दल विभाजन गरेको घटनालाई कतिपय ‘संसद पुन:स्थापना’बारे देउवाको तयारीको परिणाम बताएका छन् ।

केही समयअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेपछि देउवाले आफ्ना केही नेताहरुलाई संसद पुन:स्थापनाको मागसहित अदालत जान लगाएका थिए । यता, फागुन १ गतेबाटै दुर्गा प्रसाईँले आन्दोलन घोषणा गरेका छन् भने राजसंस्था पुन:स्थापनाका मागहरु पनि जोडतोडले उठ्न थालेका छन् । जेनजी पुस्ताकै कतिपय संगठनहरु राजसंस्थाको पक्षमा उभिन थालेका छन् ।

यसै पनि नेपाली सेना ‘राजसंस्था पुन:स्थापना नभएमा देशको सार्वभौमिकता जोखिममा धकेलिन थालेको’ बुझाइमा पुगेको अनुमान लगाइएको छ । जेनजी आन्दोलनपछि सेनाले राजसंस्था पुन:स्थापनाका लागि भनेर नारायणहिटी दरबार सफाई गरिसकेको अवस्थामा अमेरिकी राजदूतले सैन्य मुख्यालय पुगेरै सेना प्रमुखलाई धम्क्याएको भनेर दुर्गा प्रसार्इंले सार्वजनिक रुपमा बोलिसकेका छन् ।

अहिले छिमेकी भारत र चीन तथा रुस पनि नेपालमा राजसंस्थाको पक्षमा उभिएको बुझाइ पश्चिमा शक्तिहरुको रहेको जानकार बताउँछन् । पूर्वराजा ज्ञानेन्द्र शाहले पनि आफू पुन: राजगद्दीमा फर्किनका लागि राजनीतिक दलहरुबीच स्वीकार्यता हुनुपर्ने भनेका छन् । शाहले पछिल्लो समय आफ्नो गतिविधी बढाउँदै पनि लगेका छन् । त्यसैले राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रविन्द्र मिश्रले हालैमात्र राजसंस्था फर्काउने तयारी ‘भित्रभित्रै निकै अघि बढिसकेको’ र अब छिट्टै त्यो दिन आउने आशा गरेको बताएका छन् ।

यी सबै घटनाले सम्भव भए राजसंस्था नै फर्किने, त्यसो नभए पनि कम्तिमा संसद पुन:स्थापना हुने वातावरण बन्दै गएको छ । यस्तो बेला पुरानो संसदको सबैभन्दा ठूलो दल कांग्रेसलाई विभाजन गर्न नसकेमा परिस्थिति पश्चिमा शक्तिको अनुकुलताबाट बाहिरिन सक्ने जोखिम बढेपछि उनीहरुले पछिल्ला दुई हप्तामा गगन–विश्वमाथि असाध्यै दबाब बढाएको यस्ता विश्लेषकको भनाइ छ । तर यस प्रकारको बुझाईलाई अरु धेरै विश्लेषकहरु भने ‘अतिशयोक्ती’ मान्छन् ।

यसमा अर्को संयोग के मिलेको छ भने, गगन–विश्वले पार्टी विभाजन गरेकै दिन रास्वपा सभापति रावि लामिछानेलाई पनि सरकारले कठोर मुद्दाहरुबाट मुक्ति दिने निर्णय गरेको छ । महान्यायाधिवक्ताको कार्यालयले रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिन सम्बन्धित सरकारी वकिलका कार्यालयहरुलाई स्वीकृति दिने निर्णय बुधबार गरेको छ । यो निर्णयसँगै कास्की, रुपन्देही, काठमाडौं र पर्साका सरकारी वकिलको कार्यालयले संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिनेछन् ।

यी दुई घटना एकै दिन अघि बढ्नुलाई ‘रहस्यमय’ भनेर सामाजिक सञ्जालमा चर्चा चुलिएको छ । रास्वपाले प्रधानमन्त्रीको उमेदवार बनाएका पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह राजंस्था र सेनाप्रति तुलनात्मक रुपले ज्यादा नरम देखिन्छन् । त्यसैले पश्चिमा शक्तिहरुले पुराना राजनीतिक शक्तिप्रति असहिष्णु देखिएका स्वयम् रवि र कांग्रेसबाट गगनलाई ‘छनोटको विकल्प’मा अघि सार्न खोजेको देख्नेहरु पनि छन् ।


प्रतिक्रिया दिनुहोस्