कञ्चनपुर–कमला सडक विस्तारः पाँच वर्षमा ६९ प्रतिशत प्रगति - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

कञ्चनपुर–कमला सडक विस्तारः पाँच वर्षमा ६९ प्रतिशत प्रगति



सिरहा । नेपाल सरकारको रूपान्तरणकारी गौरवको आयोजनाअन्तर्गत कञ्चनपुर–कमला सडक खण्ड विस्तार तथा स्तरोन्नतिको काम सुरु भएको पाँच वर्ष पुग्दा ६९ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । एसियाली विकास बैंकको मुख्य लगानीमा निर्माणाधीन ८६ दशमलव ८३ किलोमिटर लामो यो खण्डको काम तीन पटक म्याद थपिँदा पनि अझै पूर्ण हुनसकेको छैन ।

सन् २०२० जुनमा चाइना रेलवे नं २ इञ्जीनियरिङ ग्रुपसँग भएको सम्झौताअनुसार यो सडक २८ अक्टोबर २०२३ मै सम्पन्न हुनुपर्ने थियो । साइट क्लियरेन्स र कोरोना महामारीको कारण देखाउँदै पहिलो पटक १४ महिना र दोस्रो पटक १२ महिना म्याद थपिएको थियो । हालै आगामी जुनसम्मका लागि तेस्रो पटक छ महिना म्याद थपिएको छ ।

कूल रु १६ अर्ब आठ करोड ५० लाखभन्दा बढी लागतको यो परियोजनामा पूर्वी खण्ड (कञ्चनपुर–कुसहा ३९ दशमलव ४२ किमि) र पश्चिम खण्ड (कुसहा–कमला ४७ दशमलव चार किमी) गरी दुई भागमा काम भइरहेको छ ।

पूर्वी खण्डः ६७ प्रतिशत प्रगति

लहानस्थित पूर्वी खण्ड कार्यालयका सूचना अधिकारी इञ्जीनियर राजीव झाका अनुसार यो खण्डमा हालसम्म ६७ प्रतिशत भौतिक प्रगति भएको छ । चौबिस किलोमिटर सडक चार लेनमा कालोपत्र भइसकेको छ भने ११३ कल्भर्ट र २० पुलमा सवारीसाधन गुड्न थालेका छन् ।

छ लेन बनाउनुपर्ने बजार क्षेत्र कञ्चनपुर, महुली, रुपनी, कल्याणपुर लगायतमा भने स्थानीय अवरोधका कारण काम सुस्त छ । इञ्जीनियर झाले भने , “प्राविधिक रूपले अनावश्यक ठाउँमा पनि नाला बनाउन स्थानीयको दबाब र विभिन्न अवरोधले गर्दा काम नियमित हुनसकेको छैन, यद्यपि थपिएको म्यादभित्रै काम सक्ने गरी लागेका छौँ ।”

पश्चिम खण्डः ओभरपास र डिजाइनको सकस

पश्चिम खण्ड मिर्चैया कार्यालयको रिपोर्टअनुसार गत असोज मसान्तसम्म ३० दशमलव ८५ किलोमिटर चार लेन सडक निर्माण भएको छ । एक सय १२ कल्भर्ट र २५ पुलमध्ये १२ सञ्चालनमा आइसकेका छन् । तर, गोलबजार खण्डमा डिजाइन स्वीकृतिमा ढिलाइ हुँदा कामले गति लिन सकेको छैन ।

कार्यालयका सूचना अधिकारी अनुपम साहका अनुसार लहान र मिर्चैयामा ओभरपासका लागि पाइल फाउण्डेसनको काम भइरहेको छ । लहानमा माटो कमजोर देखिएकाले २० वटा ग्राभेल फाउण्डेसनको काम गरिएको उनले बताए । लहान बसपार्क र प्रादेशिक अस्पताल अगाडि आकाशे पुलको जग निर्माण पनि सकिएको छ ।

मुख्य सडक चार लेन र बजार क्षेत्रमा छ लेनको हुने यस सडकमा पुल, कल्भर्ट र ओभरपास जस्ता संरचनाको अन्तिम फिनिसिङका काम अझै बाँकी रहेका छन् । एसियाली विकास बैंकको ७१ दशमलव २२ प्रतिशत ऋण सहयोग र नेपाल सरकारको २८ दशमलव ७८ प्रतिशत लगानी रहेको यो सडक विस्तारमा भेरिएसनसहित करिब रु १६ अर्ब आठ करोड ५० लाख लागत लाग्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्