रविका मुद्दा फिर्ता गर्नेगरी भएको महान्यायाधिवक्ताको निर्णय विरुद्ध युवराज सफलले हाले मुद्दा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धका कयौँ मुद्दाहरु फिर्ता गर्ने गरी महान्यायाधिवक्ताको कार्यालयले गरेका निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ ।
लामिछानेलाई लगाइएका संगठित अपराध र सम्पत्ति शुद्धिकरणका मुद्धाहरु फिर्ता लिनेगरी महान्यायाधिवक्ता सविता भण्डारीले सम्बन्धित जिल्ला सरकारी वकिलका कार्यालयहरुलाई अनुमति दिने निर्णय गरेपछि अदालतमा यस्तो मुद्दा परेको हो ।
लाभिछानेमाथि लगाइएको आरोपपत्र नै संशोधन गर्न स्विकृती दिने निर्णय महान्यायाधिवक्ता भण्डारीले गरेकी थिइन् । यसपछि मिडियामा उनको विरोध भएको छ । तर यस मामिलाई स्वयम् प्रधानमन्त्री सुशिला कार्कीलाई भने सञ्चारमाध्यमहरुले खासै ‘तारो’ बनाएका छैनन् ।
यस्तो बेला अधिवक्ता युवराज पौडेल ‘सफल’ले महान्यायाधिवक्ताको निर्णय संविधान र कानून विपरीत भएको दावी सहित त्यसको बदरको माग गर्दै सर्वोच्चमा निवेदन पेश गरेका हुन् ।
अधिवक्ता पौडेलले यस्तो निर्णयका कारण लामिछानेमाथि लागेका गम्भिर प्रकृतिका मुद्दा फिर्ता हुनसक्ने जोखिम रहेको भन्दै तत्काल अन्तरिम आदेश जरी गरेर काम कारबाही अघि नबढाउने आदेश दिन पनि सर्वोच्च न्यायालयसँग माग गरेका छन् ।
उक्त निवेदन अदालतले अध्ययन गरेपछि दर्ता गर्ने छ । दर्तापछि लगत्तै सुनुवाई हुने भए पनि उनको मुद्दाको सुनुवाई हुन कम्तिमा आगामी मङ्गलबारसम्म कुर्नुपर्ने हुनसक्ने छ । शुक्रबारै मुद्दा दर्ता भएको खण्डमा भने आइतबार नै सुनुवाई हुन पनि सक्छ ।













