नेपालमा छिट्टै बिक्रि सुरु हुँदै नयाँ बजाज पल्सर २२० एफ, यी हुन् ग्राहक लोभ्याउन अपग्रेड गरिएका ५ फिचर
काठमाडौं । वर्षैंको पर्खाइपछि, बजाज पल्सर २२०एफले अन्ततः लामो समयदेखि अपेक्षित अपडेट प्राप्त गरेको छ।
नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले बीएस६ अपडेटेड पल्सर २२०एफका लागि आधिकारिक रूपमा बुकिङ खुल्ला गरेको छ, जसले नेपालको सबैभन्दा लोकप्रिय मोटरसाइकलको विरासतलाई निरन्तरता दिएको छ।
भारतीय बजारमा केही समय अघि मात्रै बिक्री सुरू भएको उक्त मोटरसाइकल नेपालमा पनि सन् २०२६ को पहिलो त्रैमास भित्रै सडकमा देखिने बताइएको छ। नेपाली युवाहरू माझ लामो समयदेखि ‘लेजेन्ड’ मानिएको यस मोटरसाइकललाई बजाजले आधुनिक प्रविधि र थप सुरक्षा सुविधाहरूका साथ पुनः बजारमा उतार्न लागेको हो।
कम्पनीले यस २०२६ पल्सर २२० एफको सुरुवाती मूल्य रु. ४,३९,९०० कायम गरेको छ। नयाँ फिचरहरू र प्रविधिको तुलनामा यो मूल्य निकै प्रतिस्पर्धी मानिएको छ। हाल यसको बुकिङ खुला भइसकेको छ र छिट्टै नै देशभरका बजाज शोरुमहरूबाट डेलिभरी सुरु हुनेछ।
बजाजले यस पटक ग्राहकहरूलाई आफ्नो रुचि अनुसारका ४ वटा नयाँ र आकर्षक कलर थिमहरू उपलब्ध गराएको छ।
स्पार्कल ब्ल्याक : यो क्लासिक कालो रङमा गोल्डेन वा रातो ग्राफिक्सका साथ उपलब्ध छ।
भोल्कानिक रेड: युवाहरू माझ निकै लोकप्रिय यो रङले बाइकलाई स्पोर्टी लुक्स दिएको छ।
सैफायर ब्लु: यो प्रिमियम निलो रङमा डार्क ग्राफिक्सको सम्मिश्रण गरिएको छ।
पर्ल ह्वाइट : सफा र आधुनिक लुक्स चाहनेहरूका लागि यो रङ उत्कृष्ट विकल्प हुनेछ।
बजाजले यस पटक पल्सर २२० एफमा पहिलो पटक आधा दर्जनभन्दा बढी नयाँ फिचर थपेर बजारमा ल्याएको हो। यहाँ हामीले अपडेटेड पल्सर २२० एफमा राखिएका ग्राहकलाई लोभ्याउने ५ प्रमुख नयाँ फिचरको बारेमा चर्चा गरेका छौं:
१. आधुनिक एलईडी हेडलाइट र इन्डिकेटर्स
पल्सर २२० एफको यो नयाँ संस्करणमा कम्पनीले पहिलो पटक शक्तिशाली एलईडी हेडलाइट दिएको छ। यसअघिको ह्यालोजेन सेटअपलाई विस्थापित गर्दै ल्याइएको यो एलईडी लाइटले रातिको अँध्यारोमा निकै राम्रो भिजिबलिटी प्रदान गर्छ। यसका साथै, साइड इन्डिकेटरहरू पनि अब स्ट्यान्डर्ड एलईडीमै उपलब्ध छन्, जसले बाइकलाई अझ प्रिमियम र आधुनिक लुक्स दिएको छ।
२. डबल च्यानल एबीएस
राइडरको सुरक्षालाई उच्च प्राथमिकता दिँदै बजाजले नयाँ २२० एफमा पहिलो पटक डबल च्यानल एबीएस सिस्टम जडान गरेको छ। यसअघि यो मोटरसाइकलमा सिंगल च्यानल एबीएस मात्र उपलब्ध थियो। अब दुवै टायरमा रहने यो सिस्टमले तीव्र गतिमा एक्कासि ब्रेक लगाउँदा टायर चिप्लने डर कम गरी ब्रेकिङलाई अझ बढी सुरक्षित र प्रभावकारी बनाएको छ।
३.नयाँ ग्राफिक्स र आकर्षक कलर अप्सन
यो मोटरसाइकलको डिजाइनलाई पुरानै ‘आइकोनिक’ स्वरूपमा राखिए पनि यसमा नयाँ ग्राफिक्स र रङहरू थपिएका छन्। नयाँ कलर थिम र स्टाइलिस ग्राफिक्सले मोटरसाइकलको ओभरअल लुक्सलाई पहिलेभन्दा धेरै सार्प र आधुनिक बनाएको छ। यसले पुरानो विरासतलाई कायमै राख्दै नयाँ पुस्ताका राइडरहरूलाई समेत आकर्षित गर्ने देखिन्छ।
४. पूर्ण डिजिटल कन्सोल र ब्लुटुथ कनेक्टिभिटी
बजाजले नयाँ २२० एफलाई पूर्ण रूपमा डिजिटल कन्सोलमा अपडेट गरेको छ। यसमा ब्लुटुथ कनेक्टिभिटी सिस्टमका साथै ‘राइड कनेक्ट’ एपको सुविधा दिइएको छ। चालकले अब एलसीडी स्क्रिनमै टर्न-बाई-टर्न नेभिगेसन, कल एसेप्ट/रिजेक्ट, एसएमएस अलर्ट, र मोबाइलको ब्याट्री लेभल जस्ता जानकारीहरू हेर्न सक्नेछन्। साथै, यसमा ट्रिप कम्प्युटर र डीटीई रिडआउट जस्ता स्मार्ट सुविधाहरू पनि समावेश छन्।
५. परिष्कृत बीएस६ फेज-२ इन्जिन
नयाँ २२० एफमा इन्जिन सेटअपलाई पनि आधुनिक उत्सर्जन मापदण्ड अनुसार अपडेट गरिएको छ। यसमा २२० सीसीको सिंगल सिलिन्डर, आयल कुल्ड, फ्युल इन्जेक्टेड इन्जिन रहेको छ, जुन बीएस६ ओबीडी फेज-२ कम्प्लायन्ट छ। यस इन्जिनले अधिकतम २०.४ पीएस पावर तथा १८.५५ एनएम टर्क जेनेरेट गर्छ। नयाँ इन्जिनले बाइकको परफर्मेन्स सुधार्नुका साथै इन्धन खपतलाई पनि सन्तुलित बनाउनेछ।













