दर्जनाैँ मन्त्रालय धाउँदा लगानीकर्ता निराश भएकाे भन्दै तत्काल ‘एकद्वार प्रणाली’ लागू गर्न माग
काठमाडाैं । नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष विरेन्द्र राज पाण्डेले नेपालको जलविद्युत् इतिहास दक्षिण एसियामै पुरानो रहेको स्मरण गराउँदै सन् १९११ (वि.सं. १९६७) मा फर्पिङमा ५०० किलोवाटको आयोजना स्थापना भएको उल्लेख गरे।
उनले जलविद्युत् आयोजना विकासमा सर्भे लाइसेन्सदेखि पीपीए र निर्माण सम्पन्न गर्न १०–१२ वर्ष लाग्ने अवस्थालाई जटिल कानुनी तथा प्रक्रियागत समस्याको परिणाम बताए।
एक आयोजनाका लागि १६ वटा मन्त्रालय धाउनु पर्ने अवस्थाले लगानीकर्तालाई निरुत्साहित गरेको भन्दै उनले ‘सिंगल विन्डो सिस्टम’ तत्काल लागू गर्न सरकारसँग माग गरे। “आजको अवस्थामा कृषि र पर्यटनभन्दा पनि हाइड्रोपावर सबैभन्दा सुरक्षित र आकर्षक क्षेत्र बनेको छ,” उनले भने, “बैंकहरूको लगानी पनि मुख्यतः यही क्षेत्रमा गइरहेको छ।”
निर्वाचनको तयारीमा केन्द्रित वर्तमान सरकारले निर्वाचनपछि यी समस्यालाई गम्भीरताका साथ सम्बोधन गर्नुपर्नेमा जोड दिँदै उनले भने, “यदि समस्या समाधान भएन भने उद्यमी–व्यवसायीहरू एकजुट भएर अगाडि बढ्नुपर्ने अवस्था आउन सक्छ।”
उनले जलविद्युत् क्षेत्रमा १ करोडभन्दा बढी सर्वसाधारण सेयर लगानीकर्ता जोडिएको उल्लेख गर्दै यो क्षेत्र सबैको साझा सरोकारको विषय भएको बताए।













