गुराँस हाइड्रोको क्रेडिट रेटिङमा सुधार, ६ अर्ब १५ करोडको दीर्घकालीन कर्जाको रेटिङ ‘अपग्रेड’
काठमाडौं । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेड (इन्फोमेरिक्स नेपाल) ले गुराँस हाइड्रो लिमिटेडको दीर्घकालीन बैंक सुविधाहरूको रेटिङमा सुधार गरेको छ।
कम्पनीको ६ अर्ब १५ करोड रुपैयाँ बराबरको दीर्घकालीन बैंक कर्जाको रेटिङ आइआरएन बी प्लसबाट बढाएर आइआरएन बीबी माइनस कायम गरिएको छ।
इन्फोमेरिक्सका अनुसार रेटिङ सुधार हुनुमा नेपाल विद्युत् प्राधिकरणसँग गरिएको ३० वर्षे दीर्घकालीन विद्युत् खरिद सम्झौता र आकर्षक सरकारी जलविद्युत् नीतिहरूले मुख्य भूमिका खेलेका छन्।
आयोजनाबाट उत्पादित बिजुली मात्र ३ किलोमिटर लामो प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा जोडिने भएकाले यसमा प्रसारण जोखिम न्यून देखिएको छ। कम्पनीमा एसजी ग्रुपको मुख्य लगानी रहेको छ र यसलाई अनुभवी सञ्चालक समितिले नेतृत्व गरिरहेको छ, जसले आयोजनाको व्यवस्थापकीय पक्षलाई बलियो बनाएको छ।
यद्यपि, आयोजना हाल निर्माणको प्रारम्भिक चरणमा रहेको र सन् २०२५ नोभेम्बरको मध्यसम्ममा करिब १४ प्रतिशत मात्र वित्तीय प्रगति भएकाले केही निर्माणकालीन जोखिमहरू अझै कायमै छन्।
मुख्य ठेक्का सम्झौताहरू हुन बाँकी रहेको र आयोजना क्षेत्रको भौगोलिक बनावटका कारण हुनसक्ने प्राकृतिक विपत्ति तथा वर्षायाममा खोलाको बहावमा आउने परिवर्तनले उत्पादनमा प्रभाव पार्न सक्ने चुनौतीहरूलाई पनि इन्फोमेरिक्सले औंल्याएको छ।
कुल ८ अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको यो आयोजनाले सन् २०२८ नोभेम्बर ५ सम्ममा व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ।













