अन्तर्राष्ट्रिय वित्त निगमकाे एशिया र प्रशान्त क्षेत्रकाे क्षेत्रीय उपाध्यक्षमा सर्वेश सूरी नियुक्त - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अन्तर्राष्ट्रिय वित्त निगमकाे एशिया र प्रशान्त क्षेत्रकाे क्षेत्रीय उपाध्यक्षमा सर्वेश सूरी नियुक्त



काठमाडौं। अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले सर्वेश सूरीलाई एशिया र प्रशान्त क्षेत्रका लागि नयाँ क्षेत्रीय उपाध्यक्षमा नियुक्त गरेको छ।

२५ वर्षभन्दा लामो विश्वव्यापी लगानी र विकास क्षेत्रको अनुभव सङ्गालेका सूरीले यस क्षेत्रमा आईएफसीको लगानी र परामर्श सेवाको रणनीतिक नेतृत्व गर्ने छन्। सिङ्गापुरमा बसेर कार्यभार सम्हाल्ने सूरीको मुख्य ध्यान निजी क्षेत्रलाई परिचालन गरी जटिल विकास चुनौतीहरूको सामना गर्ने र रोजगारीका अवसरहरू सिर्जना गर्नेतर्फ केन्द्रित हुने आईएफसीले जनाएको छ।

विश्व बैंक समूहको एक अंगका रूपमा सूरीले भारतदेखि प्रशान्त टापुसम्म फैलिएको आईएफसी टोलीको सुपरिवेक्षण गर्नेछन्। उनको नेतृत्वमा टोलीले वित्तीय, उत्पादन, कृषि व्यवसाय, सेवा, पूर्वाधार र प्राकृतिक स्रोत जस्ता क्षेत्रमा निजी क्षेत्रका समाधानहरू डिजाइन गर्नेछ। सूरीलाई सहयोग गर्न दुई नयाँ डिभिजन निर्देशकहरू पनि तोकिएका छन्। जसमा केइको मिवा (जकार्ता, इन्डोनेसिया) ले दक्षिण-पश्चिम एशिया र प्रशान्त टापुको व्यवस्थापन गर्नेछिन् भने फेब्रुअरी १, २०२६ देखि अर्नाड डुपोइजाट (हङकङ) ले पूर्वी एशियाको कार्यभार सम्हाल्नेछन्।

आफ्नो नियुक्तिपछि सूरीले व्यक्तिगत र व्यावसायिक रूपमा आफूलाई आकार दिने एशिया क्षेत्रमा फर्कन पाउनु गौरवको कुरा भएको बताए। उनले भने, “मैले एशियामै हुर्कें र पहिलो पटक काम पनि यहीं गरें। सार्वजनिक र निजी क्षेत्रको क्षमतालाई एकीकृत गर्दै यस क्षेत्रका जल्दाबल्दा विकास चुनौतीहरूलाई समाधान गर्ने अवसर प्राप्त हुनु मेरा लागि महत्त्वपूर्ण छ।”

उनले आफ्नो प्राथमिकता रोजगारी सिर्जना गर्न आईएफसीका उपकरणहरूको अधिकतम उपयोग गर्ने र स्थानीय पूँजी बजारलाई बलियो बनाउने रहेको पनि स्पष्ट पारेका छन्।

यसअघि सूरी जोहानेसबर्ग, दक्षिण अफ्रिकामा पूर्वाधार र प्राकृतिक स्रोतका लागि आईएफसीको क्षेत्रीय उद्योग निर्देशक रहेका उनले ‘मिसन ३००’ सुरु गर्न महत्वपूर्ण भूमिका खेलेका थिए।

उनले विश्व बैंक समूहको बहुपक्षीय लगानी ग्यारेन्टी एजेन्सीमा ६ वर्ष र त्यसअघि १५ वर्ष आईएफसीका विभिन्न नेतृत्वदायी पदहरूमा काम गरिसकेका छन्।


प्रतिक्रिया दिनुहोस्