२५ अर्ब नाघ्याे वाणिज्य बैंकको कर्मचारी खर्च: तलब बढाउनेमा एनएमबी पहिलो, एनआइसी र स्ट्यान्टर्ट चार्टर्डले घटाए - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

२५ अर्ब नाघ्याे वाणिज्य बैंकको कर्मचारी खर्च: तलब बढाउनेमा एनएमबी पहिलो, एनआइसी र स्ट्यान्टर्ट चार्टर्डले घटाए



काठमाडौं । अधिकांश वाणिज्य बैंकहरूले कर्मचारी सेवा सुविधामा गर्ने खर्च बढाएका छन्। चालु आर्थिक वर्षको पहिलो ५ महिनामा वाणिज्य बैंकहरूकाे समग्र कर्मचारी खर्च ६.८२ प्रतिशतले बढेको देखिएको छ।

तीन बैंक बाहेक अघिल्लो वर्षको यसै अवधिकाे तुलनामा बैंकहरुले ४१ प्रतिशतसम्म कर्मचारीको तलब बढाएका छन्।

मंसिर मसान्तसम्म बेंकहरूले तलबमा खर्च गर्न रकम १ अर्ब ५९ करोड ८३ लाख ७० हजार रुपैयाँ बढाएर २५ अर्ब ४ करोड १५ लाख ८० हजार रुपैयाँ पुर्याएकाे छ। गत वर्षको मंसिरसम्म कर्मचारीको तलब तथा सुविधाहरूमा बैंकहरूले कुल २३ अर्ब ४४ करोड ३२ लाख १० हजार रुपैयाँ खर्च गरेका थिए।

कुल २० वटा वाणिज्य बैंकहरूमध्ये १७ वटाको कर्मचारी खर्च बढेको छ भने ३ वटा बैंकको खर्चमा गिरावट आएको छ।

यस अवधिमा कर्मचारीको तलब सुविधामा सबैभन्दा धेरै बढाउनेमा एनएमबि बैंक अग्रस्थानमा देखिएको छ। बैंकले अघिल्लो वर्षको तुलनामा कर्मचारीको तलब ४१.६३ प्रतिशतले बढाएर १ अर्ब ३० करोड ८४ लाख ८० हजार रुपैयाँ पुर्याएको छ। अघिल्लो वर्ष सोही अवधिमा बैंकको यस्तो खर्च ९२ करोड ३९ लाख रुपैयाँ मात्र थियो।

दोस्रो स्थानमा सिटिजन्स बैंक इन्टरनेशनल रहेको छ, जसको कर्मचारी खर्च ३०.२३ प्रतिशतले बढेर ८९ करोड ६७ लाख ९० हजार रुपैयाँ कायम भएको छ। यस्तै, नेपाल एसबिआई बैंक ले १५.२४ प्रतिशत बढाएर ७० करोड २ लाख ४० हजार, नेपाल बैंक ले १२.५९ प्रतिशत बढाएर १ अर्ब ७१ करोड ५८ लाख ६० हजार, ग्लोबल आइएमई बैंक ले ११.३२ प्रतिशत बढाएर १ अर्ब ७१ करोड ७५ लाख ४० हजार र एभरेष्ट बैंक ले १०.९६ प्रतिशतले कर्मचारी खर्च वृद्धि गरी ८५ करोड ९९ लाख ५० हजार रुपैयाँ पुर्याएका छन्।

रकमको आधारमा भने राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा अगाडि देखिएको छ। यस बैंकले मंसिर महिनासम्म कर्मचारी सुविधामै १ अर्ब ९७ करोड ८९ लाख ४० हजार रुपैयाँ खर्चिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ७.४५ प्रतिशत धेरै हो। नबिल बैंक ले पनि ९.१६ प्रतिशत वृद्धि गर्दै १ अर्ब ७४ करोड ८८ लाख ८० हजार रुपैयाँ खर्च गरेको छ।

यस्तै हिमालयन बैंक ले ९.२२ प्रतिशत बढाएर १ अर्ब ३० करोड ५८ लाख ८० हजार, लक्ष्मी सनराइज बैंक ले ६.१९ प्रतिशत बढाएर १ अर्ब ६७ करोड १९ लाख ३० हजार, सिद्धार्थ बैंक ले ५.६५ प्रतिशत बढाएर १ अर्ब १९ करोड ५९ लाख ६० हजार र माछापुच्छ्रे बैंक ले ५.४२ प्रतिशतले बढाएर ९७ करोड ७४ लाख २० हजार रुपैयाँ खर्च गरेका छन्।

तथ्याङ्क अनुसार केही बैंकहरूको खर्च वृद्धिदर भने सामान्य छ। प्रभु बैंक को ३.६२ प्रतिशतले बढेर १ अर्ब ४९ करोड ९३ लाख ६० हजार र कृषि विकास बैंक को ३.२१ प्रतिशतले बढेर १ अर्ब ५५ करोड ३६ लाख २० हजार रुपैयाँ पुगेको छ। त्यस्तै प्राइम कमर्सियल बैंक को २.८१ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक को १.४१ प्रतिशत र सानिमा बैंक को कर्मचारी खर्च सबैभन्दा कम अर्थात् ०.५५ प्रतिशतले मात्र बढेर ६८ करोड ८ लाख रुपैयाँ कायम भएको छ।

यता, तीनवटा बैंकको कर्मचारी खर्चमा भने संकुचन आएको छ। एनआइसी एशिया बैंक को कर्मचारी खर्च सबैभन्दा धेरै १४.२१ प्रतिशतले घटेर १ अर्ब २३ करोड ३ लाख १० हजार रुपैयाँमा झरेको छ। स्ट्याण्डर्ड चार्टर्ड बैंक को ९.२३ प्रतिशतले घटेर ४१ करोड ५४ लाख २० हजार र कुमारी बैंक को २.५४ प्रतिशतले घटेर १ अर्ब ५६ करोड ४३ लाख ४० हजार रुपैयाँ कायम भएको छ।


प्रतिक्रिया दिनुहोस्