चुनावी सरगर्मी: मन्त्रीहरू पद त्याग्दै, मैदान रोज्दै, मन्त्रिपरिषद्मा अब को बाँकी ?
काठमाडौँ । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनको रापतापपछि गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार चुनावी दबाबमा परेको छ।
आगामी फागुन २१ गते तय गरिएको निर्वाचनको मिति नजिकिएसँगै मन्त्रिपरिषद्का सदस्यहरू चुनावी मैदानमा उत्रिन राजीनामा दिने क्रम बढेको छ।
प्रधानमन्त्री कार्कीले गठन गरेको १४ सदस्यीय मन्त्रिमण्डलबाट प्रभावशाली अनुहारहरू बाहिरिएपछि सरकारको स्वरूप खुम्चिँदै गएको हाे। यसरी राजीनामा दिने मन्त्रीहरू
कुलमान घिसिङ (ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकास): गत भदाै ३० गते ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका घिसिङले गत पुस २३ गते राजीनामा दिएका थिए। उनले कुल १०४ दिन मन्त्रालयको कार्यभार सम्हाले। सुरुमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग सहकार्यको प्रयास गरे तापनि पछि आफ्नै नेतृत्वमा ‘उज्यालो नेपाल पार्टी’ गठन गरी उनी चुनावी तयारीमा सक्रिय छन्।
बब्लु गुप्ता (युवा तथा खेलकुद): गत असाेज ५ गते युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका बब्लु गुप्ताले माघ ४ गते राजीनामा बुझाएका थिए। उनले कुल ११६ दिन मन्त्रीका रूपमा काम गरेका छन्। गुप्ता आगामी प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवारका रूपमा सहभागी हुन सरकारबाट बाहिरिएका हुन्।
जगदीश खरेल (सूचना, सञ्चार तथा सरकारका प्रवक्ता): गत असाेज ५ गते सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयकाे जिममेवारी सम्हालेका खरेलले हिजो माघ ५ गते सोमबार राजिनामा दिएका छन्। खरेलले कुल ११७ दिन मन्त्री तथा सरकारको प्रवक्ताको रूपमा जिम्मेवारी निभाए। लामो समय पत्रकारितामा रहेर अन्तरिम सरकारमा आएका खरेलले पनि रास्वपाबाटै चुनावी यात्रा तय गरेका छन्। उनलाई रास्वपाले ललितपुर निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवार बनाउने चर्चा छ।
महावीर पुन (शिक्षा, विज्ञान तथा प्रविधि): आज माघ ६ गते राजीनामा दिएका पुनले कुल ११८ दिन मन्त्रालयको नेतृत्व गरे। उनले आफ्नो आविष्कार र सामाजिक अभियानलाई राजनीतिक रूपमै अघि बढाउन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बन्ने तयारीका साथ राजीनामा दिएका हुन्।
अब मन्त्रिमण्डलमा को बाँकी?
कुलमान घिसिङ, बब्लु गुप्ता, जगदीश खरेल र महावीर पुनकाे राजिनामापछि अब सरकारमा बाँकी प्रधानमन्त्रीसहित ११ जना मन्त्रीहरू बहाल छन्। बाँकी रहेका मन्त्रीहरूमा पनि केहीले चुनाव लड्ने तयारी गरिरहेकाले आगामी केही दिनभित्रै मन्त्रिमण्डल अझै पुनर्गठन हुनुपर्ने वा प्रधानमन्त्रीले नै बाँकी मन्त्रालय सम्हाल्नुपर्ने स्थिति देखिएको छ।
अन्तरिम सरकारको नेतृत्व गरिरहेकी प्रधानमन्त्री सुशीला कार्कीले रक्षा र खानेपानी मन्त्रालयको जिम्मेवारी आफैँसँग राखेकी छन्। अर्थ मन्त्रालयको महत्वपूर्ण बागडोर रामेश्वर खनालले सम्हालेका छन् भने गृह मन्त्रालयको जिम्मेवारी ओम प्रकाश अर्यालको काँधमा छ। यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रीको रूपमा डा. संगीता मिश्रले काम गरिरहेकी छन् ।
त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी अनिल कुमार सिन्हाले सम्हालेका छन् भने कृषि तथा पशुपन्छी विकास मन्त्रीमा मदन प्रसाद परियार छन् । यस्तै परराष्ट्र मन्त्रालयको कार्यभार बालानन्द शर्माले सम्हाल्दै आएका छन् ।
अन्य मन्त्रीहरूमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नाम, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारी, वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईं र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठ रहेका छन्।
महत्वपूर्ण मन्त्रालयहरू (ऊर्जा, भौतिक पूर्वाधार र सञ्चार) सम्हालेका मन्त्रीहरूले राजीनामा दिएपछि ती मन्त्रालयहरू अहिले रिक्त छन्। फागुन २१ को निर्वाचन सम्पन्न नहुन्जेलका लागि यी मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले आफैँ राख्ने वा अन्य मन्त्रीलाई बाँडफाँड गर्ने भन्नेबारे छलफल भइरहेको छ।













