जलविद्युत क्षेत्रमा बैंकहरूको लगानी ४ खर्ब ४७ अर्ब पुग्यो, १६ वर्षमा १४५ गुणाले वृद्धि - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

जलविद्युत क्षेत्रमा बैंकहरूको लगानी ४ खर्ब ४७ अर्ब पुग्यो, १६ वर्षमा १४५ गुणाले वृद्धि



काठमाडौं । नेपालको बैंकिङ क्षेत्रले जलविद्युतलाई एक रणनीतिक लगानीको क्षेत्रको रूपमा लिएसँगै यस क्षेत्रमा ऋण प्रवाह उल्लेख्य रूपमा बढेको छ । स्वतन्त्र ऊर्जा उत्पादक संस्था (इपपान)ले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार १६ वर्षमा १४५ गुणा लगानी वृद्धि भएको छ । 

इप्पानलाई नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांकका अनुसार अगस्ट २०२५ सम्मको तथ्याङ्कले नेपालका बैंक तथा वित्तीय संस्थाहरूले जलविद्युत क्षेत्रमा कुल ४ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ ऋण लगानी भएको छ । 

सन् २००९ देखि २०२५ सम्मको अवधिमा जलविद्युत क्षेत्रको ऋण उलेखिय रूपमा वृद्धि देखिएको छ । जुलाई २००९ मा यो क्षेत्रमा बैंकहरूको ऋण लगानी मात्र २ अर्ब ७६ करोड रुपैयाँ (कुल ऋणको ०.६९ प्रतिशत) थियो । फेब्रुअरी २०२५ सम्म आइपुग्दा यो लगानी बढेर ४ खर्ब २ अर्ब ४१ करोड २८ लाख पुगेको छ । यो १६ वर्षको अवधिमा १४५.५० गुणा भन्दा बढीको वृद्धि हो ।

नेपाल राष्ट्र बैंकको नीति अनुसार बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो कुल ऋण लगानीको १० प्रतिशतसम्म विद्युत क्षेत्रमा प्रवाह गर्न पाउँछन् । हाल यो अनुपात ७.४० प्रतिशत पुगेको राष्ट्र बैंकले इप्पानलाई दिएको तथ्यांकमा छ । यस तथ्याङ्कले बैंकहरूसँग अझै थप २.६ प्रतिशत ऋण लगानी गर्न सक्ने क्षमता बाँकी रहेको देखाउँछ ।

निजी क्षेत्रद्वारा प्रवद्र्धित आयोजनाहरूको वित्तीय संरचनामा सामान्यतया ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीको अनुपात रहने गरेको तथ्यांकमा देखिएको छ । तथ्याङ्क अनुसार निजी क्षेत्रले अघि बढाएका ९२३ वटा आयोजनाहरूमा कुल १३ खर्ब १० अबै ६० करोड रुपैयाँ लगानी भएको छ । यसमध्ये सञ्चालित र निर्माणाधीन ३४७ वटा आयोजनाहरूमा बैंक तथा वित्तीय संस्थाहरूको ऋण ८ खर्ब ४० अबै ७९ करोड  रुपैयाँ रहेको छ । 

सर्भे र अध्ययनको चरणमा रहेका ५७६ वटा आयोजनाहरूमा हालसम्म बैंक ऋण लगानी भएको अध्ययनमा उल्लेख छ । यी आयोजनाहरू ६६ अर्ब ६२ करोड रुपैयाँको पूर्ण स्वपुँजीबाट सञ्चालित भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

बैंकिङ क्षेत्र बाहेक अन्य वित्तीय स्रोतहरूको पनि यस क्षेत्रमा ठुलो योगदान रहेको प्रतिवेदनमा उल्लेख छ । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष जस्ता संस्थाहरूले विभिन्न आयोजनाहरूमा करिब ६६ अर्ब ६ करोड रुपैयाँ ऋण प्रवाह गरेको इप्पानले गरेको अध्ययनले देखाएको छ । 

त्यस्तै, वैदेशिक प्रत्यक्ष लगानी (एफडिआई) मा आधारित ऋणको हिस्सा ५४ अर्ब ५६ करोड रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । सरकारी तर्फ नेपाल विद्युत प्राधिकरणले प्रवद्र्धन गरेका १५ वटा आयोजनाहरूमा १ खर्ब १ अर्ब ७२ करोड रुपैयाँ भन्दा बढी लगानी भएको छ ।

पुँजी बजारको भूमिकालाई हेर्दा हालसम्म ९३ वटा जलविद्युत कम्पनीले (सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) मार्फत ४१ अर्ब ६५ करोड र ४३ वटा कम्पनीले हकप्रद शेयर मार्फत ५६ अर्ब ३२ करोड रुपैयाँ संकलन गरी लगानी गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । 


प्रतिक्रिया दिनुहोस्