८ श्रावण २०८३, शुक्रबार

निफ्राले ६ महिनामा कमायाे करिब ४१ कराेड नाफा, अधिकांश वित्तिय सूचक कमजाेर



काठमाडाैं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को नाफा खुम्चिएकाे छ।

बैंकले प्रकाशित गरेको दोस्रो त्रैमाससम्मकाे अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.१५ प्रतिशत घटेको हाे।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले ४० करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६४ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस्तै पुस मसान्तमा बैंकको खुद ब्याज आम्दानी २९.०९ प्रतिशत घटेर ७४ कराेड ७ लाख २० हजारमा खुम्चिएकाे छ भने खुद फि तथा कमिशन आम्दानी ४.५१ प्रतिशत बढेर १ कराेड ५१ लाख ९१ हजार पुगेकाे छ।

त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा २८.६२ प्रतिशतले घटेर ७५ कराेड ५९ लाख ११ हजार र सञ्चालन मुनाफा ३६.०४ प्रतिशत घटेर ५८ कराेड ६५ लाख ९० हजारमा झरेको छ।

यस्तै समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३३.३७ प्रतिशत घटेर ३४ करोड ७८ लाख रुपैयाँमा झरेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि २ रुपैयाँ १५ पैसा घटेर ३ रुपैयाँ ८० पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ ७५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६८.४६ गुणा रहेको छ।

२१ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब १८ करोड ५७ लाख रुपैयाँ सञ्चित छ। गत पुस मसान्तसम्ममा बैंकले ८ अर्ब ११ करोड ६२ लाख रुपैयाँ निक्षेप संकलन गरी २७ अर्ब ४१ करोड १६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।


प्रतिक्रिया दिनुहोस्