चुनावपछि को बन्लान् अर्थमन्त्री ?
काठमाडौँ। ‘ख्याल-ख्याल गर्दागर्दै साँच्ची’ भन्ने नेपाली उखानलाई चरितार्थ गर्ने गरी प्रतिनिधि सभाको निर्वाचन निर्धारित मितिमै सम्पन्न हुने सम्भावना ह्वात्तै बढेर गएको छ।
यही कारण अर्थतन्त्रका विभिन्न आयामहरू पनि अब ‘राम्रा दिन’को प्रतिक्षामा लागेको छ। मानिसहरू आशावादी देखिन थालेका छन्।
यसैको परिणाम हो- बितेको एक महिनामा नेपाल स्टक एक्सचेन्जको नेप्से परिसूचक करिब १३० अङ्क बढेको छ।
व्यावसायिक जगत अलि बढी खुसी हुनुको अर्को कारण पनि छ। त्यो हो, प्रजातान्त्रिक राजनीतिक शक्तिहरूको सम्भावित ध्रुवीकरण।
परम्परागत प्रजातान्त्रिक शक्ति नेपाली कांग्रेसमा हस्तक्षेपकारी नेतृत्व चयन हुनु र नयाँ उदारवादी शक्तिको रुपमा आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति सामाजिक सञ्जालमा देखिएको जनलहरले ‘निजी क्षेत्रको प्रवर्द्धन’ गर्ने दुई शक्तिहरू ध्रुवीकृत हुने सम्भावना बढेको देखिएको छ।
यदि निजी क्षेत्रका धेरै मानिसहरूको चाहना अनुसार यस प्रकारको ध्रुवीकरण र गठबन्धन भएर नयाँ सरकार बन्यो भने अर्थमन्त्रीका उम्मेदवारहरू को होलान् भन्ने बहस अहिले सुरु भएको छ।
रास्वपाले अर्थ मन्त्रालयको नेतृत्व गर्न पाउँदा डा. स्वर्णिम वाग्ले ‘निर्विकल्प अर्थमन्त्री’ बन्ने सम्भावना उच्च छ। उक्त पार्टीका सभापति रवि लामिछानेले यसअघि नै वाग्लेलाई ‘नयाँ बजेट लेख्दै गर्न’ भनिसकेका छन्।
तर नेपाली कांग्रेसको हातमा उक्त मन्त्रालय आउँदै गर्दा केही मानिसहरूले ‘डलर अर्बपति’ विरोध चौधरीको नाम अघि सारेको देखिन्छ।
चौधरी यसअघि पनि नवलपरासीबाट निर्वाचित सांसद हुन्। उनी अर्थमन्त्रालयको नेतृत्व गर्ने ‘अभिलाषा’ बोकेर हिँडेका छन्। काङ्ग्रेसको तत्कालीन सभापति शेरबहादुर देउवाले उसलाई यो मन्त्रालय नदिएपछि यसपल्ट उनी विशेष महाधिवेशन पक्षधरका रूपमा खुलेका थिए।
यही कारण पनि नयाँ सभापति गगन थापाले उनलाई अर्थ मन्त्रालयको भूमिका दिन सक्ने अड्कलबाजीहरू गरिएको छ।
यद्यपि, कांग्रेसबाट यसअघि नै अर्थमन्त्रालयको नेतृत्व सम्हालिसकेका डा. प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की र अर्थराज्यमन्त्री बनेका नवनिर्वाचित सहमहामन्त्री उदय शमशेर राणा लगायतका उम्मेदवारहरू पनि चुनावी प्रतिस्पर्धामा छन्।
मन्त्री बन्न पहिले चुनाव जितेर आउनुपर्ने हुन्छ। त्यसो त नेपालको संविधानले सांसद नभए पनि ६ महिनासम्म मन्त्री बन्ने सुविधा दिएको छ। ६ महिनाभित्र प्रतिनिधि सभा वा राष्ट्रिय सभामा सांसद बनिसक्नुपर्ने व्यवस्था छ।
तर अहिलेको अवस्थामा चुनावी प्रतिस्पर्धामा होमिएर पनि नजितेका उम्मेदवारहरूलाई मन्त्री बनाउने अभ्यास सायद नहुन सक्छ।
अर्कातिर चुनावी परिणाम कस्तो आउँछ र प्रधानमन्त्री को बन्छ भन्ने पनि अहिले अन्योल छ। यसले अर्थमन्त्रीको बारेमा अनुमान गरिहाल्न सजिलो छैन। अहिले चर्चामा आएका नामहरू मात्रै भावी अर्थमन्त्रीको उम्मेदवार हुनसक्छन् भन्ने पनि होइन।
यद्यपि हामीले ‘झ्वाट्ट हेर्दा’ चर्चामा देखिएका स्वर्णिम वाग्ले र विनोद चौधरीका बारेमा छोटो विश्लेषण गर्न सक्छौं।
वाग्ले प्राज्ञिक व्यक्तित्व हुन्। उनले विनोद चौधरीले नै खोलेको परोपकारी संस्था ‘चौधरी फाउन्डेसन’को नेतृत्व गरिसकेका छन्। पश्चिमा उदारवादी विचारधाराका ‘इमानदार विद्यार्थी’ हुन् वाग्ले।
उनले संयुक्त राष्ट्रसङ्घ सम्बद्ध निकायहरूमा अर्थशास्त्रको भूमिकामा काम गरेका छन्। नेपालभन्दा ज्यादा उनलाई श्रीलङ्काको अर्थतन्त्र, कम्बोडियाको समाज र केही अफ्रिकी आर्थिक नीतिहरूको बारेमा ज्ञान भएको देखिन्छ।
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा उनले केही राम्रा नीतिगत दस्तावेजहरूको निर्माणमा काम गरेका थिए। नेपालमा चर्चित ‘बार्बरा फाउन्डेसन’ र अहिले आर्थिक अनुसन्धानमा काम गरिरहेको गैह्रसरकारी संस्था इन्स्टिच्यूट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडीज (आइआइडीएस) लगायतमा आबद्ध छन् ।
उता विनोद चौधरी ‘डलर अर्बपति’ हुन्। उनी प्राज्ञिक भन्दा पनि ‘व्यापारिक’ मानसिकताका व्यक्ति हुन्। ‘सही मान्छेलाई सही भूमिका दिने’ र कानुनहरूको ‘अक्षर अक्षर केलाएर’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेजस्तै ‘डील गर्न’ माहीर नेपालीहरूमध्ये उनी एक हुन्।
श्रीलङ्का र माल्सदिभ्स हुँदै अफ्रिकासम्मै होटेल व्यवसायको विस्तार गरेका चौधरी पछिल्लो समय आफ्नो लगानीको ठूलो हिस्सा नेपालमै केन्द्रित गरिरहेका छन्। कोभिड महामारीपछि उनलाई विश्व बजारबाट ज्यादा ठूलो उपलब्धि हासिल नभएको उनका निकटस्थ बताउँछन्।
वाइवाइ चाउचाउ नेपालमा भित्र्याउन सफल उद्यमी चौधरीले उक्त ब्राण्डलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याएका छन्। उनले आफ्नो आत्मकथामा वाइवाइलाई अमेरिकी स्टक एक्सचेन्जमा सूचीकृत गर्ने आफ्नो जीवनको लक्ष्य रहेको बारम्बार भनेका छन्।
चौधरी लामो समयदेखि ‘नेपालीहरूलाई विदेशमा लगानी गरेर प्रतिफल भित्र्याउन दिनुपर्छ’ भन्ने लबिङमा लागिरहेका छन्। उनकै अग्रसरतामा खुलेको नेपाल उद्योग परिसंघले लामो समयदेखि यो मुद्दा उठाउँदै आएको छ।
मदिरा, चुरोटदेखि अहिले अटोमोबाइलको व्यवसायमा पनि ‘उल्लेख्य राम्रो’ उपलब्धि हासिल गर्न नसकेपनि उनको समूहले फास्टफुड, अतिथ्य र वित्तीय क्षेत्रमा राम्रो प्रगति गरिरहेको देखिन्छ।
अर्थमन्त्रालयको नेतृत्वमा उनी आउँदै गर्दा नेपालीलाई विदेशमा र विदेशीलाई नेपालमा लगानी गर्ने वातावरण सहज हुने अनुमान गर्न सकिन।













