नेपाल र भारतबीच निकासी गरिने वस्तु आइपुग्नु अगावै सूचना आउने
काठमाडौं । वस्तुको आगमन पुर्व सूचना आदान प्रदान गर्दै जोखिम व्यवस्थापन मार्फत् व्यापार सहजीकरण गर्न प्रमुख व्यापारिक साझेदार मुलुकहरुकावीच निकासी गरिने वस्तुको अग्रीमरुपमा तथ्याङ्क आदान–प्रदान गर्ने अन्तराष्ट्रिय अभ्यास रहदै आएको छ । नेपालको प्रमुख व्यापारिक साझेदार मुलुक भारतसँग निकासी गर्ने वस्तुको तथ्याङ्क अग्रीम रुपमा आदान–प्रदान गर्ने व्यवस्था गर्न भारतको केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क वोर्ड र भन्सार विभागको सहकार्यमा तयार गरिएको समझदारीपत्रको मस्यौदाउपर सबै सरोकारवालाहरुसँग छलफल गरी समझदारीपत्रलाई अन्तीम रुप प्रदान गरिएको थियो । उक्त समझदारीपत्र नेपाल सरकार (मन्त्रीपरिषद) ले स्वीकृत गरी भन्सार विभागका महानिर्देशकलाई हस्ताक्षर गर्ने अख्तियारी प्रदान गरेको थियो ।
समझदारीपत्रमा जोखिम विश्लेषण मार्फत भन्सार नियन्त्रण र व्यापार सहजीकरणलाई थप प्रभावकारी बनाउने, भन्सारको प्रकृयामा लाग्ने समय कम गर्दै सुरक्षित अन्तराष्ट्रिय व्यापारलाई सुनिश्चित गर्ने, राष्ट्रिय कानुनले तोकेको सीमा भित्र रही विद्युतीय माध्यमबाट निकासी तथ्याङ्क आदान प्रदान गर्ने, सूचनाको उपयोग समझदारी पत्र अनुकुल मात्र गर्ने, समझदारी पत्रको कार्यान्वयनका लागि सम्पर्क अधिकारी तोक्ने, दुवै पक्षबीच समझदारी भएका तोकिएका वस्तमा नमूनाको रुपमा कार्यान्वयन गरी तत्पश्चात् सबै वस्तुहरुमा लागू गर्ने, समझदारी पत्रमा उल्लेखित विषयको कार्यान्वयनमा विवाद भएमा आपसी सहमतिमा कुटनीतिक माध्यमबाट समाधान गर्ने तथा आपसी समझदारीमा समझदारीपत्रमा संशोधन समेत गर्न सकिने प्रावधान रहेका छन् ।
सहमति गरिएको समझदारी पत्रमा आज मिति २०८२ साल माघ ७ गते (तदानुसार जनवरी २१, २०२६) भारतको नयाँदिल्लीमा आयोजित औपचारिक कार्यक्रममा नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारी र भारतका तर्फबाट केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्डका अध्यक्ष विवेक चतुर्वेदीले हस्ताक्षर गरेका हुन् । उक्त अवसरमा समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम आयोजना गरेकोमा भन्सार विभागका महानिर्देशकले भारतीय पक्षलाई धन्यवाद ज्ञापन गरी जतिसक्दो छिटो कार्यान्वयनमा लैजान जोड दिँदै यसले दुबै देशको भन्सार प्रशासन बीचको सम्बन्धलाई थप मजवुत बनाउन सहयोग पुग्ने तथा निकासी हुने वस्तुको आगमन पूर्व तथ्याङ्क आदान–प्रदानबाट जोखिम विश्लेषण मार्फत् जोखिम देखिएका वस्तुलाई निगरानी तथा नियमन गर्न र सही कारोबार गर्ने व्यवसायीलाई थप सहजीकरण गरी भन्सार जाँचपासलाई छिटो छरितो र सहज बनाउन सहयोग पुग्ने बताए ।
त्यसैगरी, सिबीआइसीका अध्यक्ष चतुर्वेदीले भारतले नेपालसँग यस्तो समझदारी पत्रमा हस्ताक्षर भएकोमा खुसी व्यक्त गर्दै उक्त समझदारी पत्रको शीघ्र कार्यान्वयनको लागि प्रतिवद्दता व्यक्त गरेका थिए । उक्त कार्यक्रममा नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक सहित चार जना अधिकारीको उपस्थिति रहेको थियो भने भारतका तर्फबाट सिबीआइसीका अध्यक्ष तथा अन्य सदस्य सहितको उपस्थिति रहेको थियो ।













