जापानमा मध्यावधि चुनावको घोषणाः प्रधानमन्त्री ताकाइचीले गरिन् संसद् विघटन
काठमाडाैं । जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले संसद विघटन गरेकी छन् । ताकाइचीले आगामी फेब्रुअरी ८ मा हुने मध्यावधि चुनावका लागि शुक्रबार संसद्को तल्लो सदन विघटन गरेकी हुन्।
शुक्रबार जापानको संसद्का सभामुखले तल्लो सदन आधिकारिक रूपमा विघटन भएको पत्र पढेर सुनाएका थिए, त्यतिबेला सांसदहरूले परम्परागत नारा “बन्जाई” (दीर्घायु होस्) भन्दै कराउँदै खुसीयाली मनाएका थिए।
४६५ सदस्यीय तल्लो सदनको विघटनसँगै अब १२ दिने चुनावी अभियानका लागि बाटो खुलेको छ, जुन आधिकारिक रूपमा मंगलबारदेखि सुरु हुनेछ।
जापानको पहिलो महिला प्रधानमन्त्री ताकाइचीले गत सोमबार नै चुनाव आह्वान गर्ने आफ्नो मनसाय सार्वजनिक गरेकी थिइन्। अक्टोबरमा जापानको पहिलो महिला नेताका रूपमा निर्वाचित उनी सत्तामा आएको तीन महिना मात्र भएको छ, तर उनको लोकप्रियता रेटिङ करिब ७० प्रतिशतको हाराहारीमा उच्च देखिएको छ।
पछिल्ला वर्षहरूमा सत्ताधारी दलले व्यहोरेको ठूलो क्षतिपछि आफ्नो लोकप्रियताको फाइदा उठाउँदै पार्टीलाई पुनः स्थापित गर्ने प्रयास स्वरूप उनले यो कदम चालेकी हुन्।
विपक्षी नेताहरूले भने मुख्य आर्थिक उपायहरूका लागि आवश्यक बजेट पारित गर्न ढिलाइ गरेको भन्दै ताकाइचीको आलोचना गरेका छन्।
कट्टर अनुदारवादी ताकाइचीले जापानलाई “बलियो र समृद्ध” बनाउनका लागि मतदाताहरूले आफ्नो वित्तीय खर्च, सैन्य सुदृढीकरण र कडा आप्रवासी नीतिहरूको मूल्याङ्कन गर्नुपर्नेमा जोड दिएकी छन्।
उनी सुरक्षा र रक्षा नीतिहरू परिमार्जन गरी सेनालाई थप बलियो बनाउने र हतियार निर्यातमा रहेका प्रतिबन्धहरू हटाएर जापानी रक्षा उद्योगलाई प्रवर्द्धन गर्ने पक्षमा उभिएकी छन्।













