'मेगा डोनर्स र बालेन', पत्रकार रामचन्द्र भट्टको विचार - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

‘मेगा डोनर्स र बालेन’, पत्रकार रामचन्द्र भट्टको विचार



बालेन साहले झापादेखि ताप्लेजुंगसम्म चढेको यो ल्याण्डरोभर गाडी निकै चर्चामा रहेछ ।

बेलायती ल्याण्डरोभरलाई अमेरिकामा पनि निकै महंगो र सुविधायुक्त गाडीमा लिइन्छ । बेसमोडलकै ७०/८० हजार डलरबाट सुरु भएर दुईलाख डलरसम्म पर्छ ।

मैले यतिखेर लेख्न लागेको विषय गाडी भन्दा पनि दाताको नियतको कुरा हो । यो एक्काईसौ शताव्दी, जसलाई बनिया युग (व्यापारिक युग) हो । बाउआमा र पारिवारिक सम्बन्ध बाहेक अन्य सम्बन्धलाई पैसा र नाफा-घाटासँग जोडेर हेरिन्छ । यस्तो अवस्थामा ‘भावी प्रधानमन्त्री’ भनिएका व्यक्ति एकजना व्यवसायीको गाडी चढेर निर्वाचनको सुरुवातबाटै हिँड्दा शंका गर्ने ठाउँ पैदा भएको छ ।

राजनीतिमा लाग्नेहरुलाई प्रभावमा पार्न व्यवसायीहरुले संसारभरि प्रयास र पहल गरिरहेका हुन्छन् । किनकी राजनीति गर्नेहरु सत्तामा जाँदा आफू अनुकुल निर्णय र काम गराउन व्यापारी/उद्योगीहरुले अनेकन तरिकाबाट फण्डिंग, नगद र जिन्सी सामान (गाडी, घर, चुनाव सामाग्री) दिन्छन् । यो एक प्रकारले लगानी नै हो उद्योगी, व्यापारीको ।

अमेरिकामा डोनाल्ड ट्रम्पलाई जिताउन संसारकै धनी ईलोन मस्कले २८ करोड़ ८० लाख डलर लगानी गरेका थिए । त्यसपछि अमेरिकाको नीति कता र कसरी गैरहेको छ ? संसारले नै देखिरहेको र भोगिरहेको छ ।

भारतमा पनि नरेन्द्र मोदीलाई जिताउन गौतम अदानी समूहले अर्बौ रुपियाँ लगानी गरेका थिए ।

नेपालमा संबिधान सभाको चुनावदेखि अहिलेसम्म आइपुग्दा उद्योगी, व्यापारीहरुको प्रवेश बढ्दो छ । व्यवसायीहरुको प्रवेशले विवाद जति जन्माएको छ, अप्रत्यक्ष रुपमा गाडी, घर दिएर हुने संलग्नताले ईमान्दार भनिएका राजनीतिकर्मीहरु प्रति शंका र प्रश्न जन्माएको छ ।

व्यापारी, उद्योगीको चन्दा स्वार्थले प्रेरित हुने भएपछि अमेरिकामा ‘मेगा डोनर्स’ भनिने यस्ता व्यक्ति/कम्पनीसँग राम्रा राजनीतिज्ञहरुले चन्दा लिन इन्कार सुरु गरेका छन् । टेक्ससबाट सिनेटरको उम्मेदवार रहेका जेम्स टेलरिकोले आफू ठूला दातासँग चन्दा नमाग्ने घोषणा गरेर चुनावी प्रतिस्पर्धात्मक छन् ।

बालेन साहले खासै चर्चामा नभएका उद्योगीसँग गाडी लिएर चुनावमा हिँड्दा पुराना नेता र नयाँ भनिएका यिनीहरु बीच कुनै अन्तर देखिएन । नोट गरेर राख्नुस्-नेपालको भू-राजनीति, अर्थतन्त्र, जनताको सोचका कारण ठूलो अर्थात जादूगरी परिवर्तन न संभव छ, नत दीगो नै हुन्छ !

यसकारण धेरै ठूलो आशा र अपेक्षा यी नयाँ भनिएकाहरुसँग पनि नराखौँ । ड्यांग फरक भएपनि मुलाको जात एकै हुन् । त्यत्रो परिवर्तन ल्याएको, गरिबी अभावको महसुस गरेर लहर ल्याएका बाबुराम-प्रचण्ड स्खलित भएको देख्दादेख्दै बालेनले के के न गरिहाल्छन् भनेर आशा चाहि गर्दै नगरौँ ।

पहिले माओबादीले गाउँमा लैनो भैँसी राखेर दुध खानेलाई ‘शोषक सामन्ती’ भन्दै लखेट्थे । दुई दशकमा ती अधिकांश आफैँ नव-धनाढ्य र सामन्तवादी भएर फेरिए । समानुपातिकका नाममा ठूला उद्योगीलाई सांसद पद बेचे । यो अभियानमा एमाले, कांग्रेस पनि सँगै देखिए ।

बालेनका कुरा के गर्नु ? चार वर्षमा धेरथोर त देखाइसकेका छन् । सांसद भएभने, प्रधानमन्त्री भैहाले पनि तिनले आफ्नो लुकेको सामन्तवादी चरित्र, तानाशाही व्यवहार अझै प्रष्फूटित गर्नेछन् । यसो टाढाबाट हेर्दा जनताले देख्न चाहेको, भोग्न खोजेको सामन्तवादी र तानाशाही नै हो जस्तो देखिन्छ ।

(पत्रकार रामचन्द्र भट्टकाे फेसबुकबाट साभार)


प्रतिक्रिया दिनुहोस्