चीनसँग व्यापार सम्झौता गरे क्यानडामाथि १०० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको धम्की
काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि क्यानडाले चीनसँग व्यापार सम्झौता गरेमा क्यानेडियन सामानहरूमा १०० प्रतिशत भन्सार शुल्क (ट्यारिफ) लगाउने धम्की दिएका छन्।
आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्दै ट्रम्पले भनेका छन्, “यदि क्यानडाले चीनसँग सम्झौता गर्छ भने, अमेरिका भित्रिने सबै क्यानेडियन सामान र उत्पादनहरूमा तुरुन्तै १०० प्रतिशत भन्सार शुल्क लाग्नेछ।”
ट्रम्पले आफ्नो पोस्टमा कुन विशिष्ट सम्झौतालाई संकेत गरेका हुन् भन्ने स्पष्ट छैन। तर, गत हप्ता क्यानडाका प्रधानमन्त्री कार्नीले चीनसँग ‘रणनीतिक साझेदारी’को घोषणा गर्दै भन्सार शुल्क घटाउने सहमति गरेका छन्।
त्यस समयमा ट्रम्पले यस कदमलाई ‘राम्रो कुरा’ भनेका थिए। तर, कार्नीले डाभोसमा दिएको एक भाषणमा ‘अमेरिका नेतृत्वको विश्व व्यवस्था छिन्नभिन्न भएको’ बताएपछि पछिल्ला दिनहरूमा अमेरिका र क्यानडाबीच तनाव बढेको छ।
कार्नीले ठूला शक्तिहरूको आर्थिक दबाबको सामना गर्न अन्य मध्यम शक्तिहरूलाई एकजुट हुन आग्रह गरेका छन्, यद्यपि उनले ट्रम्पको नाम भने उल्लेख गरेका छैनन्।
ट्रम्पले भोलिपल्टै आफ्नो भाषणमार्फत यसको जवाफ दिँदै ‘क्यानडा संयुक्त राज्य अमेरिकाका कारण जीवित छ’ भन्ने टिप्पणी गरेका छन्। साथै, अमेरिकी राष्ट्रपतिले आफ्नो नयाँ ‘शान्ति बोर्ड’ मा सामेल हुन क्यानडालाई दिएको निमन्त्रणा समेत फिर्ता लिएका छन्।
शनिबार ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै यदि कार्नीले क्यानडालाई चीनका सामान अमेरिका पठाउने ‘ड्रप अफ पोर्ट’ बनाउन खोजेको भए त्यो उनीहरूको ठुलो गल्ती हुने चेतावनी दिएका छन्।
क्यानडाका अमेरिका-व्यापार मन्त्री डोमिनिक लेब्ल्याङ्कले एक विज्ञप्ति जारी गर्दै चीनसँग कुनै मुक्त व्यापार सम्झौताको प्रयास नभएको स्पष्ट पारेका छन्। उनले केही महत्त्वपूर्ण भन्सार मुद्दाहरूमा मात्र समाधान खोजिएको प्रस्ट पारेका छन्।
ट्रम्पले पटक-पटक दिने भन्सारको धम्कीका कारण सिर्जित अनिश्चिततापछि क्यानडाले आफ्नो सबैभन्दा ठुलो व्यापारिक साझेदार अमेरिका बाहेक अन्य देशहरूसँग पनि व्यापार विविधीकरण गर्ने प्रयास थालेको छ।
कार्नी र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच गत हप्ता भएको सहमति अनुसार, चीनले क्यानेडियन क्यानोला तेलमा लाग्दै आएको ८५ प्रतिशत भन्सारलाई आगामी मार्चसम्म १५ प्रतिशतमा झार्नेछ। बदलामा क्यानडाले चिनियाँ विद्युतीय सवारी साधनमा लाग्दै आएको १०० प्रतिशत भन्सारलाई घटाएर ६.१ प्रतिशत कायम गर्ने सहमति गरेको छ।
प्रधानमन्त्री कार्नीले चीनसँग भएको यो प्रगतिले क्यानडालाई “नयाँ विश्व व्यवस्था” का लागि तयार पारेको अभिव्यक्ति दिएका छन्। वर्षाैँदेखिको तनावपूर्ण सम्बन्ध र एकअर्काका सामानमा लगाइएको भन्सार शुल्कपछि यस सम्झौतालाई ठुलो उपलब्धिका रूपमा हेरिएको छ ।













