हेटौंडाको साबुन उद्योगमा आगलागी
काठमाडौँ । हेटौंडा औद्योगिक क्षेत्रभित्रको एउटा साबुन उद्योगमा आगलागी भएको छ । महाशक्ति साबुन उद्योगको भण्डारगृह (स्टोर रुम)मा आगलागी भएको हो ।
सत्पादित साबुन र त्यसउलाई प्याकेजिङ गर्ने कार्टुनहरु राखिएको उक्त स्टोररुममा आगलागी भएर धेरै सामान जलेको बताइएको छ । जस्तापाताबाट बनेको स्टोर रुममा बिजुलीको तार सर्ट भई आगलागी भएको स्थानीय प्रहरीले बताएको छ ।
उक्त आगलागीबाट के कति क्षति भयो भन्ने विवरण खुल्न बाँकी छ । तर यस घटनामा अहिलेसम्म कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
खासगरी हेटौंडाको पशुपतिनगर प्रहरी र सशस्त्र प्रहरी बल नेपालको १४ नम्बर गण (हेटौंँडा)को संयुक्त टोली र हेटौँडा उपमहानगरपालिकाको २ वटा दमकल तथा स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ ।













