चार्टर उडानलाई नक्कली उद्धार देखाएर करोडौँ बीमा ठगी
ट्रेकिङ कम्पनी, हेलिकप्टर, अस्पताल र गाइडको मिलेमतोमा नक्कली उद्धार
काठमाडौं । चार्टर उडानलाई उद्धारको रूपमा देखाएर बीमाको रकम ठगी गर्ने ठूलो जालो नेपालमै संगठित रूपमा सञ्चालन हुँदै आएको खुलासा भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धानमा चार्टर तथा नियमित उडानलाई नक्कली उद्धार देखाएर विदेशी बीमा कम्पनीबाट करोडौँ रुपैयाँ बराबरको रकम हत्याइएको प्रमाण फेला परेको हो।
केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार लाजिम्पाटस्थित कार्यालयमा पत्रकार सम्मेलन गर्दै यसबारे सार्वजनिक जानकारी गराएको हो। सो अवसरमा ब्युरोका प्रमुख तथा अतिरिक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीले चार्टर उडानलाई समेत उद्धार देखाएर बीमाको रकम लिने गरिएको पुष्टि भएको बताए। उनका अनुसार यो वास्तविक उद्धार नभई पूर्ण रूपमा नक्कली उद्धार हो।
अनुसन्धानमा नियमित उडानलाई समेत उद्धार देखाएर रकम दाबी गरिएको, उद्धारको समय तालिका र यात्रु विवरण नक्कली बनाइएको तथ्य खुलेको छ। एउटै चार्टर उडानमार्फत आएका धेरै पर्यटकलाई फरक–फरक समय र फरक–फरक उद्धार देखाउँदै एउटै उडानमा ‘मल्टिपल बिलिङ’ गरिएको प्रमाणसमेत भेटिएको ब्युरोका अधिकारीहरू बताउँछन्।
पदयात्रा सकिएपछि सोही मार्ग हुँदै फर्कने पर्यटकलाई सहजै सहमत गराई चार्टर उडानमार्फत काठमाडौं ल्याइने र त्यसलाई उद्धारका रूपमा देखाइने गरिएको अनुसन्धानबाट खुलेको छ। पछिल्लो पटक २०८१ पुस १ गते नक्कली उद्धारसम्बन्धी उजुरी परेको थियो भने यसअघि २०८२ असोज १२ गते पनि यस्तै उजुरी परेको थियो। यही पुस महिनामा गृह मन्त्रालयले समेत नक्कली उद्धारबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोलाई पत्राचार गरेको थियो।
केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार विदेशी पर्यटकलाई लक्षित गरी केही ट्रेकिङ तथा ट्राभल कम्पनी, हेलिकप्टर उद्धार कम्पनी, अस्पताल र पर्यटक गाइडको मिलेमतोमा नक्कली उद्धार हुँदै आएको छ। ब्युरोले पछिल्ला तीन वर्षमा भएका नक्कली उद्धार घटनामा संलग्न व्यक्तिहरूमाथि विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।
छ जना पक्राउ, तीन कम्पनी केन्द्रमा
पछिल्लो साढे दुई महिनादेखि छुट्टै कार्यदल गठन गरी अनुसन्धान गर्दै आएको ब्युरोले नक्कली उद्धारमार्फत बीमाको रकम हत्याएको आरोपमा ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा माउन्टेन रेस्क्यु सर्भिस प्रालिका सञ्चालक जयराम रिमाल र म्यानेजर विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका सञ्चालक रविन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया, एभरेस्ट एक्सपेरियन्स एन्ड असिस्टेन्स प्रालिका सञ्चालक मुक्ति पाण्डे र म्यानेजर सुभाष केसी छन्।
पक्राउ परेका व्यक्ति तीन कम्पनीसँग आबद्ध रहेको र ती कम्पनीबाट मात्र ३१७ जना पर्यटकको नक्कली उद्धार गरिएको अनुसन्धानमा देखिएको छ।
माउन्टेन रेस्क्यु कम्पनीले सन् २०२२ देखि २०२५ सम्म १,२४८ जनाको उद्धार गरेको देखिएको छ। तीमध्ये १७१ जनाको उद्धार नक्कली रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ती १७१ जनाको नक्कली उद्धारमार्फत बीमा वापत १ करोड ३ लाख १० हजार २७६ अमेरिकी डलर लिएको देखिएको छ।
नेपाल चार्टरले ४१७ जनाको उद्धार गरेकोमध्ये ७५ जनाको उद्धार नक्कली रहेको र त्यसवापत ८२ लाख ३४ हजार ८२ अमेरिकी डलर लिएको पाइएको छ।
एभरेस्ट कम्पनीले ६०१ जनाको उद्धार गरेकोमध्ये ७१ जनाको उद्धार नक्कली रहेको र त्यसवापत ११ लाख ५३ हजार ९१९ अमेरिकी डलर प्राप्त गरेको केन्द्रीय अनुसन्धान ब्युरोको भनाइ छ। अहिलेसम्म यी तीन कम्पनीले नक्कली उद्धारमार्फत १ करोड ९६ लाख ९० हजार अमेरिकी डलर बराबरको बीमा रकम हत्याएको दाबी गरिएको छ।
बीमा कम्पनीले प्रिमियम रोक्न थाले
नक्कली उद्धारका घटना बढ्दै गएपछि विदेशी बीमा कम्पनीहरू घाटामा पर्न थालेका छन्। यसकै कारण हाल तीन वटा बीमा कम्पनीले पर्यटक बीमाको प्रिमियम नै रोकिसकेको केन्द्रीय अनुसन्धान ब्युरोका अधिकारीहरूले बताएका छन्। अत्यधिक उद्धार देखाएर रकम दाबी गरिएका केही बीमा दाबी भने कम्पनीहरूले अस्वीकारसमेत गरेका छन्।
संगठित अपराधदेखि राज्यविरुद्धको कसुरसम्म
पक्राउ परेकाविरुद्ध संगठित अपराध, ठगी, लिखत किर्ते, आपराधिक लाभ, राज्यविरुद्धको कसुर तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। पर्यटकलाई लेक लाग्ने डर देखाई नक्कली उद्धार गराएर बीमा दाबी गर्दै नेपालको अन्तर्राष्ट्रिय छवि, प्रतिष्ठा र स्वाभिमानमा आँच पुर्याइएको निष्कर्ष केन्द्रीय अनुसन्धान ब्युरोको छ।
नक्कली उद्धारका कारण वास्तविक उद्धारको प्रतीक्षामा रहेका पर्यटकको ज्यानसमेत जोखिममा पर्न सक्ने भन्दै ब्युरोले यसलाई गम्भीर संगठित अपराधको रूपमा हेरेको जनाएको छ।
















