भारतमा आज ७७ औँ गणतन्त्र दिवस, युरोपेली शीर्ष नेतालाई किन दिइँदै छ प्रमुख अतिथिको मञ्च ?
काठमाडौं । भारतले आफ्नो ७७ औँ गणतन्त्र दिवस मनाउँदै छ। उपनिवेश तोडेर आफ्नै संविधान लागु गरेको र औपचारिक रूपमा गणतन्त्र बनेको दिन (जनवरी २६) भारतले हरेक साल यो दिवस मनाउँदै आएको छ ।
पछिल्लो समय व्यापक स्वरुप र तीव्र गतिमा फेरिँदै गएको वैश्विक भूराजनीतिक सन्तुलनका बीच यो वर्ष भारतको गणतन्त्र दिवस केही भिन्न हुने देखिएको छ।
हजारौँ मानिसहरू उपस्थित हुने दिल्लीको प्रसिद्ध चौडा सडकमा हरेक वर्षजस्तै यो पाली पनि सैन्य ट्याङ्कहरू गुड्नेछन् र लडाकु विमानहरू त्यहाँको आकाशमा देखिनेछन्।
परेड आफैँमा देखाउने कुरा मात्रै हो । तर त्यो समारोहमा सबैभन्दा विशिष्ट सिटमा को हुनेछन् भन्ने भन्ने विषयमा धेरैको ध्यान हुन्छ। यो वर्ष युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन देर लायन र युरोपेली परिषद्का अध्यक्ष एन्टोनिओ लुइस सान्तोस डी कोस्टा उक्त समारोहका विशिष्ट पाहुना हुनेछन्।
भारतले देशको सबैभन्दा प्रतिष्ठित समारोहमा युरोपेली सङ्घलाई केन्द्रमा राख्दै उनीहरूलाई मुख्य अतिथिको रूपमा बोलाएको छ।
यस दिन भारतले आफ्नो राजधानीको मुटुलाई मञ्चमा परिणत गर्छ। हजारौँ सैनिकहरूले भीडको हौसलामाझ परेड गर्छन्, बख्तरबन्द गाडीहरू यसअघि राजपथ वा किङ्स एभिन्यू भनिने कर्तव्य पथमा गुड्छन् र दिल्लीमा रङ्गिन झाँकीहरू दर्शक अगाडी हुँदै अघि बढ्छन्। अनि दशौँ लाख भारतीयहरूले देशभरिबाट यो गतिविधि स्क्रिनमा हेर्छन्।
खास अतिथि
परेडको अध्यक्षता भारतीय राष्ट्रपतिले गर्छन्, उनको कुर्सीको सबैभन्दा नजिक सबैभन्दा वरिष्ठ सरकारी अधिकारीहरू भन्दा पनि छेवैमा प्रमुख अतिथि राखिन्छन्।
भारतीय राष्ट्रपतिको छेउमा को बस्छ भन्ने कुरा मर्यादाक्रम भन्दा पनि महत्त्वपूर्ण चासोको रूपमा लामो समयदेखि हेर्ने गरिएको छ। विज्ञहरूका अनुसार दशकौँदेखि प्रमुख अतिथिको छनौटलाई भारतको विदेश नीतिका प्राथमिकताहरू र दिल्लीले कुनै विशेष क्षणमा उजागर गर्न चाहेको सम्बन्धको सूचकका रूपमा पनि नजिकबाट हेर्ने गरिएको छ।
सन् १९५० मा भारतको पहिलो गणतन्त्र दिवसको परेडमा तत्कालीन इन्डोनेसियाका राष्ट्रपति सुकर्णोले भाग लिएसँगै यो अभ्यास सुरु भएको थियो। दोस्रो साल अर्थात् सन् १९५१ मा राजा त्रिभुवन वीरविक्रम शाह प्रमुख अतिथि बनेर गएका थिए । त्यसपछि सन् १९९९ मा अर्का राजा वीरेन्द्र वीरविक्रम शाह भारतको गणतन्त्र दिवसको प्रमुख अतिथि बनेर गए ।
गणतन्त्र बनेका प्रारम्भिक वर्षहरूमा भारतले हालै स्वतन्त्रता हासिल गरेका देशहरूसँगको सम्बन्धलाई प्राथमिकता दिएको थियो। त्यो कुरा प्रमुख अतिथिहरूको छनौटमा प्रतिबिम्बित भएको थियो।
त्यसयता गणतन्त्र दिवसको परेडले विश्वभरका नेताहरूलाई मुख्य अतिथिको रूपमा आमन्त्रण गरिसकेको छ। सँगसँगै यसले भारतको विश्वव्यापी सम्बन्ध र रणनीतिक प्राथमिकताहरूमा आएको परिवर्तनलाई पनि प्रतिबिम्बित गर्दै आएको छ। यसको प्रमुख अतिथि बनेर नेपाल, भुटान र श्रीलङ्काजस्ता छिमेकी देशका नेतादेखि अमेरिका र यूकेजस्ता प्रमुख शक्ति राष्ट्रका राष्ट्र प्रमुख र सरकार प्रमुखहरू पनि सहभागी भएका छन्।
बेलायतले पाँच पटक प्रमुख अतिथि हुने मौका पाएको छ। त्यहाँकी महारानी एलिजावेथ द्वितीय र राजकुमार फिलिपसहित प्रमुख अतिथि बन्नुले दुई देशबीचको लामो र जटिल इतिहासलाई दर्साउँछ। रुस (पहिलेको सोभियत सङ्घ) र फ्रान्सका नेताहरूलाई पनि सन् १९५० यता झन्डै पाँच पटक आमन्त्रित गरिएको छ। यसले पनि यी दुई देशसँग भारतको लामो समयदेखिको रणनीतिक सम्बन्धलाई प्रतिबिम्बित गर्दछ।
कसरी तय हुन्छन् प्रमुख अतिथि ?
विगतमा यति फरकफरक पृष्ठभूमिका नेताहरूलाई बोलाएको भारतले कुनै निश्चित वर्ष कसलाई प्रमुख अतिथि बनाउने भनेर कसरी निर्णय लिन्छ त ?
प्रमुख अतिथिको छनौट प्रक्रिया सार्वजनिक दृष्टिकोणभन्दा निकै भिन्न छ।
पूर्व कूटनीतिज्ञहरू र सञ्चार माध्यमहरूमा आएका विवरण अनुसार यो सामान्यतया विदेश मन्त्रालयबाट सुरु हुन्छ। जहाँ सम्भावित आमन्त्रितहरूको सूची तयार गरिन्छ। अन्तिम निर्णय प्रधानमन्त्रीको कार्यालयले लिन्छ, त्यसपछि छानिएका देशहरूसँग आधिकारिक सञ्चार गरिन्छ र यो प्रक्रियामा महिनौं समय लाग्न पनि सक्छ ।
प्रमुख अतिथि छान्दा भारतले मूलत: आफ्नो रणनीतिक उद्देश्य, क्षेत्रीय सन्तुलन र कुनै पनि देशलाई यसअघि आमन्त्रण गरिएको छ कि छैन भन्ने विषयलाई ध्यान दिन्छ। आफ्ना महत्त्वपूर्ण साझेदारहरू, छिमेकीहरू र प्रमुख शक्तिहरूबीचको सन्तुलन मिलाउने प्रयास भारतले गर्दै आएको छ । यसको अर्थ, यो साल युरोपेली संघ (ईयू) प्रतिनिधिमण्डललाई डाकिएको छ भने भारत पक्कै पनि अहिले ईयूसँग सम्बन्ध मजबूत बनाउने कोसिसमा छ भनेर भन्न सकिन्छ ।
अतिथिले देखाउने विदेश नीति
यो भ्रमणका दौरान ईयू र भारतबीच एक व्यापार सम्झौताको घोषणा हुने सम्भावना छ। जसले भारत र युरोपेली ब्लक अहिलेको भूराजनीतिक परिस्थितिमा एउटै कित्तामा रहेको सङ्केत गर्छ ।
भारतले व्यापार सम्झौताका लागि अमेरिकासँग वार्ता जारी राखेका बेला यो घटनाक्रम अघि बढेको हो। अमेरिकाले करिब एक वर्षदेखि भारतीय सामानमा एशियामै सबैभन्दा बढी ५० प्रतिशत कर लगाएपछि जारी वार्ताबीच उनीहरूको सम्बन्धमा तनाव बढिरहेको छ। भारतले रुसी तेल खरिद गरेकोमा समेत अमेरिकाले जरिवाना सहित कर लगाएको बताएको छ।
यसले परेडको मुख्य अतिथिको छनौटलाई पनि प्रभावित पारेको हुनसक्ने जानकारहरु बताउँछन् । यो एउटा संकेत पनि हो कि, अब भारत संसारको कुन भूगोलमा ध्यान केन्द्रित गर्न चाहन्छ वा त्यहाँ कुनै कोसेढुङ्गा स्थापित गर्न चाहन्छ ?
‘ग्लोबल साउथ’ भनिने संसारका कमजोर आर्थिक हालत भएका मुलुकहरुको नेतृत्व गर्न तम्सिएको भारत आफ्नो रणनीतिक साझेदारी भने युरोपसँग बढाउन तम्सिएको छ ।
अलि पछाडी फर्केर हेर्ने हो भने भारतले यो दिन र आजका प्रमुख अतिथिलाई कसरी विदेश नीतिको हतियारका रुपमा उपयोग गर्छ भन्ने उदाहरण सन् २०१८ मा पनि देखिएको थियो । त्यस बेला भारतले दक्षिण पूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसीयान)का नेताहरूलाई प्रमुख अतिथिका रूपमा आमन्त्रित गरेको थियो ।
कुनै एक देश नभई सिंगो क्षेत्रका नेताहरूलाई सामूहिक रूपमा गणतन्त्र दिवसमा आमन्त्रित गरिएको त्यो पहिलो घटना थियो। त्यो कित्तासँग भारतको कूटनीतिक संलग्नताको २५ वर्ष पूरा भएको अवसर पनि थियो।
सन् १९६५ मा युद्धमा होमिनुभन्दा अघि त पाकिस्तानी नेताहरू पनि दुई पटक प्रमुख अतिथिका रूपमा भारतीय गणतन्त्र दिवसको उत्सव हेर्न उपस्थित भएका थिए। त्यसपछि इस्लामवादलाई आमन्त्रण गरिएको छैन ।
भारतको परेडमा चीन एक पटक मात्रै आएको छ। सन् १९५८ मा दुई देशबीच विवादित सीमालाई लिएर युद्ध सुरु हुनुभन्दा चार वर्षअघि मार्शल ये जियेनिङ आएका थिए। पछिल्लो समय भारतको गणतन्त्र दिवसको महत्त्व कूटनीति र पाहुनाको सूचीभन्दा व्यापक छ।
गणतन्त्र दिवसको भिन्न परेड
भारतको परेड धेरै कारणहरूले विश्वका अन्य स्थानमा हुने यस्तै सैन्य प्रदर्शनहरू भन्दा फरक रहेको विश्लेषकहरू बताउँछन्। भारतको परेडमा हरेक वर्ष एक जना अतिथि आउनु पनि त्यसमध्येको एक विशेषता हो।
अधिकांश देशहरूमा यस्ता परेडहरूले सैन्य विजयको सम्झनामा आयोजना गरिन्छन्। रुसको भिक्ट्री डे दोस्रो विश्वयुद्धमा जर्मनीको पराजयको प्रतीक हो। फ्रान्सको बास्टिल डे फ्रान्सेली क्रान्तिको सुरुआत र राजतन्त्रको पतनको उत्सव हो । त्यस्तै चीनको सैन्य परेड दोस्रो विश्वयुद्धमा जापानमाथि उनीहरूको विजयको प्रतीक हो।
तर भारतको उत्सव चाहिँ अरूभन्दा फरक, संविधानमा केन्द्रित छ। अरू धेरै देशहरूका लागि यस्ता उत्सवहरू युद्धमा विजयसँग जोडिएका छन्। तर भारतले संविधान लागु भएको अवसरमा मनाउँछ ।
धेरै पश्चिमा देशका राजधानीहरूमा हुने सैन्य परेडभन्दा भिन्न, भारतको गणतन्त्र दिवसमा सांस्कृतिक प्रस्तुति र क्षेत्रीय झाँकीहरू सँगै सैन्य क्षमताको प्रदर्शन गरेर शक्ति र विविधता दुवैको मिश्रण प्रस्तुत गर्दै आएको छ ।
(बीबीसी नेपालीबाट)













