चुनाव प्रचारमा राष्ट्रिय झण्डाको दुरुपयोग रोक्न गृहको एक्सन, के छन् प्रयोगका नयाँ मापदण्ड? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

चुनाव प्रचारमा राष्ट्रिय झण्डाको दुरुपयोग रोक्न गृहको एक्सन, के छन् प्रयोगका नयाँ मापदण्ड?



काठमाडाैं । काठमाडौं । सरकारले राष्ट्रिय झण्डाको जथाभावी प्रयोग भइरहेको भन्दै यसको प्रयोगमा कडाइ गरेको छ। गृह मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिता, २०७९ को प्रावधान अनुसार जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्‍याली गर्दा राष्ट्रिय झण्डाको जथाभावी प्रयोग गर्न नपाउने स्पष्ट पारेको हो।

मन्त्रालयका अनुसार निर्वाचन प्रचारप्रसारका क्रममा दल वा उम्मेदवारले जुनसुकै प्रकारको र्‍याली वा कार्यक्रम गर्दा बढीमा १० वटा मात्र राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने व्यवस्था छ। यो सीमाभन्दा बढी झण्डा प्रयोग गरेमा वा गराइएमा त्यसलाई निर्वाचन आचारसंहिता र प्रचलित कानुनको उल्लंघन मानिने गृहले चेतावनी दिएको छ। यसको नियमित अनुगमन गर्न देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन समेत दिइएको छ।

राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९ को पालनामा जोड दिँदै मन्त्रालयले झण्डाको अपमान हुने गरी उल्टो पारेर राख्न, च्यात्न, जलाउन वा सामान पोको पार्न निषेध गरेको छ। व्यावसायिक विज्ञापनका लागि झण्डाको दुरुपयोग गर्न नपाइने र शरीरमा झण्डाको प्रतीक प्रयोग गर्दा कम्मरभन्दा मुनिको भागमा लगाउन नहुने विज्ञप्तिमा उल्लेख छ। लुगामा झण्डाको चित्र राख्दा समेत यसको मर्यादा कायम राख्नुपर्ने मन्त्रालयको भनाइ छ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १५१ बमोजिम राष्ट्रिय झण्डाको अपमान गर्ने वा सार्वजनिक नैतिकता र शिष्टाचार विपरीत प्रयोग गर्नेलाई कानुनी सजायको व्यवस्था रहेको छ। राष्ट्रको गौरव र स्वाभिमानको प्रतीक भएकाले यसको उच्च गरिमालाई ध्यानमा राखी कानुन बमोजिम मात्र प्रयोग गर्न गृह मन्त्रालयले सबैमा हार्दिक अनुरोध गरेको छ।


प्रतिक्रिया दिनुहोस्