एभरेष्ट बैंकको नाफा २ अर्ब ११ करोड नाघ्यो, वितरणयोग्य मुनाफा कति ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्ममा एभरेष्ट बैंकको नाफा अघिल्लो वर्षको तुलनामा २.०४ प्रतिशतले बढेको छ।
बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकले २ अर्ब ११ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को यही अवधिसम्म बैंकले २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
साउनदेखि पुस मसान्तसम्म बैंकको सञ्चालन मुनाफा २.०६ प्रतिशतले बढेर ३ अर्ब १७ करोड १६ लाख रुपैयाँ कायम भएको छ। बैंकको इम्पेरमेन्ट चार्ज अघिल्लो वर्षको ३४ करोड ९५ लाख रुपैयाँबाट बढेर ५६ करोड २७ लाख रुपैयाँ पुगेको छ।
यस्तै समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.९६ प्रतिशतले बढेर ४ अर्ब ५७ करोड २९ लाख रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिसन आम्दानी २०.३८ प्रतिशतले बढेर ९२ करोड ९ लाख रुपैयाँ पुगेको छ।
यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३४ करोड २८ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १८ रुपैयाँ १४ पैसाले बढेर ४८ रुपैयाँ ७२ पैसा पुगेको छ। बैंकको प्रतिशेयर आम्दानी ३० रुपैयाँ ८६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २१.३९ गुणा र प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ १५ पैसा रहेको छ।
यस्तै समिक्षा अवधिमा बैंकको बेस रेट घटेर ४.७५ प्रतिशतमा झरेको छ भने खराब कर्जा सामान्य बढेर ०.६८ प्रतिशत पुगेको छ।
चुक्ता पुँजी १३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ रहेको बैंकको शेयर प्रिमियममा २३ करोड ८४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३ अर्ब ३४ करोड २८ लाख रुपैयाँ र रिजर्भमा १४ अर्ब ९४ करोड ८३ लाख रुपैयाँ रहेको छ। यस्तै यस अवधिमा बैंकले ३ खर्ब ४ अर्ब ९५ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३६ अर्ब ४२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।













