नेपाल बैंकको नाफामा १८३ प्रतिशतको उछाल, प्रतिशेयर आम्दानी कति ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नेपाल बैंकको नाफामा १८३ प्रतिशतको उछाल, प्रतिशेयर आम्दानी कति ?



काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्ममा नेपाल बैंक लिमिटेडको खुद नाफा अघिल्लो वर्षको तुलनामा १८३.०४ प्रतिशतले बढेको छ।

बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा बैंकले १ अर्ब ३० करोड ४८ लाख ५२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकले ४६ करोड १० लाख १७ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ३९४.६४ प्रतिशतको ठूलो अन्तरले बढेर २ अर्ब ६ करोड १५ लाख ६ हजार रुपैयाँ पुगेको छ।

बैंकको इम्पेयरमेन्ट चार्ज अघिल्लो वर्षको २ अर्ब ५२ करोड ७४ लाख रुपैयाँबाट उल्लेख्य रूपमा घटेर ४७ करोड ९९ लाख २९ हजार रुपैयाँमा झरेकाले नाफामा सकारात्मक असर परेको हो। यद्यपि, बैंकको खुद ब्याज आम्दानी भने ३.९७ प्रतिशतले घटेर ४ अर्ब ४४ करोड २९ लाख १५ हजार रुपैयाँ कायम भएको छ।

त्यस्तै, खुद फि तथा कमिसन आम्दानी पनि १७.१६ प्रतिशतले घटेर ४४ करोड ८४ लाख ३५ हजार रुपैयाँमा सीमित भएको छ।

यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९१ करोड ४९ लाख २३ हजार रुपैयाँ ऋणात्मक (नोक्सानी) रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ४५ पैसा ऋणात्मक देखिएको छ।

बैंकको प्रतिशेयर आम्दानी भने ११ रुपैयाँ ४९ पैसाले वृद्धि भई १७ रुपैयाँ ७६ पैसा पुगेको छ। हाल बैंकको मूल्य आम्दानी अनुपात १३.५७ गुणा र प्रतिशेयर नेटवर्थ २६२ रुपैयाँ ४३ पैसा रहेको छ।

समिक्षा अवधिमा बैंकको बेस रेट ४.९६ प्रतिशत कायम भएको छ भने खराब कर्जा भने बढेर ५.३४ प्रतिशत पुगेको छ ।

बैंकको चुक्ता पूँजी १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ रहेको छ भने जगेडा कोष र बचत २३ अर्ब ८६ करोड ७४ लाख ३५ हजार रुपैयाँ रहेको छ। व्यवसाय विस्तारतर्फ बैंकले ३ खर्ब ६४ अर्ब ८७ करोड ६१ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब ३० करोड ३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।


प्रतिक्रिया दिनुहोस्