सिटिजन्स बैंकले कमायो ६ महिनामा ३५ करोड ८८ लाख खुद नाफा, ईपीएस कति ?
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा ४५.७८ प्रतिशत प्रतिशतले घटेको छ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकले ३५ करोड ८८ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकले ६६ करोड १८ लाख २८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.२८ प्रतिशतले बढेर ३ अर्ब १४ करोड ४५ लाख रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको यस्तो आम्दानी ३ अर्ब ७ करोड ४५ लाख रुपैयाँ थियो। त्यस्तै, बैंकको खुद फि तथा कमिसन आम्दानी पनि ३.२४ प्रतिशतले घटेर ६२ करोड ३८ लाख ३९ हजार रुपैयाँमा सीमित भएको छ।
बैंकको सञ्चालन मुनाफा पनि ४४.६८ प्रतिशत घटेर ५० करोड ४१ लाख ७१ रुपैयाँमा झरेकाे छ। इम्पेयरमेन्ट चार्जकाे लागि बैंकले यस अवधिमा १अर्ब ८३ करोड २७ लाख रुपैयाँ छुट्याएको छ।
वितरणयोग्य मुनाफाको अवस्था हेर्दा बैंक निकै दबाबमा देखिएको छ। यस अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १० करोड ४ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १४ रुपैयाँ १९ पैसा ऋणात्मक रहेको छ।
यस अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी ४ रुपैयाँ ३३ पैसा घटेर ४ रूपैयाँ ६३ पैसामा झरेकाे छ भने प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ७९ पैसा कायम भएको छ।
बैंकको चुक्ता पूँजी १५ अर्ब ५० करोड ७४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७ अर्ब ७२ करोड १७ लाख रुपैयाँ सञ्चित छ। यस अवधिमा बैंकले २ खर्ब २२ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६८ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
यस अवधिमा बैंकको खराब कर्जा बढेर ६.८६ प्रतिशत पुगेको छ भने बेस रेट ५.६२ प्रतिशत रहेको छ।













