हिमाली तथा पहाडी क्षेत्रमा हिमपातः सडक र हवाई सेवा प्रभावित, हिउँदे बाली लगाएका किसान भने उत्साहित - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

हिमाली तथा पहाडी क्षेत्रमा हिमपातः सडक र हवाई सेवा प्रभावित, हिउँदे बाली लगाएका किसान भने उत्साहित



काठमाडौँ । नेपालमा भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका उच्च पहाडी तथा हिमाली जिल्लाहरूमा भारी हिमपात र वर्षा भएको छ। मङ्गलबार रातिदेखि सुरु भएको हिमपातका कारण सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका विभिन्न जिल्लाको जनजीवन कष्टकर बनेको छ।

हिमपातले यातायात र हवाई सेवा ठप्प

हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालिकोटमा मङ्गलबार रातिदेखि नै बाक्लो हिमपात भइरहेको छ। सदरमुकाम सिमकोटसहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

हिमपातले हवाई सेवा अवरुद्ध हुनाका साथै लिमी, न्यालु, यारी र हिल्सा सडक बन्द भएका छन्।

यस्तै, बागलुङ र पूर्वी रुकुमको सिमाना ‘पातीहाल्ने’ क्षेत्रमा हिउँ जमेका कारण काठमाडौँबाट रुकुम, जाजरकोट र डोल्पाका लागि छुटेका सयौँ सवारीसाधन र यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। मुस्ताङको कागबेनी–कोरला सडक र अन्य ग्रामीण सडकहरू पनि पूर्ण रूपमा बन्द भएका छन्।

पर्यटकीय क्षेत्र र जनजीवनमा असर

म्याग्दीको प्रसिद्ध पर्यटकीय स्थल घोडेपानी र पुनहिल क्षेत्र हिउँले ढाकिएपछि पर्यटकीय चहलपहल ठप्प भएको छ। बैतडी, बागलुङ, मुस्ताङ, हुम्ला, मुगु, डोल्पा र बाजुरा लगायतका जिल्लामा हिमपातका कारण अत्यधिक चिसो बढेको छ। स्थानीयहरू घरभित्रै आगो तापेर बस्न बाध्य छन् भने चिसोका कारण पशुचौपायालाई गोठबाहिर निकाल्न समस्या भएको छ।

बाली सप्रिने आशामा किसान उत्साहित

यद्यपि, यो हिमपातले किसानहरूमा भने खुसीयाली ल्याएको छ। लामो समयको खडेरीपछि भएको हिमपात र वर्षाले गहुँ, जौ, उवा, फापर र स्याउलगायतका हिउँदे बाली सप्रिने आशा पलाएको कृषि प्राविधिकहरूले बताएका छन्। जमिनमा चिस्यान कायम हुने भएकाले यसलाई ‘आकाशे सिँचाइ’का रूपमा कृषकहरूले स्वागत गरेका छन्।

सतर्क रहन मौसम विभागको आग्रह

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली भागमा मध्यमदेखि भारी हिमपातको सम्भावना अझै कायमै छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा वर्षाको समेत सम्भावना रहेको छ। हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य, तथा यातायातमा प्रत्यक्ष प्रभाव पर्ने देखिएकाले महाशाखाले सबैलाई सतर्क रहन र आवश्यक पूर्वतयारी अपनाउन अनुरोध गरेको छ।


प्रतिक्रिया दिनुहोस्