पोखरा फाइनान्सको साधारण सभाबाट समृद्धिसँग मर्जर प्रस्ताव स्वीकृत, एकीकृत कारोबारको बाटो खुल्यो
काठमाडौँ । पोखरा फाइनान्स लिमिटेडको वार्षिक साधारणसभाले समृद्धि फाइनान्ससँगको मर्जर प्रक्रियालाई औपचारिक रूपमा अनुमोदन गरेको छ।
कास्कीको पोखरास्थित दरबारथोक बैंक्वेटमा सम्पन्न बैंकको २८ औँ र २९ औँ वार्षिक साधारणसभाले मर्जर सम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।
यस्तै साधारणसभाले पोखरा र समृद्धि फाइनान्सबीच १:१ को शेयर स्वाप रेसियो (शेयर मिलान अनुपात) मा मर्जर हुने विशेष प्रस्तावलाई अन्तिम स्वीकृति दिएको छ। मर्जरपछि कायम हुने नयाँ शेयर संरचना अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने अधिकार समेत सभाले सञ्चालक समितिलाई प्रत्यायोजन गरेको छ।
सभाले मर्जर प्रक्रियाका क्रममा गरिने सम्पूर्ण सम्झौता र कार्यहरूलाई समेत अनुमोदन गरेको छ। साधारणसभाले अनुमोदन गरेलगत्तै दुबै संस्थाले अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा आवेदन दिने तयारी गरेका छन् । राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएपछि दुबै संस्था गाभिएर ’पोखरा फाइनान्स लिमिटेड’ का नामबाट कारोबार थाल्ने छन् ।
यस्तै सभाले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू पारित गरेको छ। साथै, चालू आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक समेत निर्धारण गरिएको छ।














