जीवन बीमाको व्यवसायमा उछाल, पुसमा मात्रै ५०५ करोड थपियो प्रथम प्रिमियम - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

जीवन बीमाको व्यवसायमा उछाल, पुसमा मात्रै ५०५ करोड थपियो प्रथम प्रिमियम



काठमाडौँ । झण्डै चार वर्षदेखिको आर्थिक सुस्तता, समष्टिगत उपभोगमा देखिएको गिरावट र जेन जी आन्दोलनपछि झनै विग्रिएको भनिएको वित्तीय वातावरणका बाबजुद बीमा कम्पनीहरुले गज्जब राम्रो प्रदर्शन गरेका छन् ।

मूलत: जीवन बीमा कम्पनीहरुले गएको पुसमा मात्रै ५ अर्ब ५ करोड २० लाख ७५ हजार रुपैयाँ प्रथम प्रिमियम संकलन गरेको नियामक नेपाल बीमा प्राधिकरणले जनाएको छ । प्राधिकरणले बुधबार जारी गरेको तथ्यांक अनुसार उक्त ५०५ करोडमध्ये १४ वटा ठूला बीमा कम्पनीहरुले मात्रै ४ अर्ब ६६ करोड ९२ लाख ८६ हजार रुपैयाँ प्रिमियम संकलन गरेका छन् । तीन वटा लघुबीमा कम्पनीले मिलेर ११ करोड ४६ लाख ३९ हजार संकलन गरेका छन् भने वैदेशिक रोजगार म्यादी जीवन बीमा पुलमा २६ करोड ८१ लाख ५० हजार रुपैयाँ जम्मा भएको छ ।

अघिल्लो महिना अर्थात् मंसिरमा यी सबैले मिलेर ४ अर्ब ६० करोड ४५ लाख ८८ हजार रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका थिए । पुस मसान्तमा ब्याज तिर्ने चापका कारण मानिसहरुलाई नयाँ बीमा गर्न कठीन पर्ने अड्कल गरिन्छ । तर तथ्यांकले त्यस्तो देखाएको छैन । बरु मंसिरको तुलनामा पुुस महिनामा ठूला बीमा कम्पनीले मात्रै प्रथम बीमाशुल्क रकम १० प्रतिशत हाराहारी बढाएका छन् । यो भनेको उल्लेख्य व्यावसायिक विस्तार हो ।

नेपाल र नेशनल अगाडी

बीमा बजारमा नेपाल लाइफ सबैभन्दा अगाडी छ भने नेशनल लाइफ दोस्रो स्थानमा छ । बाँकी कम्पनीहरु त्यसपछिका लागि प्रतिस्पर्धामा छन् । पुस मसान्तसम्म आउँदा नेपाल लाइफले ५ अर्ब ९९ करोड १७ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । यससँगै उसको कुल बीमाशुल्कको कोष २१ अर्ब ३७ करोड ४१ लाख रुपैयाँभन्दा ज्यादाको भएको छ ।

दोस्रो स्थानको नेशनल लाइफले पनि पुसम्म ३ अर्ब १० करोड ९५ लाख प्रथम बीमाशुल्क संकलन गरेको तथ्यांकमा देखिन्छ । यससहित उक्त कम्पनीसँग कुल ९ अर्ब २७ करोडभन्दा माथिको बीमाशुल्क जम्मा भएको छ ।

कुल बीमा शुल्कका आधारमा अहिले तेस्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल पर्छ । त्यसपछि क्रमश: हिमालयन लाइफ, राष्ट्रिय जीवन बीमा कम्पनी, सूर्यज्योति लाइफ, एसियन लाइफ, सिटिजन लाइफ, सनिमा रिलायन्स, मेट लाइफ (अमेरिकन), आईएमई लाइफ, रिलायबल नेपाल लाइफ, प्रभू महालक्ष्मी लाइफ र सबैभन्दा सानो कम्नपीका रुपमा सन नेपाल लाइफ रहेका छन् ।

तर यो आर्थिक वर्षको आधा अवधिमा व्यवसाय विस्तार गर्ने रफ्तार हेर्दा चाहीँ सूर्यज्योति र सिटिजन लाइफले ठूलो फड्को मारेको देखिन्छ । ‘टप थ्री’लाई छाड्ने हो भने यिनीहरुले सर्वाधिक प्रथम बीमाशुल्क आर्जन गरेका छन् । कुल प्रिमियम बढी भए पनि सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी व्यवसाय विस्तारमा ‘अन्तिमबाट दोस्रो’ हुन पुगेको छ । सन नेपालको प्रदर्शन यति खराब हुँदैन थियो भने यो सरकारी कम्पनी नै सर्वाधिक ‘कमजोर’ दखिने थियो ।

आकार र अनुपात

हुन त, व्यापार व्यवसायका हिसाबहरु वल्टाई–पल्टाई पारेर केलाउँदा कहिले को अगाडी देखिन्छ, कहिले को । अब यदी कुल प्रिमियमको अनुपातमा वितेको ६ महिनामा आर्जन गरेको प्रथम बीमा शुल्कलाई हिसाब गर्ने हो भने रोमाञ्चक आँकडा देखिन्छ ।

यस आधारमा चाहीँ आईएमई लाइफले ठूलो फड्को मारेको देखिन्छ, जुन इन्डस्ट्रीमा १४ मध्ये ११ औं ठूलो संस्था हो । तर उसले हाल कायम रहेको कुल प्रिमियमको ४५ प्रतिशत हाराहारी रकम त केवल वितेको ६ महिनामा मात्रै संकलन गरेको देखिन्छ ।

यसको अर्थ, कम्पनीले ज्यादै आक्रामक भएर व्यवसाय फैलाएको छ भन्ने पनि हो । तर उसको व्यापारको आकारलाई हेर्ने हो भने चाहीँ गत आर्थिक वर्षसम्म यो कम्पनी ‘सुतेरै बसेको थियो कि क्या हो’ भन्ने पनि देखाउँछ । किनकी, ऊसँग अहिले भएको कुल २ अर्ब ४६ करोडभन्दा पनि कम प्रिमियममध्ये १ अर्ब १० करोडभन्दा बढी त चालु आर्थिक वर्षमै संकलन गरेको देखिन्छ ।

त्यसपछि रिलायबल नेपाल लाइफले ४१ प्रतिशत, सिटिजन लाइफले ४० प्रतिशत, प्रभू महालक्ष्मी र सानिमा रिलायन्सले ३६ प्रतिशत, नेशनल लाइफ र सन नेपाल लाइफले ३३ प्रतिशत, सूर्यज्योतिले ३२ प्रतिशत एवम् एसियन लाइफले ३० प्रतिशत बराबर प्रिमियम यसै आर्थिक वर्षमा संकलन गरेको देखिन्छ ।

त्यस्तै, मेट लाइफ र नेपाल लाइफले २८ प्रतिशत, एलआईसी नेपालले २० प्रतिशत, हिमालयन लाइफले १७ प्रतिशत र राष्ट्रिय जीवन बीमा कम्पनीले ११ प्रतिशत प्रथम प्रिमियम यसै आर्थिक वर्षको ६ महिनाभित्र संकलन गरेका छन् ।

विस्तृत तथ्यांक यहाँ उपलब्ध छ :


प्रतिक्रिया दिनुहोस्