सर्वाधिक नाफा कमाउने नबिल: ६ महिनामा पौने ५ अर्ब आर्जन, ब्याज आम्दानी ८ अर्ब माथि
काठमाडाैं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नबिल बैंक लिमिटेडकाे खुद नाफा बढेकाे छ ।बैंकले सार्वजनिक गरेकाे दाेस्राे त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंककाे खुद् नाफा ४६.७१ प्रतिशत बढेकाे छ ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले ४ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएकाे छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब २४ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यस्तै यस अवधिमा बैंकको खुद ब्याज आम्दानी२.४२ प्रतिशत बढेर ८ अर्ब ८ कराेड ७२ लाख ८८ हजार पुगेकाे छ ।
यसैगरी बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ५.५८ प्रतिशतले बढेर १० अर्ब ६३ करोड १७ लाख २९ हजार रुपैयाँ र सञ्चालन मुनाफा २६.९५ प्रतिशतले बढेर ६ अर्ब ५७ करोड २६ लाख ९८ हजार रुपैयाँ पुगेको छ। भने खुद फि तथा कमिसन आम्दानी ६.६१ प्रतिशतले बढेर १ अर्ब ६१ करोड १३ लाख २७ हजार रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब २७ करोड ३० लाख ३२ हजार रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी २२ रुपैयाँ ५० पैसा रहेको छ।
बैंकको इम्पेयरमेन्ट चार्जमा भारी गिरावट आएको छ। गत वर्ष १ अर्ब ३५ करोड १० लाख रुपैयाँ रहेको यस्तो चार्ज यो वर्ष ४ करोड ८८ लाख २६ हजार रुपैयाँ ऋणात्मक (रिभर्सल) भएको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि सुधार देखिएको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६ पैसाले बढेर ३५ रुपैयाँ ०४ पैसा पुगेको छ। यस्तै यस अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ६४ पैसा र मूल्य आम्दानी अनुपात १३.९१ गुणा रहेको छ।
३२ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३६ अर्ब ७० करोड १० लाख ८८ हजार रुपैयाँ सञ्चित छ। बैंकले दोस्रो त्रैमासको अन्त्यसम्ममा ५ खर्ब ६६ अर्ब ५ करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ३४ अर्ब ७३ करोड ८४ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।













