एनआईसी एशिया बैंकको नाफासँगै घट्यो ब्याज आम्दानी, वितरणयोग्य मुनाफा ७ अर्ब ३९ करोड ऋणात्मक
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एनआईसी एशिया बैंक लिमिटेडको खुद नाफामा गिरावट आएको छ।
बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा १३.५४ प्रतिशतले घटेको हो।
चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले १३ करोड ११ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ।गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १५ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
पुस मसान्तसम्मा बैंकको खुद ब्याज आम्दानी १५.८७ प्रतिशतले घटेर ४ अर्ब ३६ करोड ३८ लाख ८३ हजार रुपैयाँमा खुम्चिएको छ।
यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ११.८१ प्रतिशतले घटेर ५ अर्ब ३३ करोड ९१ लाख ५७ हजार रुपैयाँ र सञ्चालन मुनाफा ४२.१६ प्रतिशतले घटेर १९ करोड ७७ लाख ७७ हजार रुपैयाँमा सीमित भएको छ।
बैंकको खुद फि तथा कमिसन आम्दानी भने ११.०७ प्रतिशतले बढेर ७० करोड २१ लाख ३७ हजार रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ७ अर्ब ३९ करोड ९५ लाख ३६ हजार रुपैयाँ ऋणात्मक देखिएको छ।
यस्तै बैंकको इम्पेयरमेन्ट चार्ज २ अर्ब ४३ करोड ३० लाख ७१ हजार रुपैयाँ पुगेको छ भने खराब कर्जा ४.६१ प्रतिशतबाट बढेर ७.४७ प्रतिशत पुगेको छ।
नाफामा आएको गिरावटसँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २८ पैसाले घटेर १ रुपैयाँ ७६ पैसा कायम भएको छ। यस्तै, बैंकको प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ३३ पैसा र मूल्य आम्दानी अनुपात १८८.४४ गुणा रहेको छ।
१४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २२ अर्ब ६ करोड ८१ लाख ७६ हजार रुपैयाँ सञ्चित छ। बैंकले पुस मसान्तसम्म ३ खर्ब २७ अर्ब ५० करोड १४ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ९ अर्ब ३१ करोड १२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।













