ब्याज आम्दानी र सञ्चालन मुनाफा घट्दा स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफामा संकुचन, कस्ता छन् अन्य सूचक ?
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको नाफा घटेको छ। बिहीबार प्रकाशित भएको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले ६ महिनामा बैंकको खुद नाफा १६.२९ प्रतिशत घटेको देखाएको छ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले १ अर्ब ३७ करोड ३३ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६४ करोड ६ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
पुस मसान्तमा बैंकको खुद ब्याज आम्दानी पनि ९.१३ प्रतिशतले घटेर १ अर्ब ९७ करोड ४२ लाख १६ हजार रुपैयाँमा खुम्चिएको छ।
यस्तै बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा २.८५ प्रतिशतले घटेर ३ अर्ब १२ करोड ७० लाख ८२ हजार रुपैयाँ कायम भएको छ।
बैंकको सञ्चालन मुनाफा पनि १६.२१ प्रतिशतले घटेर १ अर्ब ९६ करोड ६४ लाख ३४ हजार रुपैयाँमा झरेको छ। यद्यपि, खुद फि तथा कमिसन आम्दानी भने ११.५४ प्रतिशतले बढेर ७७ करोड ५७ लाख २४ हजार रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ९१ करोड २५ लाख ४७ हजार रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी १८ रुपैयाँ १७ पैसा रहेको छ। बैंकको इम्पेयरमेन्ट चार्ज ४ करोड ६३ लाख ६८ हजार रुपैयाँ रहेको छ भने खराब कर्जा (NPL) १.७१ प्रतिशतबाट सामान्य बढेर १.८८ प्रतिशत पुगेको छ।
नाफामा आएको गिरावटसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि कमी आएको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ३२ पैसाले घटेर २७ रुपैयाँ ३५ पैसामा सीमित भएको छ। यस्तै यस अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ २११ रुपैयाँ र मूल्य आम्दानी अनुपात २३.१० गुणा रहेको छ।
१० अर्ब ४ करोड २३ लाख ६८ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ११ अर्ब १४ करोड ३९ लाख १ हजार रुपैयाँ सञ्चित छ। बैंकले पुस मसान्तसम्ममा १ खर्ब ३७ अर्ब ४२ करोड ७३ लाख ४८ हजार रुपैयाँ निक्षेप संकलन गरी ६८ अर्ब ५४ करोड २३ लाख २८ हजार रुपैयाँ कर्जा परिचालन गरेको छ।













