खुद ब्याज आम्दानी बढ्दा पनि घट्याे हिमालयन बैंककाे नाफा, वितरणयोग्य मुनाफा ९ अर्बले ऋणात्मक - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

खुद ब्याज आम्दानी बढ्दा पनि घट्याे हिमालयन बैंककाे नाफा, वितरणयोग्य मुनाफा ९ अर्बले ऋणात्मक



काठमाडाैं । हिमालयन बैंककाे नाफामा गिरावट आएकाे छ। बैंकले सार्वजनिक गरेकाे चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंककाे खुद नाफा १४.८८ प्रतिशत घटेकाे छ।

पहिलो ६ महिना (पुस मसान्त) सम्ममा बैंकले १ अर्ब २९ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी भने ३.६७ प्रतिशतले वृद्धि भई ४ अर्ब ७० करोड २३ लाख रुपैयाँ पुगेको छ।

यस्तै, खुद फि तथा कमिसन आम्दानीमा भने ८.९३ प्रतिशतको गिरावट आएको छ। गत वर्ष ४५ करोड ६९ लाख ७९ हजार रुपैयाँ रहेको यस्तो आम्दानी अहिले ४१ करोड ६१ लाख ९० हजार रुपैयाँमा झरेको छ।

बैंकको कुल सञ्चालन आम्दानी ५ अर्ब ७१ करोड २९ लाख ५१ हजार रुपैयाँ रहेको छ, जुन गत वर्षको ६ अर्ब ७ करोड ५५ लाख ९१ हजारको तुलनामा ५.९७ प्रतिशतले कम हो।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि ह्रास आएको छ। अघिल्लो वर्ष १४.०३ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी १८.३९ प्रतिशतले घटेर ११.४५ रुपैयाँ कायम भएको छ।

समिक्षा अवधिमा बैंकको खराब कर्जामा भने उल्लेख्य वृद्धि देखिएको छ। गत वर्ष ४.९८ प्रतिशत रहेको खराब कर्जा बढेर ७.९६ प्रतिशत पुगेको छ।

यस्तै, बैंकको सञ्चालन मुनाफा पनि १३.०६ प्रतिशतले घटेर १ अर्ब ८५ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ। बैंकको वितरणयोग्य मुनाफा भने ९ अर्ब ७ करोड ३० लाख रुपैयाँले ऋणात्मक रहेको छ।

चुक्ता पूँजी २२ अर्ब ५८ करोड १६ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २५ अर्ब ३० करोड ८७ लाख ५५ हजार रुपैयाँ सञ्चित छ।

बैंकले पुस मसान्तसम्ममा ग्राहकहरूबाट ३ खर्ब ३२ अर्ब १५ करोड ६१ लाख ६९ हजार निक्षेप संकलन गरेको छ भने २ खर्ब ३४ अर्ब २५ करोड ७७ लाख ९५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ।


प्रतिक्रिया दिनुहोस्