२० वाणिज्य बैंकहरुको ६ महिनाको नाफा: नबिल बैंक शीर्ष स्थानमा, कुमारीको छलाङ र लक्ष्मी सनराइज घाटामा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२÷८३ को दोस्रो त्रैमासिक अवधिमा नेपालका २० वटा वाणिज्य बैंकहरूको नाफामा ठूलो फेरबदल देखिएको छ ।
सार्वजनिक अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा नबिल बैंक ४ अर्ब ७५ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दै सबैभन्दा बढी कमाउने बैंक बनेको छ ।
प्रतिशतका आधारमा कुमारी बैंकले ८८६.५० प्रतिशतको ऐतिहासिक वृद्धि हासिल गर्दा लक्ष्मी सनराइज बैंक भने २७ करोड ३६ लाख रुपैयाँ घाटामा गएको छ । प्रमुख तथ्यांक र बजारको अवस्थाचालु आर्थिक वर्षको ६ महिना (पुस २०८२) सम्म आइपुग्दा अधिकांश बैंकहरूले आफ्नो नाफामा सुधार गरेका छन् ।
कुल २० वाणिज्य बैंकहरूमध्ये नबिल, ग्लोबल आइएमई र कुमारी बैंक नाफाको आधारमा ’टप ३’ मा पर्न सफल भएका छन् । नबिल बैंकले अघिल्लो वर्षको तुलनामा आफ्नो नाफा ४६.७१ प्रतिशतले बढाएको छ ।
ग्लोबल आइएमई बैंकले ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गर्दै दोस्रो स्थान सुरक्षित गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ६.५० प्रतिशतको वृद्धि हो ।
समीक्षा अवधिमा कुमारी बैंकले सबैलाई अचम्मित पार्दै आफ्नो नाफा २७ करोडबाट बढाएर २ अर्ब ७२ करोड पुर्याएको छ । जुन ८८६.५० प्रतिशतको वृद्धि हो । त्यस्तै, नेपाल बैंकले १८३.०४ प्रतिशत, सिद्धार्थ बैंकले १५०.२० प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले १३२.०४ प्रतिशतले नाफा बढाउन सफल भएका छन् ।
यसको विपरित, केही ठूला र स्थापित बैंकहरूको नाफामा भने गम्भीर संकुचन देखिएको छ । लक्ष्मी सनराइज बैंकको नाफामा १२३.५५ प्रतिशतको गिरावट आएसँगै यो बैंक २७ करोड ३६ लाख रुपैयाँ घाटामा पुगेको छ । कृषि विकास बैंकको नाफामा ९९.९३ प्रतिशतको भारी गिरावट आएको छ । जसले गर्दा सो बैंकको नाफा ७० लाख ७४ हजारमा खुम्चिएको छ । नेपाल एसबीआई बैंकको नाफा पनि ८८.५४ प्रतिशतले घटेको देखिन्छ ।
बैंकहरूमध्यम स्तरको नाफा आर्जन गर्ने बैंकहरूमा माछापुच्छ्रे बैंक (१ अर्ब १ करोड), सानिमा बैंक (१ अर्ब ३९ करोड), र हिमालयन बैंक (१ अर्ब २९ करोड) रहेका छन् ।













