नाफासँगै बढ्याे सानिमा बैंककाे ब्याज आम्दानी, वितरणयोग्य मुनाफा कति ?
काठमाडौं । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ३९ करोड १० लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो अवधिसम्म बैंकको नाफा १६.६५ प्रतिशतले बढेको हो।
अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म बैंकले १ अर्ब १९ करोड २३ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो।
बैंकको मुख्य आम्दानी मानिने खुद ब्याज आम्दानी २०.२४ प्रतिशतले बढेर ३ अर्ब ४२ करोड ८० लाख ८५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकको यस्तो आम्दानी २ अर्ब ८५ करोड ८४ लाख ३१ हजार रुपैयाँ रहेको थियो।
यस्तै, बैंकको खुद फि तथा कमिसन आम्दानी १६.७७ प्रतिशतले बढेर ६० करोड ५८ लाख ९७ हजार रुपैयाँ पुगेको छ, जुन गत वर्ष ५१ करोड ८८ लाख ६४ हजार रुपैयाँ थियो। बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ४ अर्ब २७ करोड ३३ लाख २२ हजार रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा १८.२३ प्रतिशतले बढेर १ अर्ब ९५ करोड ९७ लाख १७ हजार रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा बैंकको यस्तो मुनाफा १ अर्ब ६५ करोड ७१ लाख १७ हजार रुपैयाँ थियो।
यस्तै बैंकको इम्पेयरमेन्ट चार्ज (कर्जा नोक्सानी व्यवस्था) भने गत वर्षको तुलनामा घटेर ७६ करोड १९ लाख ५२ हजार रुपैयाँमा झरेको छ। यता बैंकको निष्क्रिय कर्जा भने ३.२२ प्रतिशतबाट बढेर ३.६३ प्रतिशत पुगेको छ।
पुस मसान्तसम्म बैंकको चुक्ता पूँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८ अर्ब २२ करोड १६ लाख रुपैयाँ सञ्चित छ। नाफामा भएको वृद्धिसँगै बैंकको प्रतिशेयर आम्दानी पनि १७.६१ रुपैयाँबाट बढेर २०.५४ रुपैयाँ कायम भएको छ। त्यस्तै, बैंकको प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ९२ पैसा रहेको छ। यस अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ६१ करोड २ लाख ५६ हजार रुपैयाँ रहेको छ।













